दाङ,२५ मंसिर । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले अब विकास निर्माणको कामले गति लिने बताएका छन् । लमही नगरपालिका–४ स्थीत पक्की पुलको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले समग्र नगरको विकासका लागि सबैले साथ दिनुपर्ने बताएका हुन ।
पुलको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले नगरभित्र ठुला ठुला योजनाहरु सम्पन्न हुँदै गरेको भन्दै कतै पक्की पुल कतै कालोपत्रेको काम अघि बढ्न थालेको बताए । ‘कतै सुविधा सम्पन्न भवन, कतै सडक कालोपत्रे भएका छन । यी हाम्रो नगरपालिकाको शान हुन’,उनले भने,‘नगरको विकास र समृद्धिका लागि आगामी दिनहरुमा थप विकासका कामहुने छन् ।’ नगर प्रमुख चौधरीले लमही नगरपालिका–४ स्थित बहगी सोता खोलामा पक्की पुल निर्माणको काम शुरु भएको भन्दै यो निर्माण भएपछि स्थानीयलाई हिडडुल गर्न सहज हुने बताए ।
आइतबार लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष सुबास न्यौपानेले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन । लमही नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको उक्त पक्की पुलको लागत २ लाख ४६ हजार दुइ सय पैतालिस रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त पुलको निर्माण कार्यको जिम्मा रोल्पाको राजविर निर्माण सेवा कम्पनीले पाएको छ ।
वडा अध्यक्ष न्यौपानले खोलामा पुल नहुँदा स्थानीयलाई धेरै हिडडुल गर्न समस्या हुने गरेको भन्दै पुल निर्माण भएपछि हिडडुल गर्न सहज हुने बताए । २०८१ असार मसान्तसम्म पुल निर्माणको काम सक्ने गरि नगरपालिकासंग सम्झौता भएको लमही नगरपालिकाका इन्जिनियर सौगात ओलीले जानकारी दिएका छन् ।
त्यसैगरी लमही नगरपालिका वडा नम्बर ३ को बाघखोली खोलामा पनि पक्की पुल निर्माण हुँदैछ । नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको पुलको लागत एक करोड उनानब्बे लाख चौध हजार छ सय त्रिहत्तर रुपैयाँ रहेको छ । यो पुलको निर्माण कार्यको जिम्मा विशालरविराटरइसान जेभी निर्माण कम्पनीले लिएको छ भने पुल आगामी असार मसान्तसम्म सम्पन्न गरि सक्नुपर्ने छ । पुलको लम्बाई १३ मिटर रहेको छ ।