Goraksha

National Daily

मुख्यमन्त्री गिरीले देउखुरीमा शपथ लिंदै

दाङ,२८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्री नियुक्त भएका गिरीले आज बिहीबार देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा दिउँसो १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

एमाले संसदीय दलका नेता गिरी प्रदेश सभाका १० दल मध्ये ७ दल र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । मु्ख्यमन्त्रीसँगै सत्ता साझेदार दल माओवादी केन्द्रलाई समेटेर आजै सानो आकारको मन्त्रीमण्डल गठन हुने सम्भावना रहेको छ ।

स्रोतका अनुसार आज नेकपा एमालेबाट संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्य र माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महराले शपथ लिने छन् ।

एमालेले आफूलाई ४, माओवादीलाई २ र साना दललाई एकएक गरी ११ सदस्यीय मन्त्रीमण्डल बनाउने अडान राखेको छ । तर माओेवादीले सरकारको नेतृत्व छाडेकाले चार मन्त्रालय दावी आफूहरुले पाउनुपर्ने अडान राखेको छ ।

चार सिट रहेको नागरिक उन्मुक्ति तथा ३३ सिट रहेका जसपा र जनमत पार्टीले संयुक्त मोर्चाबन्दी गरेर धेरै मन्त्रालय हात पार्ने रणनीति अख्तियार गरेकाले मन्त्रालय भागबन्डामा कठिनाइ भएको एमालेका नेताहरु बताउँछन् ।

लुम्बिनीमा नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, जनमत पाटी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई जना स्वतन्त्र सांसद सत्ता साझेदार छन् ।

८७ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकरएक जना गरी २९ जना सांसद प्रतिपक्षमा छन् ।