के.पी. सुवेदी
राष्ट्रिय महोत्सवको रुपमा रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन–२०७९ यही मंसिर ४ गते सम्पन्न भएको छ । सामान्य घटना बाहेक शान्तिपूर्ण रुपले सम्पन्न निर्वाचन अघिल्ला निर्वाचन भन्दा निरस, निरपेक्ष मनोदशामा मत जाहेर गर्ने मतदाताको संख्या ठूलो देखियो । निर्वाचनको स्वतन्त्र पर्यवेक्षण गरिरहेका संघसंस्था तथा व्यक्तिहरुको अध्ययन र विश्लेषण मात्र नभइ निर्वाचनमा सहभागी सबैको अनुभवले यस्तैखालको निष्कर्ष निकालेको सुन्नमा आयो ।
स्वाभाविक रुपले मत दिइसकेपछि आफ्नो मत कुन अवस्थामा रहेछ वा आफ्नो विचारको के सान्दर्भिकता रहेछ भनि स्वमूल्यांकन गर्ने क्रममा सबै निर्वाचन परिणामप्रतिको उत्सुकता जताएको पाइन्छ तर त्यसमा पनि नेपाली कांग्रेसका शुभचिन्तक र आम मतदाता भने चिन्तित देखिन्छन् । यसको कारण कांग्रेसले लिएको गलत नीति हो । लोकतान्त्रिक मूल्य मान्यतामा विश्वव्यापी परिचय बनाएको पार्टीले यसरी दुनियालाई चकित तुल्याउने गरी आफ्नो दार्शनिक तथा सैद्धान्तिक धरातल छोडेर लोकतन्त्रप्रति द्वैधचरित्र देखाई आएका पार्टीहरुसँग मत परिवर्तन प्रणालीमा सहमति गर्नु अलोकतान्त्रिक निर्णय थियो ।
निर्वाचनको अन्तिम नतिजा आइसकेको छैन तथापि परिणामको अन्तिम चरण भएको निर्वाचनको परिणामले आगामी राजनीतिको मार्गचित्रको अनुमान गर्न र सम्भावनाको प्रक्षेपण गर्न सुरु भएको छ तर यसैबीचमा हाम्रो राजनीति कति सुसंस्कारित भयो त साढेसातदशक लामो लोकतान्त्रिक यात्रामा यो निर्मम समीक्षाको समय भयो कि भएन ? हो धेरै पटक निरंकुश शक्तिको पञ्जामा पर्दै उम्किँदै गरेको लोकतान्त्रिक अभ्यासले उन्मुक्त वातावरण पर्याप्त मात्रामा पाएको छैन भन्ने तर्क गरेर गल्ती कमजोरी लुकाउने कोशिस गर्नसक्छन् तर त्यस्ता अलोकतान्त्रिक शक्तिसन्गको मुठभेडमा भिडेर पनि सफलता हात पारेको नेतृत्वले संस्कार सिकाउने पाठशाला पाएनऔँ भन्न लाज मान्नुपर्छ ।
किनभने हामीलाई लोकतन्त्र उन्नत र निर्विकल्प छ भनिरहँदा त्यसको शीर्षस्थानमा आसीनहरु यति निर्लज्जतापूर्वक प्रस्तुत हुन शोभा दिँदैन । किनभने निर्विकल्प चीजलाई नेतृत्व स्वयम्ले जहिले पनि जीवन पद्धतिमा रुपान्तरण गर्दै लैजानुपर्छ । त्यस किसिमको आचरण नेतृत्वले अनुशरण गरेन भन्ने आरोप लगाउँदै युवाको नेतृत्वमा अरानीतिक व्यक्तिहरुको दाबी पर्न थालेको छ । यसलाई कसैको षड्यन्त्र देख्ने पाको नेतृत्वको निखारिएको राजनीतिक चिन्तन हुँदै होईन, यो असहिष्णुताको पराकाष्ठा हो ।
निर्वाचन परिणाम आफ्नोपक्षमा नआउने वित्तिकै धाँदली भएको ठान्ने व्यक्ति लोकतन्त्रमा सबैभन्दा अयोग्य हो । यसैगरी आफ्नो उपस्थिति नहुनेबित्तिकै त्यहाँ राजनीतिक अस्थिरता देख्नु पनि राजनीतिक असहिष्णु या असांस्कारिक भएर नै हुनसक्छ । विगतबाट केही नसिक्ने, परिस्थितिको उचित लाभ लिन नसक्ने, जोखिमको सामना गर्न डराउने हो भने खुरुक्क उसैलाई सर्वस्व सुम्पेर सन्यास लिए भै‘गो ।
किन धेरै सहयोगीलाई धोका दिने ? नत्र यो अन्तिम अवसर हो र यस अघिका सबै प्रयासहरु आफ्नो इमानदार प्रयासका परिणाम हुन भन्ने सन्देश प्रवाहित गर्ने गरी नजिकका सहमार्गी, सहकर्मी योद्धाहरुलाई हस्तान्तरण गर्ने अवसरको सदुपयोगमा केन्द्रित भएर यो मुलुकको आर्थिक, सामाजिक भौतिक तथा सर्वपक्षीय समृद्धिको योजना तर्जुमामा लागिहाल्नु पर्छ ।
यो निर्वाचनले एक्लै देश हाँक्ने जनादेश कसैलाई मिलेन । यो अवस्थामा पु¥याएको पनि हिजोका सत्ताधारीले हो । सरकारमा जान खरिदविक्री र राज्यकोषको दोहन हुने गरी मन्त्रालय बढाएर भाग पु¥याउने काम अझै पनि जारी राख्ने हो भने अर्कोपटक व्यक्ति मात्रलाई असर होइन ,व्यवस्था माथि पनि प्रश्न उठ्ने भयो ।
यतिबेला अस्थिरता बढ्ने चिन्ता सँगसँगै संसदको आयुको कुरा उठाउन थालिएको छ । अझै पूर्णाकार प्राप्त गरी नसकेको संसदको आयु तोक्ने काम कसैले नगर्नु नै राष्ट्रहितमा हुनेछ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनको आयु लामो नहुनसक्छ । त्यसमा अन्यथा मान्नु आवश्यकता छैन तर कांग्रेसले आफ्नो घोषणा–पत्र वा प्रतिज्ञापत्रमा पूरै कार्यकाल संसद मर्न नदिने प्रतीज्ञा गरेको कुरामा आम मतदाताको ध्यानाकर्षित भएको छ ।
कांग्रेस जे गर्छ त्यो मात्र बोल्छ भन्नसक्ने नेतृत्वले यो भनाइअनुसार व्यवहारबाट पुष्टि ग¥यो भने कांग्रेसको समर्थनमा लामबद्ध हुने संख्या कल्पना गरेको भन्दा ठूलो हुनेछ तर त्यसका लागि सत्तामोहबाट निर्भयपूर्वक मुक्त हुन आवश्यक छ । जसरी २०७४ को मतपरिणामले बामपन्थीको एकलबहुमत सफल नभएर बीचमै संसद भङ्ग गरियो, त्यसको विरुद्ध जनमतको परिवर्तीत भावनाको मर्म नपछ्याउँदा आज अस्थिरताको आशंका गर्नुपर्ने दिन आयो ।
समयले अवसर जुटाइदिँदा पनि त्यसलाई नचिन्दा अपेक्षाअनुसार परिणाम आएन । फेरि गल्ती भयो भने माफी माग्ने पनि अवसर मिल्ने छैन । किनभने प्रतिबद्धताहरुको औचित्य कतिखेरसम्म रहन्छ त्यो ख्याल नराख्नेले परिवर्तनको ढोङ नगर्नु नै वेश । व्यवस्था बदल्यौँ, त्यसका लागि कति संघर्ष गर्नुप¥यो अवस्था बदल्न त्योभन्दा बढी संघर्ष गर्नुपर्छ । सबैलाई चेतना रहोस् ।