दाङ,१ पुस । दाङको घोराहीमा स्कुल बस नजिकबाट ल्याएको भन्दै एक जना सहचालक कुटिएका छन् । घोराही उपमहानगरपालिका–१३ बडहरास्थीत गोदावरी इङ्लिस मिडियम स्कुल (जेम्स) को लु १ ख ४६३५ नम्वरको बसमा कार्यरत ४५ बर्षीय सहचालक नन्दबहादुर खड्का शुक्रवार विहान कुटिएका हुन ।
शुक्रवार विहान ८ः३५ बजेको समयमा विद्यार्थी ल्याउन घोराही आएको समयमा घोराही उपमहानगरपालिका–१५ स्थीत डिके पेट्रोलपम्पदेखि उत्तरतर्फको घुम्तीमा अपरिचित पैदल यात्री बाट सहचालक खड्का कुटिएको विद्यालयका कोर्डिनेटर हेमराज देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार सहचालक खड्कालाई बस आफ्नो नजिकबाट ल्याएको भन्दै बाटोमा हिडिरहेका पैदलयात्री आमाछोराले गाडीभित्र प्रवेश गरी कुटपिट गर्दै बाहिर ल्याएर ढुङ्गाले हानी गम्भीर घाइते बनाएको बताए ।
घाइते सहचालक खड्काको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन् । उनका अनुसार घट्नामा संलग्न दुई मध्य एक जनालाई पक्राउ गरि घट्नाबारेमा थप अनुसन्धान भैरहेको बताए । ‘विहान विद्यार्थी ल्याउन बजार आएको समयमा पैदलयात्रीबाट बसका सहचालकलाई कुटपिट भएको रहिछ’,प्रवक्ता गौतमले भने,‘उक्त घट्नामा एक जनालाई पक्राउ गरि घट्ना बारेमा थप अनुसन्धानको काम भैरहेको छ ।’
यसैविच विद्यालयले घटनाप्रति घोर आपत्ति प्रकट गर्दै ज्यानै लिनेगरि गरिएको उक्त आक्रमणबाट गम्भीर घाइते खड्काका शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै कुटपिटमा संलग्नलाई पक्राउ गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न समेत विद्यालयले आग्रह गरेको छ ।