राष्ट्रिय सभा उपनिर्वाचन, मुख्य प्रतिष्पर्धा आचार्य र दशौदीबिच

गोरक्ष समाचारदाता
दाङ, १२ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य दशौदीले गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको प्रस्तावक र प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठको समर्थनमा राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहितका नेताहरूसँग उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेर दशौदीले राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । दशौदीले नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै दशौदीले आफ्नो लागि राष्ट्रियसभा अवसर भएको बताए । विगतमा पटक–पटक संसदीय निर्वाचनमा उम्मेदवार बने पनि पराजित हुने गरेका थिए । ‘विगतमा संसदीय निर्वाचनमा पार्टीले तीन पटक उम्मेदवार बनाएको थियो तर जित्न सकेको थिएन’, उमेदवार दशौदीले भने, ‘यसपटक सत्ता साझेदार दलहरूसँगै भएकाले जित निश्चितजस्तै छ ।’ दशौदी २०५१, २०५६ र २०७० को निर्वाचनमा रोल्पाबाट उम्मेदवार बनेका थिए ।

नेपाली कांग्रेसबाट कांग्रेस रोल्पाका पूर्व जिल्ला सभापति समेत रहेका माधवप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन कांग्रेस लुम्बिनका सहमहामन्त्री खगराज पाण्डे, दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगी, उपसभापति गिरिराज सुवेदी, सचिव अर्जुनकुमार योगी र पूर्व सचिव कमलकिशोर घिमिरेलगायतका नेता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । चारदशकदेखि नेपाली कांग्रेसको राजनीतिमा संक्रिय महासमिति सदस्य आचार्यको प्रस्तावकमा दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी रहेका छन् ।

२०३६ सालमा विद्यार्थी राजनीतिबाट कांग्रेसमा आबद्ध भएका आचार्यले तत्कालीन माओवादीको सशस्त्र संघर्षका क्रममा २०५३ देखि २०६४ सालसम्म तीन कार्यकाल नेपाली कांग्रेसको नेतृत्व सम्हालेका थिए । लामो समय पार्टी राजनीति समेत गरेको र जनताको सेवा गर्ने अवसर प्राप्त नभएकाले पार्टीको आग्रहमा आपूm राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेको आचार्यले बताए । ‘लामो समयसम्म रोल्पामा पार्टीको नेतृत्व सम्हालेर पार्टीलाई बचाउने काम गरेँ तर अवसर कतै प्राप्त गरेको थिएन’, उनले भने, ‘यस पटक पार्टीले विश्वास गरेर उम्मेदार बनाएको छ, खुसी लागेको छ ।’ उम्मेदवार आचार्यले २०६४ सालमा रोल्पा क्षेत्र नं. १ बाट माओवादी अध्यक्ष प्रचण्डसँग प्रतिष्पर्धा गरेका थिए ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्य धर्मराज चौधरीको प्रस्तावक र प्रदेशसभा सदस्य राजकुमार चौधरीको समर्थनमा रायले उम्मेदवारी दर्ता गराएका हुन् । लुम्बिनी प्रदेशमा नागरिक उनमुक्ति पार्टीका चारजना प्रदेश सभा सदसय रहेका छन् । उम्मेदवारी दर्ता गर्न पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ सहित अन्य नेताहरू पुगेका थिए । रायले जनताले राष्ट्रिय सभामा नयाँ सोच र विचारसहित जनताको पिरमर्का बोल्नसक्ने मान्छे खोजेकाले आपूmले उम्मेदवारी दर्ता गराएको बताएका थिए ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या ३ सय ५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ । यसैगरी एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २÷२ तथा राप्रपा र जनता प्रगतिशीलले १÷ १ स्थान जितेका छन् । त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४÷४, जसपा, लोसपा र जनमतले ३÷३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १÷१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् ।