शिवराज खनाल
दाङ,३ माघ । लुम्बिनी प्रदेशमा सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएका छन । कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछी सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्विरोध निर्वाचित भएका हुन ।
मंगलवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुख र उपसभामुखमा एक र एक जनाको उम्मेदवारी कायम भएपछी निर्विरोध निर्वािचत भएको घोषणा गरेका हुन । निर्विरोध निर्बाचन पश्चात् पत्रकार बोल्दै सभामुख र उपसभामुखले आफूले निकै जिम्मेवारी प्राप्तगरेको र सदनका सबै सदस्यहरुलाइ समान रुपले हेर्ने बताएका थिए ।
माघ ५ गते विश्वासको मत
यसैविच लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन् । माघ ५ गते प्रदेश सभाको चौथो बैठक बस्ने छ । त्यो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अर्को बैठक माघ ५ गते बस्ने जानकारी दिए ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सासदहरुको सहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । सत्तापक्षको स्पष्ट बहुमत छ ।
प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् । विश्वासको मत लिएपछी मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ । अहिले दुई विना विभागिय मन्त्री छन् । त्यस्तै प्रदेशमा मन्त्रालयको संख्या घटाउने मनस्थितीमा मुख्यमन्त्री पुगेका छन् । पहिलो मन्त्रीपरिषद् बैठकबाट एउटा मन्त्रालय घटाउदै १२ मन्त्रालय बनाउने निर्णय भएको थियो । तर, फेरी दुई वटा मन्त्रालय घटाएर १० मन्त्रालय बनाउने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ ।