नारायणप्रसाद श्रेष्ठ
समाज विकासको बलियो आधार भएर रहेको मानवीय विवेकमा दिनहुँ आउने हजारौँ विचार भए पनि जुन विचार र कर्मले ऊ उत्प्रेरित हुन्छ, त्यही विचारले उसलाई परिणामतः पु¥याउँछ । त्यसैले मानव मनको यही सत्यलाई बुझेर दिनहुँ आउने हजारौँ विचारलाई छटनी गरी सत्विचार र सत्यमा आधारित कर्मतर्फ विवेक प्रयोग गर्नु गराउनु पर्छ ।
यसको लागि मनलाई शान्त र धीरशील बनाइ उर्लँदो खहरेले ल्याउने क्षणिकतालाई बुझी त्यसलाई छटनी गरेर अरुको हित र सेवामा समर्पित रहने विचार र उद्देश्य राख्नुपर्छ । स्वच्छ मस्तिष्कले प्रतिदिन हजारौँ विचार प्रवाह गर्न सक्ने क्षमता राख्नसक्छ भन्ने सत्यलाई बुझी आफू र अरुको हितको लागि आवश्यक पर्ने विचारहरुलाई कर्ममा रुपान्तरण गरी अघि बढ्ने संकल्प गर्नुपर्छ । यसको लागि मनलाई स्थिर र उर्जाशील बनाइराख्नुपर्छ । दृढसंकल्प र सकारात्मक उजाशक्ति समाज विकासको बलियो आधार पनि हो । सांसारिक गतिविधिलाई चलायमान बनाउने स्वच्छ विचार नै राष्ट्र र राष्ट्रियता सम्बद्र्धन र सम्पन्न बनाउने एक मात्र आधार पनि हो । समाज मानिसलाई गतिशील र उर्जावान बनाउने थलो पनि हो ।
ऐना झुट बोल्दैन । उसले बाह्य जगतमा जेजस्ता आवरण र परिवेश छ त्यसलाई जस्ताको त्यस्तै देखाउँछ तर त्यसले मानिसको अन्तरमनको सत्य विचारलाई जान्न सकेको हुँदैन । यसको लागि अन्तरमनको सत्यलाई पहिचान गर्ने ज्ञानरुपी ऐनाको जरुरी पर्दछ । ज्ञानरुपी ऐनाले देखाउने कर्म नै जीवनलाई सहज गति दिने बलियो आधार पनि हो । तसर्थ, यस आधारलाई मजबुत बनाउँदै सृष्टिचक्रको इतिहास र विगतको अनुभवलाई दृष्टिगत गरी मानवीय चिन्तनमा नवजागरण ल्याउने विचार प्रवाह गर्ने वातावरण बनाउनुपर्छ । अरुको भलाइ गर्ने आत्मतत्वले कहिल्यै पनि अपमानित भएर बाँच्नुपर्दैन । यस्तो आचरण र व्यवहार गर्ने मानिसको विचार सधैँ उत्तम गतिउन्मुख हुन्छ ।
यस्तो प्रवृत्तिउन्मुख सोच र चिन्तनलाई कुनै पनि दुरात्माले समेत असर पु¥याउन सक्दैन । तसर्थ, यस कुरालाई मनन् गर्न जरुरी छ । अर्को कुरा क्षणिक लोभ र मोहमा फसेको व्यक्तिलाई मात्र सुरक्षाको आवश्यकता पर्दछ तर कर्म र व्यवहारबाट सबैको भलो चाहने व्यक्तिलाई सुरक्षित हुनुपर्ने अवस्थै आउँदैन । जसरी सत्यलाई सत्य भनिरहनु पर्दैन, त्यसैगरी इमानदार र कर्तव्यनिष्ठ मानव विचारलाई तौलिरहनु पर्दैैन । किनकि विचार निरन्तर बगिरहने यस्तो तत्व हो, जसको न त सुरु छ न त अन्त्य नै । यो निरन्तर बगिरहने नदी समान हुन्छ ।
तसर्थ, प्रेमरुपी पवित्र आत्माले उचित ठह¥याएको जीवनशैली अपनाउनु सबैको कर्तव्य र दायित्व रहन्छ । वर्तमानमा मानिसले जुन किसिमको आनन्द भोगिरहेका छन्, त्यसलाई त्यहीभित्र सीमित राखी अगाडि बढ्ने संकल्प गर्नुपर्छ । अनावश्यक इच्छाशक्ति बढाउनु हुँदैन । यसले मानिसलाई विविध विचारतर्फ उत्प्रेरित गर्दछ । तसर्थ समय र परिस्थिति जस्तोसुकै आए पनि मानिसलाई सधैँ सत्य र सकारात्मक चिन्तन गरिरहनु पर्दछ भनिएको हो ।
मानिसहरु जीवन र परिस्थिति आफ्नो नियन्त्रण र वशमा छ भन्ने ठान्दछ । मभित्र उर्जाशक्ति छ भनी आफूमा गर्वको महसुस पनि गर्दछ तर यथार्थ त्यस्तो हुँदैन । किनकि समय कसैको वशमा हुँदैन । मानिसले परिस्थितिलाई क्षणिक आवरणभित्र आफूअनुकूल बनाउन सक्ला, काम र कर्तव्यमा आफूलाई समर्पण गराउन सक्ला तर समयसँग अघि बढ्ने परिस्थितिलाई आफ्नो वशमा पार्न सक्छु भनी घमण्ड गर्नु किमार्थ सत्य ठहरिँदैन । यसको लागि मानिसले निकै संघर्ष गर्नुपर्छ ।
विचार र भावनामा बहकिने मनलाई एकाग्रतामा ल्याइ सकारात्मक प्रवृत्ति उन्मुख बनाउन सक्नुपर्छ । जीवन र परिस्थिति भनेको समयको चक्रभित्र चलिरहने प्रक्रिया हो । यसलाई बुझ्न जरुरी छ । तसर्थ, विचार र कर्मले ल्याउने परिणामको ख्याल गरेर कुनै पनि कार्य गर्नुपूर्व विचारलाई तौलेर प्रदर्शन गर्नुपर्दछ । स्वच्छ र पवित्र ज्ञान धारण गरेर विचार प्रवाह गर्न सक्नुपर्छ । सस्तो लोकप्रियतामा गरिने कुनै पनि कर्मभित्र स्वार्थ लुकेको हुन्छ । यस्तो विचार आउनु भनेको क्षणिक मोह र वशमा आफूलाई प्रदर्शन गर्नु हो । यसले मानव जीवनलाई कहिले सुख र शान्तिको अनुभूति गराउन सक्दैन । त्यसैले विचार र कर्ममा हुने भिन्नतालाई समेत ध्यानमा राखेर समयले ल्याउने परिस्थितिको आँकलन गरी कर्म र सेवामा आफूलाई समर्पण गर्नुपर्छ ।
अभिमान र अहंकारले परिपोषित विचारले जुन दिनदेखि मानव चेतनालाई जकड्न सुरु गर्दछ त्यसै दिनदेखि पतनको बाटो सुरु हुन्छ । तसर्थ, आध्यात्मिक वा भौकितवादी जुनै संस्कृतिभित्र आफूलाई परिपोषित गरिएको छ भने पनि आफूमा अभिमान नआउने प्रतीज्ञा र संकल्प गर्न सक्नुपर्छ । किनकि जो हिजो थियो त्यो आज नहुनसक्छ र आज जे छ त्यो भोलि नहुने परिस्थिति जन्मनसक्छ । म त स्वच्छ र पवित्र छु, मैले कोही कसैलाई कुनै किसिमको क्षति पु¥याएको छैन पनि भन्ने तर विचार प्रवाह गर्दा अरुको मानहानी हुने तथा अपमान हुने किसिमले विचार प्रवाह गर्ने हो भने त्यो प्रत्युत्पादक बन्नसक्छ ।
यसले मानिसको आत्मा स्वयम्लाई नाजुक अवस्थामा पु¥याउँछ । यति मात्र होइन, समाजलाई दूषित आवरणमा लैजाने परिस्थिति बन्नसक्छ । त्यसैले आज मेरो पासमा जे छ त्यो हिजो तिम्रो साथमा थियो र आज जे मसँग छ त्यो भोलि तिम्रो पनि हुनसक्छ भनी आफ्नो ब्रह्मसत्यले देखेको सत्यलाई ग्रहण गरी चहराइरहेको घाउमा मल्हमपट्टी गरेर समाजलाई आदर्श गतिउन्मुख गराउने विचार प्रवाह गर्न सक्नुपर्छ । त्यसको लागि आफू अन्तरनिहित प्रेम र समर्पणलाई निःस्वार्थ रुपले दान गर्न सक्नुपर्छ । यस्तो परिस्थिति जन्मनु भनेको प्रेम र सद्भाव बाँड्नु हो । समाजलाई सत्विचार र आदर्शतर्फ गतिउन्मुख बनाउनु हो ।
सृष्टिको इतिहास चलायमान छ । प्रकृतिमा जन्मिएको जति पनि जीवजन्तु छन्, ती सबै चलायमान हुन्छन् । उत्पत्ति हुने, नष्ट हुने प्रक्रियामा आबद्ध रहेका हुन्छन् । फरक यत्ति हो कसैमा चेतनाशक्ति बढी हुन्छ भने कसैमा चेतनाशक्ति कमजोर हुन्छ । जसरी पृथ्वीमा कुनै पनि विज रोपे त्यो उम्रन्छ, हुर्कन्छ र मेटिन्छ, त्यसैगरी मानव अस्तित्व पनि जन्मने, हुर्कने र मर्ने यो प्रक्रियामा आबद्ध भएको हुन्छ । फरक यति हो बोटविरुवा आफूमा परेको मर्का भनेर वा कुनै तरिकाले वेदना प्रदशन गर्न सक्दैन, मानव आफूलाई पर्ने समस्या बताउन, समाधान गर्न सक्छ । यो मानवको चेतन मनको विचारशक्तिको कारण हो ।
त्यसैले विचारशक्तिबाट परिपोषित मानव शक्तिले जहिल्यै पनि विचारमा पवित्रता र सोचमा सकारात्मक भाव जागृत हुने कर्म गरिरहनु पर्छ । मानिसभित्र आउने विचारहरु समुद्रको छालझैँ एकपछि अर्को गर्दै निरन्तर आइरहन्छ, गइरहन्छ । यदि यसबेलामा सहज र राष्ट्रिय विकासका भावनाले ओतप्रोत विचार प्रवाह गर्ने क्षमता प्रदर्शन गर्न सकिएन भने जीवनले राखेको उद्देश्य अधुरै रहने अवस्था रहन्छ । जीवन अधुरो हुनु भनेको आफूलाई असक्षमको पगडी गुथाउनु हो । त्यसैले समुद्री छालझैँ दैनिक आइरहने विचारलाई अन्तरमनको शुद्धताले कसी लगाउँदै अकबरी सुनझैँ बाह्य आवरणमा प्रदर्शन गर्न सक्नुपर्छ । तबमात्र समाज, राष्ट्रले खोजेको आदर्शता भेट्न सकिन्छ ।