काठमाडौं,३ पुस। नेपाली कांग्रेसले सातै प्रदेशसहित संघीय सरकारमा नेतृत्वका लागि दाबी गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले सबै प्रदेश र संघमा नेतृत्व दाबी गर्ने निर्णय गरेको हो । ‘संघीय सरकारसहित सातै प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने’, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने ‘विकल्प के के हुनसक्छ भनेर सहयात्री दलहरूसँग छलफल गर्ने छौ।’
बैठकपछि प्रवक्ता महतले प्रदेश सरकार बनाउन प्रक्रिया अघि बढाउने अधिकार प्रदेश समितिलाई दिइएको जानकारी दिएका छन । ‘प्रदेश सरकार बनाउन प्रक्रिया अघि बढाउने अधिकार प्रदेश समितिलाई दिइएको छ’, महतले भने, ‘सरकार बनाउन प्रदेश समितिहरूले दलहरूसँग छलफल गरेर अघि बढ्छन् । उहाँहरूको रायका आधारमा सात प्रदेशका सरकारका विषयमा केन्द्रले निर्णय गर्छ ।’