भूपेन्द्र सुवेदी
नेपालको भौगोलिक अवस्था र हावापानी, घरि–घरि हुने मौसम परिवर्तन र विश्वसँग जोडिएको जलवायु परिवर्तनको डरलाग्दो अवस्थाले भोलि आउनसक्ने विकराल परिस्थिति भोग्नुपर्ने डर जोकोही लाई पनि छ र यसबाट हामी टाढा भाग्न पनि सक्दैनौँ । त्यस्ता परिवर्तनलाई त्यसकै गतिमा उसकै स्थितिमा स्वचालित राख्न वन संरक्षण र सम्बद्र्धन महत्वपूर्ण बाटो मान्न सकिन्छ ।
त्यसका लागि वन र वनमा आश्रित वन्यजन्तु, वनका जैविक विविधता, वनमा मात्र बसोबास गर्ने बाघ, भालु, गैँडा, हात्ती, बनेवल, राते, घोरल, जरायो, नीलगाईजस्ता जनावर, पन्छीजन्य जीव कलीज, लुइचे, मयूर, हाब्रे, वनचरी आदि जन्तुजनावरहरुको संरक्षण गर्नु नितान्त जरुरी छ । यी र यस्ता वन्यजन्तुहरुको संरक्षण अथवा उनीहरुको वासस्थान संरक्षण गर्नका लागि वन संरक्षण गर्नु नितान्त जरुरी देखिन्छ ।
तराई भेगमा अवस्थित चुरे क्षेत्रका वनजंगल तथा भारतको सीमासँग सटेका वनजंगलहरु पाटे बाघ तथा अन्य वन्यजन्तुको बासस्थानका लागि निकै उपयुक्त मानिन्छ । ती वन्यजन्तुहरुलाई लुकीचोरी शिकार हुनबाट जोगाउन नेपाल सरकारले नयाँ नीति अपनाएको छ । चुरे क्षेत्रमा बसोबास गर्ने ती पाटे बाघलगायत अन्य वन्यजन्तुको संरक्षण, सुरक्षा तथा गन्तीका लागि नेपाल सरकारले दाङको गढवा र राजपुरका सामुदायिक वनमा स्वचालित दुईसय क्यामेरा जडान गरेको छ । यो समाचारले हामी वन क्षेत्रमा कर्म गरिरहेकाहरुका लागि खुसीको कुरा मान्नुपर्छ । सीसी क्यामेरा जडान गर्नुमा वन संरक्षणका अभियन्ता, वनप्रेमीहरुका लागि खुसी सँगै दुःखको कुरा पनि छन् ।
दुःख यो मानेमा हो कि वन क्षेत्रको सीमानामा बसोबास गर्ने आम नागरिकलाई वन्यजन्तुले उधुम मच्चाएर सताएका छन् । बाघ, भालु, हात्तीलगायतका वन्यजन्तुको आक्रमणले बसीनसक्नुको अवस्थामा छन् । अब ती क्यामरेले ती जन्तुहरुको संरक्षण त हुने नै भयो तर आम जनताले उनीहरुलाई धपाउन पाउने कि नपाउने ? धपाउँदा क्यामेरामा कैद भए सजायको भागीदार हुने पो हुन् कि भन्ने डर पनि छ ।
अर्को कुरा वन्यजनतुको संरक्षणको नाममा नेपाल सरकारले सिर्जना गरेको संरक्षण क्षेत्रको योजनामा वनका बाघ मात्र नभएर गैँडा, हात्ती, बदेवलसमेतको आउजाउ गर्ने करीडोर बाकेँ र बर्दिया जिल्लाको वन क्षेत्र र त्यही संरक्षण क्षेत्रको बीच भागमा रहेको पूर्व–पश्चिम राजमार्ग हो । बर्दिया र चिसापानीबीचको मुख्य राजमार्गमा यात्रा गर्न नै मुस्किल जस्तै भएको । त्यो बाटोबाट यात्रा गर्दा बाघको आक्रमणका कारण धेरैले ज्यान समेत गुमाइसकेका छन् भने त्यहाँका स्थानीयलाई दैनिकी चलाउन समेत मुस्किल–मुस्किल जस्तै भएको छ । वनमा मात्रै आश्रित स्थानीयलाई वनमा गए वन्यजन्तुको आक्रमणको डर छ भने घरमै बसे भोकको डर । वन, वन्यजन्तु र स्थानीयका कुरा गरिरहँदा विरोधाभाष पनि होला ।
अब बाँके र दाङको सीमासम्म आरक्षण क्षत्रले कब्जा गरेको छ । वन्यजन्तुको संरक्षण तथा बाघको संख्या गणना गर्ने उद्देश्यले सरकारले चुरे क्षेत्रको तल्लो बेल्ट राजपुर र गढवा गाउँपालिका समेतलाई लक्षित गरी स्वचालित क्यामेरा जडान गरेको छ । सुरक्षाको दृष्टिले त क्यामेरा जडान गर्नु असाध्यै राम्रो हो । तर हिमाली क्षत्रको ढोरपाटन, मुस्ताङ क्षेत्रमा गरिएझैँ विदेशीलाई शिकार खेल्नका लागि ठेक्का दिने त होइन भन्ने डर मने हामी वनकर्मीहरुलाई लागिरहेको छ ।
वास्तमा नाम एउटा काम अर्को हुंँदै आएको नेपालको गतिविधिमा हामीले समयमै खबरदारी गर्न सकेनौा भने पछि पछुताउनु शिवाय अरु केही हुनेवाला छैन । साच्चै भन्ने हो भने पाटे बाघ र दक्षिणबाट उत्तर प्रवेश गर्न आउने भारतीय क्षेत्रका हात्तीले पूर्वी तराईबासी माथिको आक्रमणसँगै घरबास तथा अन्नबाली निमिट्यान्न पार्ने गर्दछन् । फलस्वरुप सरकारले बाध्य भएर वर्षेनी राहत स्वरुप सरकारी ढुकूटी रित्याइरहेको अवस्था छ । त्यस्तै दाङको चुरे पहाडको नजिक रहेको राजपुर, गढवा गाउँपालिकामा अब बाघ संरक्षणको नाममा कोरीडोर खुल्ने हो भने त्यो क्षेत्रका बासिन्दाको लागि खतरा साबित हुनेछ ।
शिकार हुनबाट बचाइएका पाटे बाघबाट स्वयम् स्थानीय पाटेबाघको शिकार स्थानीय हुनुपर्ने अवस्था आउनेवाला छ । यसको मतलव यो होइन कि पाटे बाघको संरक्षणका लागि सरकारले कुनै कदम नचालोस् । परन्तु दातृ निकायको थोरै सहयोगले भएको यो कदमले पछि उपलब्धिभन्दा बढी नोक्सानी भोग्नु नपरोस् भन्ने चिन्ता व्यक्त गर्न मात्र खोजेको हो । यसमा हामीले बुझनुपर्ने कुरा के हो भने हिजो हामीले वन क्षेत्रमा दाउरा, घाँस, काठलगायत वनको मुख्य स्रोत मान्दै आइका छौँ । आज आएर वनबाट दाउरा ल्याउनेहरुको सिंख्या निकै कम छ, गाईवस्तु पाल्न छोडेर घाँसको त्यति आवश्यक पनि पर्दैन ।
त्यस्तै भन्ने मात्रैको नाम हो तर वास्तवमा वनमा आश्रित भएको परिवार थोरै मात्र छन् । त्यसैले चलाखीपूर्ण ढङ्गले हामी स्थानीयले वनमा वन्यजन्तु के–कस्ता छन्, कति छन्, वनजंगलमा के–कस्ता खालका जडिबुटी छन् र त्यसबाट आयआर्जन कसरी गर्न सकिन्छ भनेर लेखाजोखा राख्न जरुरी छ । उदाहरणका लागि केही वर्ष अघि राजपुर गापाको सतबरिया स्थित अमिलियाको पल्लोपट्टीको नदी किनारमा चाइनाको केन कम्पनी बस्ने प्रयास पनि ग¥यो । सो कम्पनी आउनुको मुख्य कारण हो, त्यस क्षेत्रमा सुनको खानी छ कि भनेर ।
त्यसका लागि सो कम्पनीले ठूलो धनपैसा पनि लगानी ग¥यो । केही मेसिन ल्याएर केही समयसम्म त्यहाँ उत्खनन्को काम पनि ग¥यो । पछि त्यो कम्पनी त्यहाँबाट गयो पनि । यसै सन्दर्भलाई जोडौँ कि त्यहाँ स्थित राप्ती नदीमा बालुवा चालेर सुन संकलन गरी आफ्नो दैनिकी चलाउने पनि छन्, त्यहाँ । यसो भन्नुको मतलव के हो भने हाम्रो चुरे क्षेत्रमा विभिन्न खानी, खनिज तथा जडिबुटीहरु भरपूर मात्रामा छन् ।तिनको पहिचान तथा संरक्षण गरी त्यसबाट आय आर्जन गर्न सकिन्छ । त्यसको लागि स्थानीय तथा वनकर्मीहरु आफू समर्पित भएर लाग्न जरुरी छ ।
मैल उठान गरेका विषयवस्तु सबै सकारात्मक भन्न त सक्दैन तर त्यो पाटे बाघ मात्र नभएर त्यस चुरे क्षेत्रमा बसोबास गर्ने अन्य वन्यजन्तुको पनि संरक्षण गरियोस् । त्यससँगै वन क्षेत्रमा प्राप्त हुने खनिज, खानी तथा जडिबुटीहरुको पनि संरक्षण, सम्बद्र्धन गरियोस् । जसबाट त्यहाँका स्थानीयबासीले नोक्सानभन्दा बढी लाभ उठाउन सकून् । संरक्षणका नाममा स्थानीयलाई सधैँ घाटा, नोक्सान मात्रै व्यहोरिरहेको अवस्था छ ।
संरक्षण क्षेत्र आसपास बसोबास गर्ने आम जनताका वन्यजन्तुबाट भएका नोक्सानी सरकारले समयमै भर्ने वातावरण मिलाओस् । संरक्षणका नाममा विदेशी संघसंस्थाहरुलाई ठेक्का दिने काम नगरियोस् । सरकारले गरेको संरक्षणको यो कामप्रति स्थानीयबासीको पनि चासो र खबरदारी रहोस् । सरकार र स्थानीयबीच सहकार्यको वातावरण निर्माण गरियोस् । सरकारले स्थानीयबासीलई पन्छाएर स्वामित्व कब्जा गर्नसक्छ, त्यसप्रति स्थानीय सधैँ सजग रहनुपर्छ । अन्यथा पछि पछुताउनुशिवाय कुनै उपाय रहँदैन । मैले यस खालेखमार्फत् संरक्षण क्षेत्र आसपासका वन उपभोक्ताहरुलाई ‘कुनै कुन्तुरभित्र सबै राम्रो मात्र नभएर नराम्रो वस्तु पनि लुकेको हुनसक्छ’ भनेर सजग गराउन खोजेको मात्र हुँ, अन्यथा अर्थ नलगाउनुहोला ।