आम निर्वाचन–२०७९ : बहालवालादेखि पूर्व मन्त्रीसम्म प्रतिस्पर्धामा

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, २७ कार्तिक । निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी माहोल बढ्दै गएको छ । उम्मेदवारहरू प्रचारप्रसारदेखि मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि घरदैलो तथा सभा÷सम्मेलन गरेर मतदाताकाबीच एजेण्डाहरू राख्ने गरिरहेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा क्षेत्र रहेको दाङमा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू चुनावी प्रतिस्पर्धामा छन् । संघीय सरकारका बहालवाला मन्त्री मेटमणि चौधरीदेखि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलसम्म चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा ४३ जना उम्मेदवारहरू छन् ।

दाङ क्षेत्र नं. १ मा पूर्व सहकर्मीबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यो क्षेत्रमा प्रतिनिधिसभाका लागि १२ जना उम्मेदवारहरू रहे पनि सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरी चुनावी प्रतिस्पर्धामा रहेका छन् । थारू बाहुल्य क्षेत्र भएको र स्थानीय तह निर्वाचनका आधारमा मुख्य दल कांग्रेसको उम्मेदवार नभएकाले थारू समुदायका अन्य उम्मेदवार प्रतिस्पर्धामा आउनसक्ने समेत अनुमान गरिएको छ ।

त्यस्तो अवस्थामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी पूर्व सांसद गंगा चौधरी, संघीय लोकतान्त्रिक मञ्च थरुहटबाट उम्मेदवार बनेकी पूर्व सांसद रुक्मिनी चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका सुरेन्द्र चौधरीको पनि चर्चा हुने गरेको छ । संघीय सरकारका बहालवाला सहरी विकासमन्त्री समेत रहेका मेटमणि दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालमा एमालेबाट निर्वाचन जितेर संसद बनेका चौधरीलाई माओवादीको पनि त्यो बेला साथ थियो तर अहिले एमाले छोडेर मेटमणि एकीकृत समाजवादीबाट निर्वाचन लड्दै छन् भने उनी विरूद्ध एमालेले उम्मेदवार शान्ता चौधरीलाई उठाएको छ ।

२०६४ र २०७४ मा समानुपातिक सांसद बनेकी शान्ता २०७० मा दाङ क्षेत्र नं. २ मा कांग्रेसकी उम्मेदवार सुशीला चौधरीसँग पराजित भइन् । प्रतिनिधिसभामा एमालेको सचेतकको भूमिका समेत निर्वाह गरेकी चौधरीका लागि प्रत्यक्ष निर्वाचन लडेर संसद बन्ने अवसर छ तर उनका लागि विगतमा आफ्नै पार्टीका सहकर्मी मेटमणिलाई हराउनुपर्ने छ । यस क्षेत्रमा मेटमणिलाई कांग्रेस र माओवादीको साथ छ ।

क्षेत्र नं. १ मा स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले २÷२ वटा स्थानीय तह प्रमुख जितेका छन् । क्षेत्र नं. १ मा एक लाख ३४ हजार ७०३ जना मतदाता छन् । स्थानीय तह निर्वाचनका आधारमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्षहरूले प्राप्त गरेको मत ५० हजार ३६७ छ । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको मत २७ हजार २५ मात्रै छ । सत्ता गठबन्धन एमालेभन्दा २३ हजार ३४२ मतले अगाडि रहेको छ ।

जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमध्ये यसपटक सबैको ध्यान क्षेत्र नं. २ मा छ । यो क्षेत्रबाट नेकपा एमाले महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल निर्वाचन जितेर दोस्रो पटक संघीय संसद् बन्ने प्रयासमा छन् । २०५१ सालमा दाङ क्षेत्र नं. २ बाट कांग्रेसका दीपक गिरीलाई हराएर पहिलो पटक संसद् बनेका पोखरेल त्यसपछि निर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बन्न सकेका छैनन् । उनी २०५६ मा त्यही क्षेत्रमा कांग्रेसका उम्मेदवार कृष्णकिशोर घिमिरेसँग पराजित भएका थिए ।

२०६४ मा समानुपातिक सांसद बनेका उनी २०७० मा दोस्रो पटक दाङ क्षेत्र नं. ४ मा कांग्रेसकै उम्मेदवार बुद्धिराम भण्डारीसँग पराजित भएका थिए । त्यसपछि २०७४ मा एमाले र माओवादीका साझा उम्मेदवार बनेका पोख्रेल दाङ क्षेत्र नं. २(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पोख्रेल लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेका उनी चौतर्फी प्रतिकूलताबीच प्रदेश राजधानी बुटवलबाट दाङ सार्न सफल भएका थिए ।

संघीय सरकारले तोकेका ७ वटा प्रदेशका अस्थायी राजधानीमध्ये ६ वटा साविककै स्थानमा रहेका बखत पोखरेलले मात्रै राजधानी गृहजिल्ला सार्नसकेका हुन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ एवम् पूर्वमन्त्री रेखा शर्मालाई साथ छ । शर्मा २०७० मा समानुपातिक सांसद भएर सामान्य प्रशासनमन्त्री बनेकी थिइन् भने २०७४ मा पनि समानुपातिक सांसद बनेकी थिइन् । दुईपटक संसद र एकपटक मन्त्री भइसकेकी शर्मा पहिलो पटक प्रत्यक्ष निर्वाचनमा लड्दै छिन् । क्षेत्र नं. २ म पोख्रेल र शर्मासँगै १४ जना प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरू छन् ।

दाङ क्षेत्र नं. २ मा पर्ने घोराही उपमहानगरपालिका एमालेले जितेको छ । बंगलाचुली माओवादी र कांग्रेस गठबन्धनले जितेको छ । १ लाख ३३ हजार मतदाता रहेको क्षेत्र नं. २ मा गत बैशाख ३० गते भएको स्थानीय तहमा कांग्रेस र माओवादीका वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा एमालेभन्दा सत्ता गठबन्धन अगाडि छ । गठबन्धनका दलहरूको कूल मत ३६ हजार ७२१ छ भने एमालेको ३३ हजार ५९३ रहेछ ।

स्थानीय तहमा प्राप्त गरेको मत आधारमा दाङ क्षेत्र नं. ३ गठबन्धन तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक गिरीको सहज छ । क्षेत्र नं. ३ अन्तर्गत पर्ने चारवटा स्थानीय तहमध्ये कांग्रेसले बबई गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकामा जित हाशिल गरेको छ भने एमालेले तुलसीपुर उपमहानगरपालिकामा मात्रै जित निकालेको छ ।

क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट स्थानीय तहमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षहरूले ल्याएको ४२ हजार ७३ मत छ भने एमालेका वडाध्यक्षले ३६ हजार ५ सय ९ मत ल्याएका छन् । वडाध्यक्षहरूले पाएको मतलाई नै आधार मान्ने हो भने यहाँ एमालेभन्दा गठबन्धन ५ हजार ५ सय ६४ मतले अघि छ । क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि १७ जना उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धा गिरी र एमाले उम्मेदवार कोमल वलीबीच हुने मतदाताको अनुमान छ ।

२०७० सालमा एमालेका स्वर्गीय उत्तरकुमार वलीलाई पराजित गरी संसद बनेका गिरी सिंचाइ मन्त्री बनेका थिए तर २०७४ सालको निर्वाचनमा एमाले–माओवादीका उम्मेदवार हिराचन्द्र केसीसँग पराजित भएका थिए । गिरी २०५१ र २०६४ मा पराजित भएका थिए । गिरीको यो पाँचौ चुनाव हो । क्षेत्र नं. ३ मा एमाले केन्द्रीय सदस्य कोमल वली छिन् । राष्ट्रियसभा सदस्य बनेकी वली पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्दैछिन् । उनी राजनीतिसँगै गीतसंगीतका माध्यमबाट जनतामाझ परिचित छिन् ।