हुलाक सेवाको पुनःसंरचना आवश्यक : मन्त्री शर्मा

घोराही,२९ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई पुनःसंरचना गर्न आवश्यक रहेको बताउनुउनुभएको छ । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघ दाङ शाखाले संयुक्त रूपमा आइतवार घोराहीमा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवालाई पुनःसंरचना गर्दै समय सापेक्ष सूचना प्रविधि र संघीय संरचना अनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको बताउनुभएको हो ।

मन्त्री शर्माले घोराही–तुलसीपुर फोरलेन एक्जिम बैंकको लगानीमा निर्माण भैरहेकाले नेपाल सरकारले मात्रै चाहेर ठेक्का तोड्न सम्भव नभएको बताउनुभयो । ‘नेपाल सरकारले मात्रै चाहेर ठेक्का तोड्न सक्ने अबस्था छैन । सडक निर्माणको जिम्मा पाएको कम्पनीसँग ठेक्का तोड्नका लागि नेपाल सरकारले बजेट सुनिश्चित गर्नुपर्छ’,उहाँले भन्नुभयो,‘अहिले सडकमा सरकारले बजेट सुनिश्चिता गरेको छैन ।

सम्झौता तोडेर सडकलाई अलपत्र बनाउनुपर्छ सवै मिलेर सडकलाई पुरा गर्न लाग्नुपर्छ ।’ मन्त्री शर्माले ठेक्का तोड्नका लागि बजेट सुनिश्चिता गर्नका लागि पनि अर्थमन्त्रीसँग कुरा भैरहेको समेत बताउनुभएको थियो । मन्त्री शर्माले फोरलेन सडकसँगै जिल्लाको समग्र विकासका लागि आफुले नेतृत्वदायी भूमिका गरेर अघि बढ्ने भन्दै त्यसका लागि सवैको सहयोग आवश्यक रहेको समेत बताउनुभएको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष तथा सल्लाहकार सुदीप गौतम, नेपाल पत्रकार महासंघ दाङ पूर्व अध्यक्ष प्रताप रेग्मीलगायतले बोलेका थिए ।