शिवराज खनाल
दाङ,२१ माघ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसका अवसरमा शनिवार आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश प्रमुख शेरचनले प्रदेश संघिय सरकारको ईकाई नभएको बताउनु भएको हो । संविधानको पूर्ण कार्यान्वयन गर्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने अहिलेको प्रमुख जिम्मेवारी रहेको उहाँको भनाई थियो ।
संघिय लोकतान्त्रीक उन्नत व्यवस्था भएको चर्चा गर्दै उहाँले यो व्यवस्था विरुद्ध चलेका हावाहरु मित्थ्या सावित हुने बताउनुभयो । संविधानमा समावेश गरिएको तीन तहका सरकारका साझा अधिकारको सुचिलाई कार्यान्वयन गर्न साझा कार्यक्रम बनाउन तर्फ ध्यान दिन आग्रह गरिएको छ ।
लुम्बिनी प्रदेश सभाल छैठौं स्थापना दिवस विभिन्न कार्यक्रमगरी मनाइएको छ । नेपालको संविधान २०७२ को धारा १७६ को प्रावधान अनुसार ‘लुम्बिनी प्रदेश सभा’स्थापना भएको आज ५ वर्ष पुरा भएको छ । २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न संघ र प्रदेशको निर्वाचन पश्चात गठन भएको प्रदेश सभाको पहिलो बैठक आजकै दिन बसेको थियो ।२०७४ माघ ७ गते प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण पश्चात २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिनलाई प्रदेश सभाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।
कार्यक्रमलाई मुख्यमन्त्री लिला गिरी, प्रमुख प्रतिपक्ष दलका नेता डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खाँण केसीले सम्वोधन गर्दै अवको पाँच बर्ष जनताको हित हुनेगरी कानुन निर्माण र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो अवसरमा पहिलो प्रदेश सभा सञ्चालन र व्यवस्थापन गर्न सहयोग गर्ने बुटवल उद्योग बाणिज्य संघ, नेपाल मानव सेवा आश्रम बुटवल, बुटवल महिला जेसिज र पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियन बुटवललाई कृतज्ञता सहित सम्मान गरिएको थियो । प्रदेश स्थापना दिवसमा आयोजीत मैत्रीपुर्ण भलिबल प्रतियोगितामा बिजेता र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।