दाङ,१८ पुस । लृुम्विनी प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ पारित गरेको छ । प्रदेशसभाका जेष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनि प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो ।
यही नियमावलीको आधारमा प्रदेशसभाले आगामी दिनहरुमा आफ्ना गतिविधिहरु अघि बढाउने छ । यस अघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशत भन्दा बढी संसोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन ।
‘सिकाई र अनुभवका आधारमा नियमावली संसोधन गर्नुपर्ने भयो । पुरानो नियमावली संसोधन गर्दा ५० प्रतिशत भन्दा बढी गर्नुपर्ने देखिएपछी नयाँ बनाइएको हो’, पुनले भने,‘प्रदेशसभाको सबै गतिविधि यही नियमावलीको आधारमा हुन्छ ।’ लुम्विनी प्रदेशसभाको बैठकमा विभिन्न दलबाट निर्वाचित संसदहरुले बोलेका थिए ।
अर्काे बैठक माघ ३ मा
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ । पहिलो अधिवेसनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका जेष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन । अव सभामुख र उपसभामुख चयनको लागी प्रदेश सभामा बाटो खुलेको छ ।
पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अन्तरगत राजनीतिक दलहरुको विचमा सहमतीको प्रयास गरिने र सम्भवतः आउँदो बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।