प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब चार दिनमात्रै बाँकी छ । निर्वाचनको दिन नजिकिँदै गर्दा गठबन्धनलगायतका विभिन्न पार्टीका उम्मेदवार चुनावी प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा पुग्दै आफ्नो पक्षमा मत मागिरहेका छन् । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी चुनावी प्रतिस्पर्धामा छन् ।
विद्यार्थी राजनीतिबाट उदायका गिरी नेपाली कांग्रेसका प्रभावशाली नेताका रूपमा परिचित छन् । २०७० सालमा संसदमा निर्वाचित भएर पश्चिम दाङको विकासका लागि सिंचाइ, सडक, शिक्षालगायतका क्षेत्रमा काम गरेका गठबन्धनका साझा उम्मेदवार दीपक गिरीसँग दाङलाई समृद्ध बनाउन के गर्नुपर्छ भन्ने विषयको पेरिफेरिमा रहेर गोरक्ष राष्ट्रिय दैनिकको साप्ताहिक सातावार्ताका लागि गरिएको कुराकानीको सार संक्षप ।
यस पटकको चुनावमा तपाईंका मुख्य एजेण्डा के–के हुन् ?
खास गरी जनजीविकाका सवाल नै मेरा एजेण्डा हुन् । पूरा गर्न नसक्ने, झुठा वाचा मैले मेरो राजनीतिक जीवनमा कहिल्यै गरिनँ । मेरा त्यति ठूला र पूरा हुन नसक्ने योजनाहरू छैनन् । मेरा एजेण्डाहरू खास गरी शिक्षा, स्वास्थ्य, सिंचाइ, सडक, विद्युत र रोजगारी नै हन् । म सिंचाइमन्त्री हुँदा छोटै समयमा पनि जिल्लामा सिंचाइ क्षेत्रमा जुन विकास भयो, त्यसले समग्र कृषि उत्पादनमा टेवा पुगेको छ ।
अझै जिल्लाका कतिपय स्थानमा सिंचाइको समस्या कायमै छ । यसलाई पूरा गर्नुछ । दङाली उर्वर भूमिमा कृषिको सम्भावना छ । यहाँका थारु दाजुभाइ तथा दिदीबहिनीको मुख्य पेसा नै कृषि हो । हामी पनि कृषक हौँ । तसर्थ, कृषि क्षेत्रको विकासमा टेवा पुग्ने विश्वासका साथ कृषिलाई आधुनिकीकरण गरी आय आर्जनमा वृद्धि गर्न कृषिका लागि आवश्यक सिंचाइलगायतका पूर्वाधार, उपयुक्त बजारको व्यवस्थालगायत नीतिगत कुराहरू मेरा एजेण्डा हुन् ।
यो क्षेत्रको विकासका लागि तपाईंहरूका साझा कार्यक्रम बताइदिनुस् न ?
गठबन्धनका साझा कार्यक्रमहरू पनि जनजीविकासँगै जोडिएका छन् । शिक्षा, स्वास्थ्य, कृषि प्रसार सेवा, खानेपानी तथा सरसफाईलगायतका गरिबी निवारणसम्बन्धी सार्वजनिक सेवाहरूमा समावेशी पहुँच सुनिश्चित गर्नु, रोजगारीका अवसरहरू तथा बजारमा पहुँच सुनिश्चित गर्न सहरी तथा ग्रामीण विकास प्रबद्र्धन गर्नु, साना तथा मझौला उद्योग र पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने, सीप विकास तालिममार्फत् आय आर्जनका कार्यक्रम, उद्यमशीलताको विकास, स्वावलम्बी समूह गठन गर्ने र लघुवित्तलगायतका वित्तीय सेवाहरूमा तिनको पहुँच पु¥याउनेलगायतका कार्यक्रम छन् ।
प्रदेश तहमा रहेको प्रदेश विकास प्राधिकरणलाई समग्र राप्ती उपत्यका भालुवाङ क्षेत्रमा नव निर्माण हुने प्रदेश राजधानी क्षेत्रलाई पुरातात्विक नेपालकै नमुना प्रदेश राजधानीको रूपमा विकास गर्नु, आधारभूत तथा माध्यमिक तहसम्मको साधारण, प्राविधिक तथा व्यावहारिक शिक्षालाई निःशुल्क, महेन्द्र मावि तुलसीपुरलाई मेगा विद्यालयको रूपमा स्थापना गर्ने प्रक्रिया थालनी, पश्चिम क्षेत्रको गौरवको रूपमा रहेको सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पसको स्तर वृद्धि सहित आधुनिक क्याम्पसको रूपमा विकास, पालिकाहरूमा सीपमूलक तालिमको लागि सीप विकास केन्द्र स्थापना, सबै विद्यालयहरूमा इन्टरनेट सुविधासहित प्राविधिक शिक्षाको विकास, सबै विद्यालयमा खेलकुद शिक्षकको व्यवस्था, पाँच वर्षभित्र सामुदायिक विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्रको रूपमा स्थापना गर्नेछन् ।
मेडिकल कलेज दाङमा, त्यो पनि क्षेत्र नं ३ मै खुल्ने भन्ने सम्भावना के छ ? यो तपाईंहरूको सस्तो प्रचारबाजी मात्रै त होइन नि ?
स्वास्थ्य क्षेत्रमा दाङमा धेरै काम गर्नु छ । अझै पनि यहाँका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू सामान्य उपचारका लागि समेत नेपालगञ्ज र लखनऊ जानुपर्ने बाध्यता छ । त्यसैले स्वास्थ्य क्षेत्रको विकाससँगै मेडिकल कलेज पनि जोडिएको छ । यो यहाँको आवश्यकता हो । उसो त गाउँपालिका स्तरमा रहेका स्वास्थ्य केन्द्रलाई सुविधायुक्त बनाउनु, राप्ती प्रादेशिक अस्पताललाई सुविधायुक्त बनाउन पनि मैले काम गर्नेछु ।
तपाईँले टरिगाउँ विमानस्थल स्तरोन्नतिको कुरा गर्नुभएको छ, गठबन्धनले सरकार बनायो भने यो विमानस्थलको लागि के गर्छ ?
हामी अहिले पनि टरिगाउँ विमानस्थल स्तरोन्नतिको सवालमा गम्भीर भएर लागिपरेका छौँ । जिल्लामा छुट्टै विमानस्थल भन्दा पनि भएका संरचनालाई स्तरोन्नति गर्दै राज्यको व्यय भार कम गर्दै विकासका कार्यभारहरू अघि बढाउनुपर्दछ भन्ने हाम्रो मान्यता हो । टरिगाउँ एयरपोर्टमा नियमित रूपमा ठूला प्लेन चलाउने योजना रहेको छ । अहिले रनवे सानो हुँदा साना मात्रै प्लेनले उडान भर्दै आएका छन् ।
गठबन्धन सरकारले एयरपोर्टभित्र सुधारका काम गरिरहेको छ । टर्मिनल भवनको ठेक्का प्रक्रिया अघि बढेको छ भने फ्युल सेण्टर निर्माणको काम पनि अघि बढ्छ । दाङका मानिसलाई प्लेन चढ्नका लागि नेपालगञ्ज र भैरहवा जाने अवस्थाबाट मुक्त गराएर यहाँको पयर्टनलाई अघि बढाउन सकिन्छ । रनवे विस्तारका लागि हामीसँग पर्याप्त जग्गा छ । यहाँका मानिस पनि मुआब्जा दिएपछि आफ्नो जग्गा छोड्न तयार छन् । तुलसीपुरमा पहिला नै संरचना बनिसकेकाले अहिलेको अवस्थामा ८ किलोमिटर टाढा रहेको नारायणपुरमा एयरपोर्ट बनाउने योजना राज्यका लागि व्यय भार मात्र हो ।
शैक्षिक बेरोजगारी दाङमा एउटा प्रमुख समस्याको रूपमा देखिएको छ, तपाईं जितेर जानुभयो भने रोजगारी सिर्जना गर्न के कदम चाल्नुहुन्छ ?
रोजगारीका अवसरहरू तथा बजारमा पहुँच सुनिश्चित गर्न सहरी तथा ग्रामीण विकास प्रबद्र्धन गर्ने, साना तथा मझौला उद्योग र पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने, सीप विकास तालिममार्फत् आय आर्जनका गतिविधि सहजीकरण गर्ने, उद्यमशीलताको विकास, स्वाबलम्बी समूह गठन गर्ने र लघुवित्तलगायतका वित्तीय सेवाहरूमा तिनको पहुँच पु¥याउने, वैदेशिक रोजगारीबाट फर्किएका, विदेशमा पढेर वा सेवा प्रदान गरेका उच्च र दक्ष जनशक्तिसँग रहेको सीप, अनुभव र स्रोत परिचालन गरी उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ । कांग्रेस पार्टी र गठबन्धनको प्रतिबद्धताअनुसार दाङमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने कामलाई मैले उच्च प्राथमिकता दिनेछु ।
तपाईं सिंचाइमन्त्री हुँदा सुरु भएका कतिपय आयोजना अझै पनि पूरा हुनसकेका छैनन्, ती आयोजना पूरा गर्ने तपाईंको योजना के छ ?
सिंचाइमन्त्री हुनुपूर्व सांसद हुँदा पनि मेरो निर्वाचन क्षेत्रमा मैले धेरै विकासका योजनाहरूको लागि बजेट व्यवस्था गरी कार्यान्वयनमा ल्याइसकेको थिएँ । दामोदर सडकखण्डमा पातुखोलाको मोटरेवल पुल, मैयाखोलाको मोटरेवल पुल, चिरेगाड खोलाको मोटरेवल पुल, फुर्केसल्ली बालापुर मख्खनटाकुरी सडकखण्डमा बबई नदीमा बैबाङ्ग गोलटाकुरी बाकीको मोटरेवल पुल, मलई कोरबाङ जुम्लेकुला सुन्दरादेवी भगवती मन्दिर सडकखण्डमा बबई नदीमा ढोलपुर मठेउराको मोटरेवल पुल, तुलसीपुर कटकुइयाँ सडकखण्डमा गहते खोलामा कटकुइयाँ नयाँबस्ती मोटरेवल पुलजस्ता योजनाहरू टेण्डर गरेर निर्माण प्रक्रियामा गइसकेका थिए भने शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा, पुनःनिर्माण, क्षेत्रमा भौतिक निर्माण
तथा प्राविधिक क्षेत्रका योजनाहरू पनि म मन्त्री हुनु पहिले नै कार्यान्वयनमा आइसकेका थिए । यद्यपि फरक यति छ म सांसद मात्र हुँदा मैले मेरो जिल्ला, निर्वाचन क्षेत्रका योजनाहरूलाई प्राथमिकता दिएको थिएँ तर मन्त्री भएपश्चात् राष्ट्रिय रूपमै विकासका योजनाहरू कार्यान्वयनमा ल्याउन समर्पित भएको हुँ । म सिंचाइमन्त्री भएपश्चात्, बृहत दाङ उपत्यका सिंचाइ आयोजना, रूपाताल संरक्षण आयोजना कास्की, जोखिमयुक्त पहिरो नियन्त्रण आयोजना ललितपुरलगायत विविध परियोजना र आयोजनाका स्थापना गरी कार्यान्वयनमा ल्याएँ । गुरूयोजना बनाएर पश्चिम राप्ती नदी, बबई नदीलगायत दाङ जिल्लाका अन्य खोलाहरूको तटबन्ध गरी जग्गा जमिन तथा मानव बस्तीहरूको संरक्षण गर्न तटबन्धका योजनाहरू कार्यान्वयनमा ल्याउने कार्य भएका हुन् ।
मेरो कार्यकालमा सिंचाइको लागि ठाउँ–ठाउँमा नहरहरू, जलाशयहरू, डिपबोरिङ निर्माण गरिए । सडकहरू निर्माण तथा कालोपत्रेका केन्द्रीय योजनाहरू सुचारू भए । हापुरे कोहलपुर सडक, सुकौरा चरकमटिया सडक, बंगलापुर फुर्केसल्ली मलइ सडक, दोघरे प्रतापकोट मख्खनटीकुरी सडक, पवननगर हेल्थपोष्टदेखि सुकेकोट मन्दिर सडकजस्ता केन्द्रीय सडकहरू मैले सुरूवात गरेको थिएँ । दाङ उपत्यकामा १७२ वटा सिंचाइ योजनाहरू कार्यान्वयनमा आएका छन् । जसमध्ये १०३ वटा सिंचाइ योजनाहरू दाङ क्षेत्र नं. ३ मा पर्छन् ।
नेकपा एमालेकी एक लोकप्रिय नेतृ तपाईंकी प्रतिद्वन्द्वी हुनुहुन्छ, यसलाई कसरी हेर्नुभएको छ ?
म निरन्तर सक्रिय राजनीतिमा होमिएको, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित एक सच्चा सिपाही हुँ । मैले आफ्नो उर्जाशील समय दाङको समृद्धि र आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीको जीवन स्तर माथि उठाउनमै समर्पित गरेको छु । म एक÷दुई दिनको लागि राजनीतिमा आएको होइन । राजनीतिक रूपमा म अविचलित, अविछिन्न रूपमा आफ्नो कर्म गर्ने व्यक्ति हुँ ।
चाहे वि.सं. २०३० सालमा १३ वर्षकै उमेर तुलसीपुर स्थित महेन्द्र माविबाट गिरफ्तारीमा परेको घटना होस् वा अञ्चलाधीशको ठाडो आदेशमा पटक–पटक हिराशतमा परेको प्रसङ्ग नै किन नहोस्, यस्तै वि.सं २०६२÷०६३ मा काठमाडौंको गंगबुमा जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रसङ्ग नै किन नहोस् यी सबै घटनाक्रमसँग प्रजातन्त्र र लोकतन्त्र नै जोडिएको छ । त्यस बाहेक मैले आजसम्म प्रतिनिधिसभामा एकपटक प्रतिनिधित्व गर्ने अवसर पाएँ र म छोटो समयका लागि मन्त्री पनि भएँ । त्यो छोटो समयमा मैले विकासको दृष्टिबाट के–के गरें दङाली जनतासमेत जगजाहेर नै छन् । म र वलीबीचमा कसलाई र किन रोज्ने भन्ने बारेमा दाङ क्षेत्र नं. ३ का आदरणीय मतदातामा कुनै द्विविधा छैन ।
तपाईं यो क्षेत्रबाट विजयी हुने आधार के–के छन् ?
प्रतिनिधि सभामा दीपक गिरीको बलियो उपस्थितिले जिल्लाको वृहत्त विकासमा धेरै अर्थ राख्दछ भन्ने कुरा आम दाङबासीले महसुस गर्नुभएको छ । वि.सं. २०७४ को निर्वाचनमा मेरो अनुपस्थितिले सिङ्गो जिल्लालाई नोक्सान पुग्यो भन्ने कुराको महसुस आम दङालीलाई भएको छ । यसपटक दङाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीले प्रतिनिधिसभामा जिल्लागत बलियो उपस्थितिको अपेक्षा पनि गर्नुभएको छ । यो सँगै जुन लक्ष्य र उद्देश्यका साथ हाम्रो साझा गठबन्धन बनेको छ यो पनि चुनावमा विजयी हुने प्रमुख आधार हो । साझा गठबन्धनको तर्फबाट प्रदेशसभामा प्रदेश सरकारकै नेतृत्व गर्नसक्ने सम्भावना भएका नेताहरू दाङ जिल्ला क्षेत्र नं ३ (१) मा डिल्लीबहादुर चौधरी र दाङ क्षेत्र नं. ३(२) मा धनबहादुर मास्की (राजेश) साझा उम्मेदवार हुनुहुन्छ ।