मेरो खुशी : राष्ट्रिय कीर्तिमानको खबर सुन्दा…

  •   
  •  

छोटो समयमै धेरै चर्चा पाउने उदीयमान एथलेटिक्स खेलाडी हुन्, निशा चौधरी । दाङको ग्रामीण क्षेत्रको सामान्य घरपरिवारमा जन्मिएकी चौधरीले खेल क्षेत्रमा सक्रिय भएको ३–४ वर्षको अवधिमा राष्ट्रिय रूपमा चर्चासँगै गोल्डमेडल र नयाँ–नयाँ कीर्तिमानी राख्न सफल भइन् ।

एथलेटिक्स खेलमा अघि बढ्दै गरेकी खेलाडी चौधरीले गत असोज महिनामा गण्डकी प्रदेशको पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौड हिटमा कीर्तिमानी छोडेकी थिइन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाबाट छनोट हुँदै लुम्बिनी प्रदेशको टिमबाट सहभागी भएकी उनले एथलेटिक्सको १०० मिटर महिला दौडको हिट चरणमै निर्धारित दूरी १२.१५ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमानी बनाउँदाको क्षण आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीको क्षण भएको बताइन् ।

‘राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सफलता प्राप्त गरेपछि चर्चासँगै सबैको माया प्राप्त गरेको थिएँ । त्यो सफलता नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि कायम राख्ने गरी तयारी गरेको थिएँ’, खेलाडी चौधरीले भनिन्, ‘त्यही तयारीका कारण पोखरामा भएको एथलेटिक्सको १०० मिटर महिला दौडमा मैले १२.१५ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ कीर्तिमानी राख्न सफल भएँ । त्यो बेला थाहा भएन । पछि हिड्दा साथी र गुरुहरूबाट थाहा पाएको थिएँ । झनपछि फेसबुक खोल्दा ‘एथलेटिक्स १०० मिटर महिला दौडमा निशाको कीर्तिमानी’ भन्ने समाचार देख्दाको क्षण धेरै खुसी लागेको थियो । त्यो क्षण मेरो जीवनको ठूलो खुसीको क्षण हो ।’ उनले भनिन् ।

यस अघि देवीमाया पनेरुको नाममा १२.१९ सेकेण्डको इलेक्ट्रोनिक टाइमको राष्ट्रिय कीर्तिमान रहेको थियो । प्रतियोगितामा सफलता प्राप्त गर्नसँगै रेकर्ड तोड्ने गरी आपूmले तयारी समेत गरेको उनी बताउँछिन् । ‘नवौँ राष्ट्रिय प्रतियोगितामा प्रदेशलाई सफलतासँगै मैले रेकर्ड ब्रेक गर्नुपर्छ भन्ने अग्रज सबैको सुझाव थियो ।

त्यहीअनुसार पद्मा चौधरी गुरुबाट प्रशिक्षण समेत लिइरहेको थिएँ’, उनले भनिन्, ‘सायद त्यही अनुसारको मिहिनेत र अठोटले गर्दा पनि होला मैले रेकर्डब्रेक गर्न सफल भएँ । सोचेकै नतिजा प्राप्त गरेँ ।’ नवौँ राष्ट्रिय प्रतियोगितामा चौधरीले दुई सय मिटरमा गोल्मेडल, सय मिटर, लङजम्प र चार सय मिटर रिलेमा रजत पदक गरी ४ वटा मेडल समेत प्राप्त गर्दाको क्षण पनि आफ्नो जीवनको खुसीको क्षण भएको बताउँछिन् ।

खेल क्षेत्रमा लागेको छोटो अवधिमै उत्कृष्ट क्षमता प्रदर्शन गरिरहेकी चौधरीले नेशनल प्लेयर बन्ने लक्ष्य रहेको बताइन् । ‘खेल क्षेत्रमा जोडिएपछि हरेक खेलाडीको राम्रो प्रदर्शनसँगै नेशनल प्लेयर बन्ने सोच हुन्छ’, उनले भनिन्, ‘त्यो सोच मलाइ पनि छ । त्यही अनुसार पढाइसँगै खेल क्षेत्रमा पनि मिहिनेत गरिरहेको छु ।’ उनले हरेक खेलाडीहरूको लागि सफलता भनेको खुसी हुँदाको क्षण हुने भन्दै आपूmले खेल जीनवमा धेरै सफलता प्राप्त गरेको बताउँछिन । उनले विद्यालयमा हुने प्रतियोगितादेखि राष्ट्रपति रनिङशिल्ड र नवौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको बताउँछिन् ।

तुलसीपुर उपमहानगरपालिका–१६ भेलाही गाउँमा रहेको आधारभूत विद्यालयमा कक्षा ८ पढ्दै गर्दा विद्यालयमा हुने खेलकुद प्रतियोगिताबाट प्रभावित भएर खेल क्षेत्रमा लागेकी चौधरीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितबाट चर्चामा आएकी थिइन् । आर्थिक रूपमा सामन्य घरपरिवार रहेको बताउने चौधरीले घर व्यवहार चलाउनकै लागि बुबा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको बताउँछिन् । ‘म गाउँको सामन्य परिवारमा जन्मिएर पढाइसँगै खेल क्षेत्रमा संघर्ष गरिरहेको छु’, उनले भनिन्, ‘खेल क्षेत्रमा मैले प्राप्त गरेको सफलताबाट मेरो परिवार खुसी हुनुहुन्छ । मलाई यही क्षेत्रमा अघि बढ्न समेत हौसला दिने गर्नुहुन्छ ।’

तुलसीपुरमा रहेको ग्रेट अरनीको माध्यमिक विद्यालयबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएकी चौधरीले जिल्ला, प्रदेश हुँदै काठमाडौंमा भएको प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन् । काठमाडौंमा भएको प्रतियोगितामा गरेको उच्च क्षमता प्रदर्शनका कारण उनी एथलेटिक्सतर्फ जुनियर खेलाडीतर्फ रेकर्ड तोड्न सफल भएकी थिइन् । खेल क्षेत्रप्रतिको मिहिनेत, परिश्रम र लगावका कारण विभिन्न समयमा हुने प्रतियोगिताहरूमा सफलता समेत प्राप्त गर्ने गरेको उनी बताउँछिन् ।

पछिल्लो समय आपूm सहभागी भएका अधिकांश प्रतियोगितामा स्वर्ण पदक जित्ने गरेकी चौधरीले खेल क्षेत्रमा पाएको सफलताबाट आपूm मात्रै नभएर घरपरिवार, गुरुहरूसँगै साथीहरू समेत खुसी भएको बताउँछिन् । ‘बुबाआमा मात्रै नभएर साथी तथा स्कूलका गुरुहरूले समेत अहिले खेल क्षेत्रलाई नछोड्नु तिम्रो राम्रो सम्भावना छ भन्नुहुन्छ’, उनले भनिन्, ‘खेल क्षेत्रको सफलताप्रति सबैको माया र सुझाव पाउँदा खुसी समेत लाग्ने गरेको छ । ’

तुलसीपुर उमनपा–१६ भेलहीमा बुबा लछिराम चौधरी र आमा चैती चौधरीकी कान्छी छोरीका रूपमा २०६२ साल कार्तिक १६ गते जन्मिएकी चौधरीका दुई दिदी र एक भाइ रहेका छन् । कक्षा १२ पास गरेर स्नातक तह अध्ययनको तयारीमा रहेकी चौधरीले दीपेन्द्र माध्यमिक विद्यालय मानपुरबाट माध्यमिक तह पास गरेकी थिइन् ।

प्रस्तुती : लिाधर वली