सफा पहिरनमा लुकेको कालो नियत

के.पी.सुवेदी
एकथरि मानिस आफूले राम्रो काम गरेर देखाउनुभन्दा अरुको दोष औल्याएर बुद्धिमान बन्ने दौडमा व्यस्त हुने गर्छन् । यस्ता मानिसले अरुबाट केही सिक्नुपर्छ भन्नेसम्म पनि हेक्का राख्दैनन् या ढोङ गर्छन् । उनीहरु अरुभन्दा उन्नत चेतनाले युक्त छु भन्ने ठान्ने हुँदा अरुको क्षमता र योग्यतामा समेत प्रश्न गर्छन् ।

यस किसिमको व्यवहार गर्ने मानिसहरु राजनीतिमा प्रवेश गरेको छ र उसले कुनै दलको नेतृत्व गर्ने स्थानमा पुगेको छ भने त्यस्तो राजनीतिक दल जनतामा जाँदा त्यहाँ त्यस्तै नेतृत्वको प्रतिबिम्ब देखिएको महसुस गर्न बाध्य हुन्छन् । आज राजनीतिक विश्लेषण गर्नेहरुले आफ्नो विश्लेषण लेखनमा विशेष गरेर लेखिरहेको देख्दा र राजनीतिक विकृतिको ठूलो परिमाण थुप्रिरहँदा ‘काग कराइरहन्छ पिना सुकिरहन्छ’, भनेझैँ राजनीतिक नेतृत्वको कानमा बतास लागेको हुँदैन । मुलुकको सर्वाङ्गीण विकास र समृद्धिको कुरा गर्नेले विकासका प्राविधिक अवयवहरु धेरै थरिका विज्ञहरुको ज्ञान, सीप र अनुभवबाट जन्मेका हुन्छन् भन्ने बुझेर उनीहरुलाई सहभागी गराएर निर्णयमा पुग्नुपर्नेमा त्यति गर्न पनि बुद्धि पु¥याएको देखिन्न ।

राजनीतिलाई फोहरीखेल भन्ने युक्ति त गलत छ तर भएको के हो भने राजनीति होइन राजनीतिज्ञहरु फोहोरी भएकोले उनीहरुले आफ्नो बचाउ गर्न राजनीतिलाई दोष दिने गर्छन् । वास्तवमा राजनीति व्यापारी र दलालहरुको हातमा पुग्दा यसरी धुमिलिएको हो । यदि यसलाई मानवकल्याण र सेवाको उद्देश्यले अनुसरण गर्नसके यसको महत्व बढ्न थाल्छ । हाम्रो मुलुकको सन्दर्भमा भन्नुपर्छ, राजनीति यति वदनाम भएको छ तर जनताले आफ्नो अधिकारको प्रत्याभूत गर्ने माध्यम हो भन्ने कुरा धेरै उदाहरणबाट प्रष्ट्याउन पनि हिच्किचाउनुपर्ने अवस्था आइसक्यो ।

राज्यको शासन संयन्त्र जनताको मातहतमा ल्याउन गरिएको ठूल्ठूला संघर्ष र बलिदान जुन आह्वानमा आँधिबेहरी बनेर उदायो र ठूल्ठूला महलका महाराजाहरुको शिंहासन डगमगाउने गरी हल्लाउँदै उखेलेर फ्याँक्दै ग¥यो त्यो हो राजनीतिको मूल मर्म । ती फ्याँकिएका जनद्रोहीहरुलाई किनारामा राखेर जानुपर्नेमा उनीहरुलाई काखी च्याप्ने काम राजनीतिकर्मीहरुले गर्न थाले एक किसिमको प्रतिस्पर्धा । त्यसैका लागि हुन लागेपछि आजको अवस्था सिर्जना भयो ।

आजकल धेरै राजनीतिक विश्लेषकहरुको विश्लेषणले फेरि राजनीतिक रुप धारण गर्न खोजेको छ । विशेष गरी आफूलाई प्रजातन्त्रको पहरेदार ठान्दै आएको नेपाली कांग्रेसको वर्तमान नेतृत्वले अख्तियार गरेका नीतिगत निर्णयहरु र त्यसले पार्टीको छविमा पर्नसक्ने नकारात्मक असरका बारे गम्भीर चासो एवम् चिन्ताको सरोकार रहेको छ । उनीहरु कांग्रेसको राजनीतिमा सक्रिय भूमिकामा जीवनको उर्जाशील समय सम्पूर्ण रुपमा अर्पित गरेका छन् ।

व्यक्तिगत लाभका लागि नभइ जनताले व्यहोरेका विविध अभाव र अस्तव्यस्त जीवन यापन बदल्ने संकल्पले ओतप्रोत हुँदै आफूलाई राजनीतिक यात्रामा सरिक गराएका हुन् । आज जे नहुनुपर्ने भनिन्थ्यो त्यही कुरा अर्थात् जनतालाई झुक्याउने खेल खेल्ने प्रयास भइरहँदा बोल्नुपर्नेले नबोलिदिए कसले बोल्ला ? जनता र प्राप्त उपलब्धिमा घात हुँदैगरेको कुरा ।

यदि बुझ्नेले नबोल्ने हो भने दलको विकल्प निर्दल अथवा स्वतन्त्र भनेर सफा पहिरनमा कालो कर्तुत लुकाएर उम्मेदवारको मखुण्डो भिरेकाहरु हाबी हुने अवस्था आयो भने अनौठो नमाने हुन्छ । अहिले केही नेताहरुले स्वतन्त्र भनेर प्रस्तुत भइरहेका केही उम्मेदवारको बारेमा अलि चासो बढाएको पाइन्छ तर समयले नेटो काटेपछि थाहा पाएर त्यसको अर्थ छैन । जतिबेला जनताले शुभेच्छुक समर्थकले पार्टी गुहार्दै थिए त्यसबेला नेतृत्व तानाशाहको भेषमा प्रस्तुत भएका हुन्थे ।

केही पाका पुराना नेताहरुले म अब अन्तिम पटक भनेर भोट मागिरहँदा जनताको नजरमा उनीहरु लागूपदार्थको दुव्र्यसनी जस्तै देखिरहेका होलान कि जस्तो पनि लाग्न थालिसक्यो । जसरी एउटा लागूऔषध दुव्र्यसनीले लतबाट बाहिर निस्कन नसकिरहेको हुन्छ र आज मात्र सेवन गर्छु, भोलिबाट त म यसलाई छुँदै छुन्न भन्छ तर के गर्नु भोलिपल्ट तलतल उस्तै हुन्छ अनि फेरि भाका सारेर भोलि भन्छ ।

एवम् रीतले भाका सार्दासार्दै सम्पत्ति र शरीरको एकैपटक अवशान हुनपुग्छ तर राजनीति दुव्र्यशन होइन तथापि त्याग र बलिदानले इतिहास रचेकाहरुले जनता र आफ्नै सहयोद्धाहरु बिर्सिरहेको क्षण अनि अर्कोपट्टि परिवर्तनका लागि सिन्को नभाँचेका अवसरवादी एवम् भ्रष्ट तत्वहरु सल्बलाइरहेको अवस्था हेर्दा आजको नेतृत्व दुव्यसनीझैँ किन हुन खोज्यो ? भन्ने एउटा जिज्ञासा जन्मिन्छ । ती भूइँफुट्टा र परिवर्तनका बाधक बनेर उभिएका प्रतिगमनका योजनाकारहरु नेतृत्वको त्यही कमजोरीमा खेलिरहेका छन् ।

धमिलो पानीमा माछा मार्ने कुत्सित नियत राखेर राजनीतिक यात्रा तय गरेकाहरु देश बदल्न होइन भेष बदल्न सिपालु हुन्छन् । तिनीहरुलाई भ्रमको खेती नगर्न र जनतालाई विचलित नहुन निःस्वार्थ देश सेवामा समर्पित हुनेहरुले खबरदारी गर्नुपर्ने बेला आएको छ तर कसरी गर्ने ? नेतृत्वहीन चरित्रको विकास हुँदै गइरहेको बारे नीति र विधिले चल्नुपर्छ भन्नेहरुलाई उल्टो डा‘टफटकार गर्दैछन् ।