‘क्यूएए’ प्राप्तसँगै भौतिक र शैक्षिक विकासका लागि सहज

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, ११ मंसिर । वि.सं २०४७ सालमा स्थापना भएको यहाँको सामुदायिक क्याम्पसले क्यूएए प्राप्त गरी इतिहास कायम गर्न सफल भएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । अब यो सँगै थप विषयहरूको पढाइ सञ्चालन र भौतिकदेखि अन्य विकासले पनि फड्को मार्ने क्याम्पस सञ्चालक समितिको भनाइ छ ।

शनिवार क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. विष्णु देवकोटाले राप्ती बबई क्याम्पसले क्यूएए प्राप्त गर्नु सबैको खुसीको कुरा भएको बातए । उनले लुम्बिनी प्रदेशमा आफूहरू पाँचौँ स्थानमा भएको समेत बताए । उनले अध्ययन गरिसकेका विद्यार्थीले पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा मान्यता पाउनुका साथै क्यूएए प्राप्त सँगै अब एउटा आधारशीलामा क्याम्पसलाई ल्याएको बताए ।

‘म सञ्चालक समिति हुँदा दुईवटा कुरा पूरा गर्छु भनेको थिएँ, त्यो हो क्याम्पसलाई आंगिक गराउने र गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मूल्याङ्कनको प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ’, उनले भने । ठूलो मिहिनेतका साथ कार्तिक ३० गते क्याम्पसले क्यूएएको प्रमाणपत्र प्राप्त गरेको उनले बताए । त्यस्तै देशभरका १ हजार ४ सय ४० क्याम्पसमध्ये राप्ती बबई क्याम्पससँगै ८२ वटा क्याम्पसले क्यूएए प्राप्त गरेका छन् ।

धेरै चरणहरू पार गरेर राप्ती बबई क्याम्पसले क्यूएए प्राप्त गर्न सफल भएको र यो एउटा ऐतिहासिक विजयी रहेको क्याम्पस प्रमुख युवराज रावतले जानकारी दिए । ‘क्याम्पसका सबै शिक्षक, विद्यार्थीलगायत विभिन्न क्षेत्रको साथ सहयोग र मिहिनेतका कारण क्याम्पसले क्यूएए प्राप्त गर्न सफल भएको छ’, रावतले भने । पत्रकार सम्मेलनमा क्यूएएको प्रमाणपत्र प्राप्त गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै क्याम्पस प्रमुख रावतले अब यो गुणस्तरीयतालाई कसरी बचाउने भन्ने अवसरका साथ चुनौती थपिएको बताए ।

आफूहरूले कडा मिहिनेतका साथ क्याम्पसको गुणस्तरीयतालाई बचाउने पनि उनले बताए । क्यूएए प्राप्तिको लागि गएको भदौ २१ गतेदेखि २३ गते प्रा. देवराज अधिकारीसहितको तीन सदस्यीय टोलीले तीन दिनसम्म क्याम्पसको अनुगमन गरेको थियो । त्यस अघि गएको वर्ष पहिलो चरणको अनुगमन भएको थियो । अनुगमन टोलीले विद्यालय व्यवस्थापन समिति, विभागीय शिक्षक, विद्यार्थीसँग अन्तत्र्रिmया गर्नुका साथै भौतिक अवस्थाको पनि अवलोकन गरेको थियो । क्यूएए प्राप्त क्याम्पसको प्रत्येक पाँच÷पाँच वर्षमा गुणस्तर कायम छ या छैन भनी अनुगमन हुन्छ ।

क्यूएए प्राप्त गरेका क्याम्पसले क्वालिटीको आधारमा थप अनुदानहरू प्राप्त गर्दछन् । क्यूएए प्राप्त क्याम्पसबाट पास भएर जाने विद्यार्थी प्रतिविद्यार्थी ३५ हजारका दरले अनुदान पाउँने कोहर्डिनेटर यमनाथ उपाध्यायले बताए । यसले विद्यार्थी, क्याम्पस र अन्य आर्थिक सामाजिक तथा सबैलाई फाइदा पुग्ने उनको भनाइ छ । त्यस्तै अब क्याम्पसले प्राविधिक धारका विषयहरूका पनि सञ्चालन गर्ने बाटो खुल्ला भएको छ ।

‘बीबीए, बीएललगायत अन्य प्राविधिक धारका पनि हामीले अब विषयहरू सञ्चालन गर्न सक्नेछौँ’, अध्यक्ष देवकोटाले भने । उनले सबैका साथ र सहयोगबाट राप्ती बबई क्याम्पसको विकास विस्तार भएको भन्दै सबैलाई धन्यवाद दिए । हाल दाङलगायत छिमेकी जिल्ला सल्यान, रुकुम, जाजरकोटलगायतका जिल्लाका विद्यार्थीहरू समेत यहाँ अध्ययन गर्ने गरेका छन् । राप्ती बबई क्याम्पसमा विभिन्न संकायमा हाल ४२ सय विद्यार्थीले अध्ययन गर्ने गरेका छन् ।

शिक्षा, मानविकी र व्यवस्थापन तर्फका पढाइका साथै शिक्षा, व्यवस्थापनतर्फ बिहानी, दिवा र सन्धायाकालीन पढाइ हुँदै आएको छ । पश्चिम दाङको सबै भन्दा पुरानो र पहिलो क्याम्पसले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको छ । हाल विद्यालयमा सुविधा सम्पन्न लाइव्रेरी, खेल मैदान र क्यान्टिनदेखि अन्य पूर्वाधारहरू रहेका छन् । ‘अब हामीबाट अन्य क्याम्पसले पनि सिक्ने समय आएको छ, यसमा सहयोग गर्ने र यहाँसम्म क्याम्पसलाई ल्याइ पु¥याउने सबैलाई धन्यवाद दिन चाहन्छौँ’, पत्रकार समेलनमा क्याम्पस प्रमुख रावतले भने । उनले अब यहाँका विद्यार्थीहरू गुणस्तर खोज्न बाहिर जानु नपर्ने समेत दाबी गरे ।

‘यही गुणस्तरीय शिक्षा अब राप्ती बबई क्याम्पसमा पाइन्छ भन्ने सुनिश्चितता अब क्यूएए प्राप्त गरेसँगै भएको छ’, उनले भने । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. विष्णु देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले राप्ती बबई क्याम्पसले क्यूएए प्राप्त गर्नु गर्वको कुरा भएको बताए । उनले सबै मूल्याङ्कनमा आधारहरू पूरा गरी गुणस्तर प्राप्त गरेसँगै यो दाङ तथा अन्य छिमेकी जिल्लाका लागि खुसीको कुरा भएको बताए । कार्यक्रमको सहजीकरण कोअर्डिनेटर यमनाथ उपाध्यायले गरेका थिए । यसैबीच राप्ती बबई क्याम्पसले मंसिर ११ गते नवनिर्वाचित प्रतिनिधिलाई सम्मान तथा क्यूएएको विषयमा कार्यक्रम र मंसिर १२ गते वार्षिकोत्सव मनाउने पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।