देउखुरी,१७ पुस । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका–३ मसुरियास्थित नवनिर्मित सभाहलमा संसदले शपथ लिएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहणका क्रममा विभिन्न जातजातिका भेषभुषा झल्कने पोशाकले सांसदहरूले लगाएका थिए। रोल्पा र रूकुमका मगर समुदायका महिला पुरूष सांसदहरूले आफ्नो परम्परागत पहिरन लगाएर शपथ खाएका थिए। दाङ, बाँके र बर्दियाका थारू समुदायका सांसदले पनि आफ्नै मौलिक पहिरनमा शपथ लिएका थिए। रूपन्देही, कपिलवस्तु, बाँकेका मधेसी समुदायका सांसदहरूले पनि आफ्नै पहिरनमा शपथ लिए।
पहिलो संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने घोषणा सचिवालयका सचिव दुर्लभ पुनले गरेका छन्। भुसाल गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन्। प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्नेछन्। हप्ता दिनभित्र सभामुख र उपसभामुख चुनिने अपेक्षा गरिएको छ।