रोल्पा, १७ मंसिर । रोल्पाको सदरमुकाम लिबाङ नजिकै भैंसीकुटीमा शनिबार बिहान भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी एक बालक घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार बिहान करिब साढे सात बजेतिर रोल्पा नगरपालिका–५ भैंसीकुटीस्थित भित्री सडक खण्डमा लु १ च ५४६४ नम्बरको जिप सडकभन्दा करिब २ सय मिटरमुनी माडी खोलामा खसेको हो । उक्त जिप रोल्पाको बाझबाङबाट प्युठानको किमिचौर बजारतर्फ स्थानीय उत्पादन सामाग्री लैजान र आवश्यक सामान बजारबाट लिन जाने क्रममा थियो ।
जिप अनियन्त्रित भएर खोलामा खस्दा जिपका मालिक समेत रहेका चालक रोल्पा नगरपालिका–५ बाझबाङका ३६ वर्षीय निलेश कवरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएका छ ।
उनीसँगै सवार उनका छोरा ११ वर्षीय प्रताप कवर घाइते भएका हुन् । उनको शरीर, टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । घाइतेलाई उपचारको लागि प्यूठानतर्फ पठाइएको छ । जिप पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।