ज्येष्ठ नागरिक समस्या र परिवारको दायित्व

भुवन पोख्रेल
ज्येष्ठ नागरिक भनेका समाजका धरोहर हुन् भने जिउँदा इतिहास हुनु तथा वर्तमान आदर्श र सम्मानका पात्र मात्र नभइ भविष्यका मार्गनिर्देशक हुन् । हाम्रो समाजले वृद्धावस्थाका व्यक्तिहरुलाई कतै सम्मान गर्ने र मार्गदर्शक ठान्ने गरेको देखिन्छ भने कतै किचकिच गर्ने र लिढेढिपी गर्ने भनेर अवमूल्यन गर्दै बोझ मान्ने गरेको पनि देखिन्छ ।

हाम्रो समाजमा ज्येष्ठ नागरिकलाई समस्याका रुपमा हेर्ने प्रवृत्तिले गर्दा वृद्धहरु अपमानित बन्न पुगेका हुन् । बढ्दो सहरीकरण, औद्योगिकीकरण, बसाई सराई, अध्ययन तथा कामकाजमा व्यस्त जीवन आदिले परिवारका सबै व्यक्ति एउटै छानामुनि बस्र्ने वातावरण नै हुँदैन । परिवार एकल रुपमा पनि विकसित हुँदै गएको छ जसले गर्दा नयाँ पुस्ताले पुरानो पुस्ताबाट ज्ञान, सीप, अनुभव र संस्कार सिक्न पाउने वातावरण हराउँदै गएको छ । वृद्धवृद्धालाई घरपरिवारले अपेक्षा गरेकै कारण कतिपय नागरिक वृद्धाश्रममा बस्नु बाध्य छन् ।

ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको छ । उनीहरुलाई स्याहार सुसार, उपचार, मनोरञ्जनमा समय व्यवस्थापन गर्न सन्ततीले नसक्दा बेसहाराको जस्तो जीवन बाँच्न विवश छन् । घरपरिवार, समाज र राष्ट्रलाई आफ्नो अमूल्य उर्जावान् समय खर्चिएका ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षा भत्ता दिएर केही हदसम्म सम्मान गरेको छ तर घरपरवारको माया, सम्मान, जिम्मेवारीको आवश्यकता खट्एिको छ, ज्येष्ठ नागरिकलाई । ज्येष्ठ नागरिक हाम्रो जविनकै आधार हुन्, सीमित नभइ सामाजिक र राष्ट्रिय साझा समस्या बन्न पुगेका छन् ।

मातृ देवो भवः पितृ देवो भवः भन्ने पूर्वीय मान्यताका आदर्शहरुलाई व्यवहारमा खरो रुपमा उतार्न सक्नुपर्छ । ६० वर्ष उमेर पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । यो उमेर भनेको जागिर रोजगारीबाट निवृत्त उमेर हो, निवृत्त जीवन बिताउनु भन्नुपर्दा शारीरिक रुपमा केही कमजोरी त हुने नै भयो, त्योभन्दा बढी मानसिक रुपमा पनि कमजोर भएको हो कि भन्ने ज्येष्ठ नागरिकलाई लाग्नसक्छ । ज्येष्ठ नागरिकले निवृत्त जीवनमा पनि आफ्नो सक्रियतामा कमी आउन दिनु हुँदैन । एकाएक निष्क्रिय जीवनमा प्रवेश गर्नुपर्दा आफ्नो महत्व घटेको त होइन भन्ने महसुस हुनसक्छ ।

अब के काल पर्खन जिउने हो र भन्ने नकारात्मक सोचाइले सताउन सक्छ, हिजो आफ्नो उमेर छँदाको पद, पैसा, प्रतिष्ठामा कतै कमी त भएको छैन ? भनी मन भारी बन्न पनि सक्छ । तसर्थ, ज्येष्ठ नागरिक लाई समाज, राष्ट्र, घरपरिवार सबैले सल्लाह, सम्मान र आदर्शको रुपमा उभ्याउनु पर्छ । ज्येष्ठ नागरिकलाई उमेर छँदाको आफ्नो शक्ति, सामथ्र्य, सान, प्रतिष्ठामा कमी आउने वातावरणलाई आत्मसात गर्दै हरपल सुख–दुःखमा सहभागी र साझेदार गराउनुपर्छ ।

खाली सन्चो, बिसन्चो सोधेर मात्र सन्नतीको दायित्व र जिम्मेवारी पूरा हुँदैन । अब समय बित्दै जाँदा वृद्धवृद्धाहरु घरको वास्तविक मुलीबाट पनि उल्टो सहारा खोज्ने स्थानमा हुनुहुन्छ । समाजमा पनि नतृत्वदायी भूमिका वृद्धवृद्धाको छैन । वृद्धवृद्धाको केन्द्रीय भूमिका खोसिँदा सान, मान र खाफ पनि कम हुँदा ज्येष्ठ नागरिकलाई अहममा चोट लागी सम्हालिन कठिन हुनसक्छ । जुन मानवीय स्वभाव पनि त हो ।

पद, पैसा र शक्ति यी तीनवटा चीज प्राप्तिका लागि मानिसले आफ्नो सिङ्गो उमेर रित्तिएर खोक्रो बूढो जीर्ण शरीर भएको फूर्ति पाउँदो रहेनछ । पैसामा पनि मानिसको सम्मोहन अद्धितीय किसिमको हुँदोरहेछ । आर्थिक स्वतन्त्रतालाई मानवको नैसर्गिक हकका रुपमा स्वतन्त्रतालाई मानवको नैसर्गिक हकका रुपमा राखिएको छ । पैसा आफै कमाउने र परिचालन गर्ने भूमिकामा हुँदासम्म मानिसमा उर्जा र आत्मविश्वासको डिग्री ३६०० को वृत्तमा पुग्छ । धनको आडम्बर र मोहले मानिसले आफूलाई नै रित्याउँछ । धन हुँदा आफू भरिपूर्ण भएको ठान्छ भने नहुँदा रित्तो अनि शून्य ठान्छ ।

धनले कहिलेकाहीा मानिसलाई उसको औकात र हैसियत नै बिर्साइदिन्छ । पैसा क्षणिक र नाशवान वस्तु हो भन्ने जान्दाजान्दै पनि यसका पछाडि मानिसको सम्मोहन अतुलनीय छ । त्यही पैसालाई इज्जत दिने हाम्रो समाज भएकाले आफ्नो सिङ्गो समय व्यक्तिले धन आर्जनमै व्यतीत गर्छ । आफूले आर्जन गरेको धनसम्पत्तिले सन्ततीको शिक्षा, दीक्षा, स्वास्थ्यमा खर्चेर बुढेसकालमा सन्तानको आशा गरेर बस्ने प्रवृत्ति हाम्रो समाजमा छ ।

सन्तानले आफ्नो शक्ति र सामथ्र्यमा कमी आएको बेला साथ नदिँदा ज्येष्ठ नागरिकको आत्मसम्मानमा ठेस पुग्दछ । आफ्नो अहम्मा धक्का पुग्दा जीवन बोकार रहेछ भन्ने सोच्दछन् । बुढेसकालका सहारा बन्लान् भनेर सन्ततीमा गरेका लगानी बाआमाका लागि बालुवामा पानी खन्याएझैँ बन्नु हुँदैन । सन्तानले वा आमालाई एक गास खान दिएर र एक सरो कपडा लगाइदिएर मात्र उहाँहरुको आत्मसम्मान जोगिँदैन ।

सन्ततीलाई सफल बनाउन, अब्बल बनाउन आफ्नो अमूल्य जीवन खर्चिएका ज्येष्ठ नागरिकलाई अशक्त अवस्थामा पुग्दा उहाँहरुको स्वाभिमानलाई रक्षा गर्दै उहाँहरुको भविष्यमा हरसन्नतीले सोच्नुपर्छ । हाम्रो सानो प्रयासले उहाँको निवृत्त जीवनमा खुसी भरिदिन सक्छौँ । उहाँहरुलाई सम्मान दिऔँ, इज्जत दिऔँ, समय दिऔँ, स्वास्थ्य र मनोरञ्जनका लागि समय–समयमा सुख–दुःखमा सहभागी बनाऔँ । के खान मन छ, कहाँ जान मन छ, के लागाउन मन छ, तीर्थ जान मन छ कि बेला–बेला सोधौँ ।

समय मिलाएर घुम्न लैजाऔा । सबभन्दा बढी घरको निर्णय प्रक्रियामा सहभागी बनाउन र सुख, दुःखका साक्षी बनाऔँ । वृद्धावस्थामा व्यक्तिले एक्लोपनको महसुस गर्छ । एकांकीपनबाट जोगाऔँ । पुस्तक पढ्न सक्नेलाई नयाँ–नयाँ पुस्तक, धार्मिक ग्रन्थ किनेर पढ्न दिऔँ । उहाँहरुका भोगाइ र अनुभवलाई सुनिदिऔँ । नयाँ पुस्तालाई उहाँहरुका उपदेश सुन्ने वातावरण मिलाइदिऔँ । वृद्धवृद्धासँगको दूरी सक्दो कम गरौँ । बारम्बार भेट्ने, समय दिने गरौँ । वृद्ध भइसकेपछि मान्छेले प्रायः खोज्ने सामिप्य र आत्मियता हो । त्यसमा हर–घरपरिवार कहिल्यै चुक्नु हुँदैन ।

प्रत्येक बाआमा सन्तानको सफलता र प्रगतिमा रमाउँछन् र त्यसको जस पनि आफूलाई कामयावीको जस आफूलाई नदिएमा चित्त दुखाइ गर्ने गर्दछन् । अबको भावि पिढी पद, पैसा, पावरको अभ्यासमा मस्त छन् । बाआमाको तर्फबाट सोच्ने फुर्सद नै छैन । अझ अधिकांश सन्तान अध्ययन र रोजगारीको सिलसिलामा घरबाहिर स्वदेश तथा विदेशमा संघर्ष गरिरहेका छन् । उनीहरुलाई बुबाआमालाई दिनहुँ फोन गरेर सन्चोविसन्चोसम्म सोध्ने फुर्सद छैन । बदलिँदो जीवनशैलीका कारण वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ र घरघरै वृद्ध सदस्यहरु बेसहारा बन्दै छन् । जसले गर्दा वृद्धवृद्धाका समस्या बढिरहेका छन् ।

उनीहरुको सहज जीवन यापनका विषयमा सबैले बेलैमा सोच्नु पर्दछ । ज्येष्ठ नागरिक मुलुकका मुख्य निधि हुन् । नेपालमा ज्येष्ठ नागरिकको समस्या दिन प्रतिदिन बढिरहेका छन् । ज्येष्ठ नागरिकको जनसंख्या पनि द्रुत गतिमा वृद्ध हुँदैछ । गाउँबाट सहर, सहरबाट विदेशमा हुँदै बसाई सराई र बढ्दो वैदेशिक रोजगारीका कारण ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणमा चुनौती थपिएको छ । अन्तर पुस्ताबीचको दूरी कम गरी ज्येष्ठ नागरिकलाई आफ्नो परिवारमा खुसीपूर्वक बस्ने वातावरण सिर्जना गर्नुपर्छ ।

ज्येष्ठ नागरिकलाई आवश्यक राहत र पुनःस्थापनामा राज्यस्तरबाट पनि ख्याल पु¥याउनु जरुरी छ । ज्येष्ठ नागरिकको संरक्षण र सम्बद्र्धनमा राज्य स्तरबाट पहल कदमी चाल्नु पर्छ । बुढेसकाल कसरी जिउने त्यो कला र उनीहरुलाई कसरी सममानको विषय समावेश गरी विद्यालय तहको पाठ्यक्रममा लागू गर्नुपर्छ ?

ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क उपचार, निःशुल्क एम्बुलेन्स सेवा, छुटमा एअर एम्बुलेन्स सेवा दिने प्रबन्ध मिलाउनु पर्छ । निःशुल्क औषधी वितरण र स्वास्थ्य जाँचको प्रबन्ध मिलइदिनु पर्छ । सुगर, प्रेसर, दमका अतिआवश्यक औषधी वृद्धाहरुलाई घरघरमा गएर वितरण गर्नुपर्छ ।

त्यस्तै सार्वजनिक यातायातमा छुटको सुविधा हुनुपर्छ । बस, ट्याक्सी, हवाइजहाजलगायतमा ज्येष्ठ नागरिकलाई कम्तिमा ५० प्रतिशत छुट दिने र सिट छुट्याउने व्यवस्था मिलाउनु पर्छ । ज्येष्ठ नागरिकमाथि हुने दूव्र्यवहार विरुद्ध आवश्यक कानुनी सल्लाह तथा परामर्श दिने हेल्प लाइन स्थापना गर्नु पर्छ ।

दुव्र्यवहारको जड सम्पत्ति पनि हो । यसर्थ, ज्येष्ठ नागरिकले आर्जन गरेको सम्पत्तिमा निजका इच्छाअनुसार हुने व्यवस्था गर्नुपर्छ । ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहारलाई दण्डनीय बनाउनु पर्छ । छोराछोरीको मासिक कमाईको आमाबुबाको आग्रहअनुसार १० देखि २५ प्रतिशत पाउने कानुन निर्माण गर्नुपर्छ ।

स्थानीय सरकारले पनि संघ र प्रदेशको अधीनमा रहेर सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन व्यवस्थापन गर्ने । ज्येष्ठ नागरिकको पनि लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन र वितरण गर्ने । ज्येष्ठ नागरिक क्लव, दिवासेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन र व्यवस्थापन गर्ने ।

ज्येष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन गर्ने । ज्येष्ठ नागरिक अशक्तहरुको व्यवस्थापनका लागि स्थानीय सरकारले कम्मल, सिरक, थर्मस, लौरो, निःशुल्क स्वास्थय जाँच, कसैले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । यस्तो सुरुवातलाई सराहनीय ठान्नुपर्छ । ज्येष्ठ नागरिकको जीवनलाई सहज र सरल तुल्याउन जेनेरेशन ग्यापलाई कम गर्न सक्नुपर्छ ।

सन् १९४८ मा जारी भएको विश्वव्यापी मानवअधिकार घोषणापत्रमा मुख्य ५ वटा मान्यता रहेको छ । जसअनुसार स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादा हो । जो ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनुपर्छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हक लेखिएको छ । जसअनुसार ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ सालमा जारी भएको छ । यस ऐनको दफा ३ मा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने कुरा लेखिएको छ भने दफा ४ मा ज्येष्ठ नागरिकको पालनपोषण र हेरचाह गर्नुपर्ने उल्लेख गरिउको छ । ऐनको दफा ५ मा ज्येष्ठ नागरिकलाई मर्का परेमा उजुरी दिनसक्ने व्यवस्था छ भने दफा ६ मा आफूखुसी गर्न पाउने व्यवस्था छ । दफा २५ मा ज्येष्ठ नागरिकलाई परिचयपत्रको व्यवस्था गरिएको छ ।

मुलुकमा ज्येष्ठ नागरिकसम्बन्धी नियमावली पनि जारी भइ कार्यान्वयनमा रहेको छ । कतिपय ज्येष्ठ नागरिकको शेष जीवन घरआँगन या पर्खालभित्र खुम्चिएको छ भने कतै कैदीको रुपमा पनि व्यवहार गर्ने गरिन्छ । यस्तो अवस्थामा घरमा कोही पाहुना आएमा वृद्धवृद्धाहरु मनका वेदना पोख्न खोज्दा घरपरिवारका सदस्यले आँखा देखाएर मनको कुरा मनमै गुम्साएर कुण्ठापूर्वक बाँच्न बाध्य हुन्छन् । आजको नयाँ पुस्ता पुरानो पुस्तासँग बस्न र कुरा गर्नु आफ्नो समयको बर्बादी ठान्दछ ।

आजका नयाँ पुस्ता भौतिक सुखसुविधामा रमाउन खोज्छ, बुढाबुढीहरुसँग होइन । आफूले इच्छाएका अनेक किसिमका महँगो इलेक्ट्रोनिक वस्तु किन्छ तर आमाबाबुको औषधोपचार र धर्मकर्मको लागि पैसाको अभाव हुन्छ । नयाँ पुस्ता एक्लै छुट्टिएर बाक्लो दाल खान र स्वतन्त्रतापूर्वक बाँच्नका लागि छुट्टिन्छ तर अघिल्लो पुस्तासँग मिलेर बस्न रुचाउँदैन । अर्को कुरा धनसम्पत्ति कमाउने तीव्र आँकांक्षाले ज्येष्ठ नागरिकको सेवा गर्न भ्याउँदैन ।

वृद्ध सदस्यलाई घरकुरुवा, चौकीदार, दयाको पात्रको रुपमा बाँच्न विवश तुल्याइएको छ । आजको आडम्बरी समाजमा बुढाबुढीहरुको सेवा सत्कार र माया उसको बाँकी सम्पत्तिमा निर्भर गर्न थालेको हुँदा आमाबुवाको महिमाभन्दा पनि आजको कलियुगमा धनको महिमालाई स्वतः बुझ्न सकिन्छ । आफूलाई जन्म दिने आफ्ना बुवाआमालाई एक गास खान दिएवाफत नातिनातिनीहरुलाई स्कूल पु¥याउन लगाउने, दूध, तरकारी किनेर ल्याउने, बिजुलीपानीको बिल तिर्न लगाउने, खाना पकाउने, सरसफाई गर्ने जस्ता दबाबमूलक काममा लगाइ दयाको पात्र बनाएका छन् ।

हिजोआज आधुनिकताको नाउमा कुकुर पाल्न इज्जत, सान सम्झने तर जन्म दिने आमाबुवालाई सडक र वृद्धाश्रममा छाड्ने कुपुत्र, कुपुत्रीहरुले के बुझ्न जररी छ भने धन वैभव, यौवन, रुप, तागत, शक्ति, पद सधैँ रहँदैन । क्षणिक र नासवान् हुन् भन्ने सम्झेर भोलि आफू पनि ज्येष्ठ नागरिक बन्ने दिन धेरै टाढा छैन भन्ने सोच्नुपर्छ । वृद्धावस्था शारीरिक, मानसिक, संवेगात्मक आदि रुपमा संक्रमणको उमेर हो । आर्थिक शोषण र भौतिक दुव्र्यवहार ज्येष्ठ नागरिकका साझा समस्या हो ।