शिवराज खनाल
लमही, २६ पुस । लमही बजारबाट २१ किलोमिटर पश्चिममा पर्ने रिहार धार्मिक पर्यटकीय गन्तव्य मानिन्छ । धार्मिक सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको रिहार क्षेत्र निकै पुरानो धामको रुपमा चिनिन्छ । रिहार क्षेत्र सरकारको १ सय पर्यटकीय गन्तब्यको छनोटमा रहेको छ । दाङको रिहार धाम १ हजार विगाहा क्षेत्रफलमा फैलिएको छ ।
रिहारको धार्मिक महत्वलाई बुझेर नेपालभित्र मात्र होइन्, भारतका विभिन्न जिल्लाबाट समेत तीर्थालु भक्तजन यात्रीहरु वर्षेनी आउने गरेका छन् । बागरबाबाको पूजापाठ गर्ने र आशीर्वाद लिने प्रचलन परापूर्बकालदेखि नै चल्दै आएको स्थानीय जानकार मेघसिंह पछाईले बताए । मन्दिर आउने अधिकांश भक्तजन सन्तान प्राप्तिको भाकल गर्छन्, त्यो पनि ठूलो स्वरमा चिच्याएर ।
थारु र यादव समुुदायका मानिसहरु पूजारी रहने रिहारमा बगारबाबासहित देव तथा देवीका मन्दिरहरु पनि छन् भने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिवमन्दिर रहेका छन् । त्यसैगरी सूर्यकुण्ड, तप्तकुण्डसमेत रहेका छन् । वर्षमा माघे संक्रान्तिको अघिल्लो दिनदेखि एक हप्तासम्म मेला लाग्ने गर्दछ, भारतका विभिन्न स्थानहरुबाट बागरबाबासँग आशीर्वाद लिन आउँछन् । माघे संक्रान्ति नजिकिएसँगै रिहारमा पर्यटनको उपस्थिति बाक्लिन थालेको छ ।

धार्मिक क्षेत्र भए तापनि आन्तरिक तथा बाह्य पर्यटकहरुको मनोरञ्जनका लागि समितिले चासो देखाउन थालेको छ । ‘यस बर्षदेखि हामीले यहाँ घुम्न आउने भक्तजनका लागि तालमा मोटरेबल बोटको बेवस्था र अन्य मनोरञ्जन क्षेत्रको समेत बेवस्था गरेका छौँ’, बगारबाबा धार्मिक पर्यटन विकास क्षेत्र समितिका अध्यक्ष रविन्द्र खत्रीले भने । समितिले रिहार क्षेत्रमा पिक्निक स्पोर्ट बनाउने योजनासमेत बनाउन लागेको छ ।
करिब १ हजार बिगाहा क्षेत्रफलमा फैलिएको रिहार क्षेत्र धार्मिक हिसाबले मात्र आकर्षक छैन, चुरे पहाडको फेदीमा छ । ठूलो ताल, वरपर घना जंगल, चराचुरुङ्गीको चिरचिर आवाज र मनमोहक दृश्यले पर्यटकहरुलाई लोभ्याउने गर्दछ । यस क्षेत्रको विकासका लागि स्थानीय सरकारले पनि लगानी गर्दै आएसँगै अन्य निकायसँग पहल गरिरहेको वडा नं. ९ का वडाध्यक्ष भेषबहादुर केसीले बताए ।