व्यवसायीको गुनासो  लगानी अनुसारको प्रतिफल छैन

 समाचारदाता
तुलसीपुर, २२ माघ । ‘अन्य व्यवसायीमा १ सय लगानी गरे एक सय २० आम्दानी हुन्छ तर हाम्रो भने ३ प्रतिशत त्यो पनि उधारोमा व्यापार गर्नुपर्छ’, यहाँका पेट्रोलियम व्यवसायीले आफ्नो व्यवसायमा लगानीअनुसारको प्रतिफल नपाएको गुनासो गरेका छन् । राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोसिएशनको १२औँ वार्षिक साधारणसभामा सहभागी व्यवसायीले सो गुनासो गरेका हुन् ।

व्यवसायीको सञ्चित मुनाफा र व्यवसायीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्नेमा त्यस्तो नभएको उनीहरूको भनाइ छ । पेट्रोलियम पदार्थ विक्रेता व्यवसायीले सरकार र नेपाल आयल निगमले आफूहरूका मागलाई सधैँ बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । सहभागीले दिन प्रतिदिन व्यवसायीहरू धरासायी हुँदै गएको भन्दै लगानीअनुसार प्रतिफल उठ्न नसक्दा घाटामा व्यापार गर्नुपर्ने बाध्यता भएको उनीहरूको भनाइ थियो ।

‘अहिले नेपाल आयल निगमले दिन प्रतिदिन मूल्य वृद्धि गरेर १ सयमा पाउने डिजेल तथा पेट्रोल डबल भएको छ’, नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका लुम्बिनी प्रदेशका सचिव कृष्ण भुसालले भने, ‘अहिलेसम्म पुरानै दर रेटमा कमिशन पाइरहेका छौँ, हामीले थप लगानी गर्नुपरिरहेको छ तर लगानीअनुसारको प्रतिफल हामीले पाइरहेका छैनौँ ।’ व्यवसायीहरूले पहिले बैंकको व्याज ६÷७ प्रतिशत भएको र अहिले बढे पनि आफूहरूको लगानीअनुसार लागत भने नबढेको बनाए । ‘लगानी डबल लगाउनु पर्छ, नाफा भने उही हो, मजदुर पाल्नु प¥यो अनि कहाँबाट हुन्छ नाफा ?’, व्यवसायी भन्छन् ।

साधारणसभाका वक्ताले इन्धनको सहज आपूर्ति गरिनुपर्ने, कमिशन वृद्धि गर्नुपर्ने, धरौटीको व्याज दिनुपर्नेलगायत माग गरे । ‘व्यवसायीले मात्रै सधैँ कति नोक्सानी व्यहोर्ने ? यो कस्तो नियम हो ? त्यसैले तत्काल क्षतिपूर्ति बढाउन म निगम र सरकारसँग माग गर्दछु’, एक व्यवसायीले भने । कमिशन बढाउनु पर्ने व्यवसायीको माग छ । ‘अहिले व्यवसायीले तीन प्रतिशत कमिशन पाइरहेको छ तर लगानी डबल छ, कसरी व्यवसायीहरू सफल हुन्छन्’, व्यवसायीले गुनासो गरे । लाखौँ लगानी लाग्नुपर्ने र आफूहरूलाई सोअनुसार आम्दानी नहुने व्यवसायीको भनाइ छ ।

पछिल्लो समय बढ्दो व्याजले व्यवसायीहरू मारमा परेको र ‘आठ प्रतिशतमा लिएको ऋणको व्याज वृद्धि भएर १६ प्रतिशत पुगिसक्यो । नियन्त्रण गर्ने कसले हो ? यस्तै अवस्था रहे व्यवसायी पलायन हुन्छन्, व्यवसायीको गुनासो थियो । राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष ववि धितालको अध्यक्षता तथा गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जका प्रमुख कमल ओझाका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ओझाले पम्पहरू प्रविधिमैत्री भए पनि अन्य संयन्त्रहरू प्रविधिमैत्री हुन नसकेको सत्य भएको बातए ।

उनले पेट्रोलियम पदार्थ लिँदा–लिँदा प्रविधिको प्रयोग हुनुपर्नेमा एकोहोरो भएको स्वीकारे । ‘अहिले अधिकांश व्यवसयीहरूले प्रविधि र नियमको पालना गर्नुभएको छ, केही एक÷दुई जना व्यवसायीका कारण समस्या भएको छ’, ओझाले भने । उनले दाङमा नाप–तौल अफिस नभएको सबैले स्थापनाका लागि दबाब दिनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य मेघराज भुसालले व्यवसायीलाई कमिशन बढाउनुपर्ने तथा प्रविधिमैत्री हुनुपर्ने बताए । ‘व्यवसायी मात्र प्रविधिमैत्री हुनुपर्छ भन्ने अन्य सरोकार निकाय कहिले प्रविधिमैत्री हुने’, उनले भने । सहभागीले पेट्रोलियम पदार्थको गुणस्तर नाफ तौलका लागि मेशिन औजारको व्यवस्थापन सम्बन्धित निकायले गर्नुपर्ने समेत माग गरेका थिए ।

कार्यक्रममा अध्यक्ष  ववि धितालले व्यवसायीहरूको थुप्रै समस्याहरू भएको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने माग गरे । कार्यक्रमममा सल्लाहकार दामोदर घिमिरे, विश्व खनाललगायतले बोलेका थिए । राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोसिएशनका सदस्य टोपेन्द्रप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद भण्डारीले आर्थिक प्रतिवेदन र सचिव मदनकुमार शर्मा प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव मदनकुमार शर्माले गरेका थिए ।