अन्धोपन न्यूनीकरणका लागि साझेदारी गर्ने
बालाराम खड्का
तुलसीपुुर, २२ कार्तिक । अन्धोपन न्यूनीकरण गर्न दाङ जिल्लाका दशवटै स्थानीय तह आँखा स्वास्थ्य कार्यक्रम सञ्चालनको लागि साझेदारी गर्न तयार भएका छन् । नेपाल नेत्रज्याति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज एनएबीपी नर्वेअन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार बैठकमा सहभागी स्थानीय तहका प्रमुख तथा उपप्रमुखले उज्यालो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा सहभागीहरुले नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले दिएको सेवाहरु प्रभावकारी भएको भन्दै सबै सेवाहरु यहीँबाट दिनुपर्ने बताएका थिए । सहभागीहरुले राप्ती आँखा अस्पताल, लमही आँखा अस्पतालले दाङलगायत अन्य जिल्ला र छन्द काले–बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कपिलबस्तु र छिमेकी जिल्लाका आँखा रोगीहरुलाई सर्वसुलभ सेवा दिएको बताएका थिए ।
कार्यक्रममा बोल्दै समन्वय समितिका प्रमुख शर्माले सबै गाउँपालिकाहरु र नगरपालिका र स्थानीय नियकाले संघद्वारा सञ्चालित अस्पतालहरुको विकास र विस्तारमा सहयोग गर्नुपर्ने बताए । ‘दाङका जनताहरु अब आँखा उपचार सेवाका लागि कहीँ जानुपर्दैन अब यही अस्पतालहरुलाई सुविधासम्पन्न गराउन हामी लाग्नुपर्छ’, प्रमुख शर्माले भने । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले सर्वसुलभ र गुणस्तरीय सेवा आँखा अस्पतालले दिएको भन्दै अन्धोपन न्यूनीकरणमा आफूहरुले विगतमा पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग हुने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन, दंशीगरण गाउँपालिकाका अध्यक्ष शम्भु केसी, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, राजपुर गाउँपालिकाका अध्यक्ष धनपति यादव, शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीले आँखा उपचारसम्बन्धी कार्यक्रममा साझेदारी गर्न तयार रहेको बताएका थिए । दाङ जिल्लाका सबैजसो स्थानीय तहमा उज्यालो कार्यक्रम लागू भएको छ ।
विगत दुई बर्षदेखि यो अभियानले निरन्तरता पाएको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले आँखा स्वास्थ्य सेवालाई एकीकृतरुपमा सञ्चालन गर्ने स्पष्ट पारेको छ । सोही नीतिमा आधारित भएर दाङ जिल्लाका दशवटै स्थानीय तहमा उज्यालो कार्यक्रम सञ्चालन गरिएको अस्पतालका प्रमुख प्रशासक शम्शेर थापाले जानकारी दिए । ‘यो कार्यक्रम सुरुमा तुलसीपुर उपमहानगरपालिकाबाट लागू भएको र अहिले जिल्लाका सबैजसो पालिकामा चलिरहेको छ’, थापाले भने– ‘वडास्तरमा निःशुल्क आँखा उपचार शिविर चल्दै आएको र मोतियाविन्दुको निःशुल्क शल्यक्रिया पनि हुँदै आएको समेत बताए ।’
दाङ जिल्लामा १ हजार ४ सय बढीमा विभिन्न प्रकारको अन्धोपन रहेको ¥याव सर्भेले देखाएको थियो । सर्भेको नतिजाको आधारमा उज्यालो कार्यक्रम लागू गरिएको हो । स्थानीय सरकारको साझेदारीमा भौतिक पूर्वाधारमा समेत लगानी जुटेको छ । तुलसीपुर उपमहानगरपालिकाले हालसम्म करिब २ करोड बजेट लगानी गरेको छ भने हाल लमही नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । गढवाले १५ लाख र राजपुर गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेका छन् । ३५ बर्षदेखि अन्धोपन निवारणको लागि आँखा स्वास्थ्य कार्यक्रम चलिरहेको छ ।
दाङ जिल्लाका दशवटै स्थानीय तहमा एकीकृत आँखा उपचार केन्द्र स्थापनाको पहल सुरु भएको छ । हालसम्म जिल्लामा दुईवटा आँखा अस्पताल र एउटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । तुलसीपुरमा राप्ती आँखा अस्पताल र लमहीमा लमही आँखा अस्पताल छ । गढवा गाउँपालिका–८ कोइलावासमा आँखा उपचार केन्द्र छ । अब घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिकाको भालुबाङ, गढवा र राजपुरमा आँखा उपचार केन्द्र विस्तारको योजना रहेको छ ।
विकट तथा दूरदराजको क्षेत्रमा आँखा उपचार सेवा पु¥याउने योजना रहेको नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए उनले सवैको साथ र सहयोगबाट विशेषज्ञ सहितका विभिन्न सेवाहरु गाउँघरमै दिएको बताए । उनले नेपाल नेत्रजयोति संघ एउटा परोपकारी संस्था भएको भन्दै अन्य संस्थाजस्तो नभएको बताए ।
कार्यक्रममा एनएवीपीको प्रयोजना व्यवस्थापक सुरेखा गुरुङले एनएवीपी नर्वेबाट हुने सहयोगलाई बढाउन आफुले पहल गर्ने बताइन् । उनले यहाँका आँखा अस्पतालहरुले दिएका सेवाहरु प्रति यहाँका जनताहरु खुसी भएको पाएको बताइन् ।उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
