समानुपातिक मतगणना अपडेट : कुन दलको कति पुग्यो ?

  •   
  •  

काठमाडौं,१२ मंसिर । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ ।

नेपाली कांग्रेसले समानुपातिकततर्फ २३ लाख ९६ हजार ९३ मत पाएको छ । यस आधारमा कांग्रेसले ३३ सिट पाउने छ । समानुपातिक तर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्रभन्दा अगाडि छ । रास्वपाले १० लाख ६२ हजार ९८० र माओवादी केन्द्र १० लाख ६१ हजार २०० मत पाएका छन् । यस आधारमा दुवै दलले समान १५ र १५ सिट पाउने देखिन्छ ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ र जनता समाजवादी पार्टी नेपालले ४ सिट पाउने सम्भावना छ । राप्रपाले ५ लाख ४५ हजार १८८ र जसपाले ३ लाख २४ हजार ३१० मत पाएका छन् ।

जनमत पार्टी र एकीकृत समाजवादी थ्रेसहोल्डको सीमा कटाउन प्रयासरत छन् । कूल सदर मतको ३ प्रतिशत मत नपाउने दलले थ्रेसहोल्ड कटाउँदैनन् र थ्रेसहोल्ड नकटाउने दलले समानुपातिकमा कुनै हिस्सा पाउँदैनन् । सोमवार बिहान १० बजेसम्मको मतगणना अनुसार जनमत पार्टीले २ लाख ६१ हजार २१५ र एकीकृत समाजवादीले २ लाख ५१ हजार ४७६ मत पाएको छ । ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनासाथ भने ३ देखि ४ सिट पाउने देखिन्छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार समानुपातिकमा तीन प्रतिशत कटाएका दलहरुको मतलाई सेन्ट लग विधिबाट हिसाब गरेर सिट निकालिन्छ । यो विधिमा हिसाब गर्दा १, ३, ५, ७, ९ अंकले भाग गरेर विभाजन गरी भागफल निकाली सिटको बाँडफाँट गरिन्छ ।