उज्यालो अभियानमा सत्तेन तुलसीपुर : कतै औँसी, कतै पूर्णिमा …

  •   
  •  

बालाराम खड्का
तुलसीपुर,१९ माघ । सन्ध्याकालमा तपाईँ तुलसीपुर बजारमा यात्रा गर्दै हुनुहुन्छ भने यहाँको बजारमा एकनासको उज्यालो हुने छैन । तपाईँलाई कतै औँसी त कतै पूर्णिमाको आभाष हुनेछ । उज्यालो अभियानमा तुलसीपुर उपमहानगरपालिका नसत्तिँदा यस्तो अवस्था आएको हो ।

न यहाँका सोलारबत्तीहरू अपडेट छन्, न त विद्युत प्राधिकरणको लाइनबाट बालिएका सडकबत्ती नै । अन्य बजारहरू रातमा झिलिमिली हुँदा तुलसीपुरको स्मार्टसिटी भने अन्धकार हुन्छ । आधा सहर पूर्णिमा आधा सहर औँसीजस्तै देखिने तुलसीपुर बजारका सबै स्थानमा सडकबत्ती नहुँदा साँझ परेपछि बजार सुनसान हुनेगरेको छ । लाइन भएको समयमा तुलसीपुरको वीरेन्द्रचोकमा जडान गरिएको एलसिडी चलेपछि वीरेन्द्रचोक भने झिलिमिली देखिन्छ तर अन्य मुख्य सडक र सहायक सडकहरूमा भने सडकबत्ती नहुँदा रातमा अन्धकार हुने गरेको छ ।

तुलसीपुर बजारका मुख्य ‘क’ लाइनदेखि अन्य क्षेत्रमा रहेका सडकबत्तीहरू बिग्रिएको स्थानीय बताउँछन् । त्यस्तै केही समय पहिले तुलसीपुरका मुख्य सडकमा जोडिएको सोलारबत्तीहरू पनि बिग्रिएका छन् । रातमा उज्यालो दिने बत्तीहरू अहिले जुनकिरी जस्तो ‘पिलक्क–पिलिक्क’ मात्र गर्छन् । बजारको सुरक्षाका लागि जडान गरिएका सडकबत्तीहरू समयमै मर्मत नहुँदा बजार अन्धकार हुने गरेको स्थानीय बताउँछन् । सोलारबत्तीको बल्वहरू बिग्रेका कारण जुनकिरीजस्तै उज्यालो दिने गरेको नगरबासी बताउँछन् । समयमै सोलारबत्ती मर्मत नहुँदा लाखौँको लगानी खेर गएको छ ।

‘सोलारबत्तीको मर्मत गर्नुपर्छ, त्यो हुनसकेको छैन, कुनै बल्छन् कुनै बल्दैनन्’, उपमहानगरपालिका एक अधिकारीले भने । ‘तुलसीपुर बजार सम्साँझै सुत्ने गरेको छ, घरको वरपर केही उज्यालो हुन्छ सडक भने सुनसान, अन्धकार हुन्छ’, व्यवसायी बिमल गौतमले भने । उनले मुख्य लाइन नै यस्तो अवस्थामा हुँदा सहरको सौन्दर्य नै रातमा हराउने गर्छ । सडकबत्ती नहुँदा व्यावसायिक सुरक्षा पनि चुनौती बनेको छ । हरेक व्यवसायीले आफ्नो पसलमा सीसी–क्यामेरा जडान गरे पनि सडकबत्ती नहुँदा क्यामेरामा कैद भएका दृश्यहरू पनि नियाल्न असहज भएको व्यवसायीले बताउँदै आएका छन् ।

मुख्य लाइनमा नै सडकबत्ती नभएपछि अन्य गल्लीमा भने बत्ती बल्ने सम्भावना नै छैन, स्थानीयको गुनासो छ । ‘सडकबत्ती धेरैजसो स्थानमा छैन, सबेरै बन्द हुने बजार बत्ती नहुँदा सम्साँझै सुत्ने गरेको छ’, नगरबासी कमल डाँगीले भने । उनले सम्बन्धित टोल र उपमहानगरपालिकाले समयमै सडकबत्ती मर्मत गर्नुपर्ने बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिका अधिकारीले पनि सडकबत्ती मर्मत नहुँदा तुलसीपुर बजारका केही सडक अन्धकार हुने गरेको बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष वीरेन्द्र शाहले बजारमा सडकबत्ती सबै ठाउँमा नहुँदा बजार अन्धकार हुने गरेको बताए । तुलसीपुर बजारका केही सडकहरूमा भने आफूहरूले सडकबत्ती मर्मत गरी बाले पनि अहिले सबै स्थानमा भने बत्ती जोड्न नसकिएको शाहको भनाइ छ । उनले तुलसीपुर उपमहानगरपालिकाको सडकबत्ती हाल्नुपर्ने दायित्व भएको र आफूहरूले बजारका ग, ख र ङ लाइनमा बल्व फेर्ने तथा मर्मत गरे पनि हाललाई भने काम रोकिएको बताए । ‘हामीले सडकबत्ती जडानका काम सुरु गरेका थियौँ, काम गरेको भुक्तानी पाइएन अनि कसरी गर्ने काम ? उनले उल्टै प्रश्न गरे ।’ शाहले आर्थिक अभाव भएपछि सडकबत्तीको काम रोकिएको बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर हिमाल शर्माले घोराहीरोड र बसपार्कको सडकबत्तीको काम ठेक्का दिएको बताए । उनले अन्य स्थानमा भने मागअनुसार सडकबत्ती जडान गरेको बताउँछन् । शर्माले मुख्य लाइनमा रहेका सोलारबत्ती भने अहिले केही बिग्रिइएको बताए । ‘बसपार्क र घोराही रोडको बत्तीको जिम्मा ठेकेदारको हो, हाम्रो होइन मेन रोडका भने सोलारहरू मर्मत गर्नुपर्ने छ’, उनले भने । केहीका बेट्री, केहीका कन्ट्रोलर बिग्रिएको उनको भनाइ छ । ‘अन्य लाइनमा भने बत्ती बल्छ, केही लाइनमा बिग्रिएका छन् । इन्जिनियर शर्माले पनि बजेट अभावका कारण मर्मत र बत्ती जडान गर्न नसकिएको बताए । उनले बजेट आएपछि मर्मत हुने बताए । सडक बत्तीहरू नहुँदा चोरी डकैती र असुरक्षा पनि बढ्नसक्ने भन्दै यसलाई तत्काल मर्मत गर्नुपर्ने नागरिकको भनाइ छ ।

बजारको सौन्दर्यता तथा सुरक्षाका लागि जडान गरिएको सडकबत्ती समयमै मर्मत नहुनु दुर्भाग्य भएको नगरबासी बताउँछन् । ‘यसले स्मार्टसिटीलाई गिज्याएको छ, नाम मात्रको स्मार्टसिटी के काम ?’, एकजना नगरबासीले भने । उनले केही कुरा उठायो भने विरोध गरेको भन्ठान्ने भन्दै सामान्य कामहरू पनि हुन नसकेको बताए । त्यस्तै सुरक्षा निकायले पनि रातमा बत्ती नहुँदा चोरी डकैती हुने भन्दै सडक बत्तीको व्यवस्था हुनुपर्ने सुझाव दिँदै आएका छन् ।

यस सन्दर्भमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले पनि बजारमा झिलीमिली बनाउनुपर्ने भन्दै सबैले यसतर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै केहीले भने यो दायित्व टोल विकास संस्था र स्वयम् नगरबासीको पनि हुने भन्दै सबै कुरा राज्यले गरिदियोस् भनेर बस्ने प्रवृतिले पनि विकास हुन नसकेको बताए । ‘केही कुरा त हामी नगरबासीले पनि गर्न सक्नुपर्छ, हाम्रो टोलमा बत्ती मिटर जोडेर व्यवस्था गरेका छौँ’, स्थानीय अमृत काजी शर्माले भने । उनले आफूहरूले पनि राज्य तथा उपमहानगरपालिकाले गर्न सकेन भनेर दोष मात्र गर्नुभन्दा आफूहरू लाग्नुपर्ने बताए ।