तुलसीपुर, १ कार्तिक । दाङ निर्वाचन क्षेत्र नं. ३ (क) ले सोमवार ५ दलीय संयुक्त गठबन्धनको प्रदेशस्तरीय चुनाबी तयारी सभा कार्यक्रम गरेको छ । चुनावी तयारी सभालाई सम्बोधन गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगामीलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको बताए । उनले गठबन्धन रहर नभई राष्ट्रिय आवश्यकता भएको समेत बताए ।
‘लोकतान्त्रिक संविधान रक्षा, गठबन्धन राष्ट्रियता रक्षा र अखण्डता रक्षाका लागि पाँच दलीय गठबन्धन आजको आवश्यकता हो’, गिरीले भने । गिरीले त्यो पार्टी, ऊ पार्टी नभनी मंसिर ४ गतेको निर्वाचनमा प्रतिगामीलाई परास्त गर्नुपर्ने बताए । त्यसका लागि सबै एक भएर चुनावी अभियानलाई अगाडि बढाउन जरुरी रहेको उनले बताए । ‘निर्वाचनको समयमा एउटा हावा चल्छ, सानोतिनो कुरालाई टिका–टिप्पणीको रुपमा लिन्छौ, यसमा सजक बनौ’ गिरीले भने– ‘अब सबै कार्यकर्ताहरु अनुशासितपूर्वक कुनै भ्रममा नपरी जनताको घर–घरमा मत माग्न पुगौँ ।’
उनले दाङ जिल्लाको मुहार फेर्न र समृद्ध जिल्ला बनाउनका निम्ति गठबन्धनको उत्तिकै आवश्यकता रहेको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका गिरीले आफूहरु बिजयी भएपछि पहिलो प्राथमिकतामा राखेर एयरपोर्ट विस्तार र विकासको काम गर्ने प्रतिबद्धता पनि जाहेर गरे । बिगतमा आफू सिँचाइमन्त्री हुँदा प्रचण्ड प्रधानमन्त्री रहेको समयमा जनताकै अभिमतका कारण ५३ हजार हेक्टर जमिनलाई सिञ्चित गराउनका लागि बृहत् दाङ सिँचाइ आयोजना ल्याउन सफल भएको कुरा स्मरण गरे । तत्कालीन जीवनबहादुर शाही पर्यटनमन्त्री हुँदा डिपिआर गरेको टरिगाँउ एयरपोर्टको अवस्था जीर्ण बन्दै गएको बताउँदै गिरीले यस पटक बिजयी भएमा बृहत सिँचाइ आयोजना र एयरपोर्टको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बाचा गरे ।
कार्यक्रममा नेपाली काग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले ५ दलीय गठबन्धनकै बीचमा रहेको अन्तरद्वन्द्वलाई मेटाउन जरुरी रहेको बताए । गठबन्धनकै बीचमा अन्तरद्वन्द्व छ, अझै पनि आफ्नो कार्यकर्ता र जनतालाई सम्झाउन सकिरहेको अबस्था छैन’, उनले भने– ‘राजनीति सधै स्टेप जादैन, यो आवश्यकता र समय अनुसार चल्ने गर्छ, त्यसैले गठबन्धन आजको आवश्यकता हो ।’ उनले समान अस्तित्वलाई बचाउन साझा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे । केन्द्रीय सदस्य गिरीले भने– ‘मुहार मिल्ने व्यक्ति हेरेर भोट दिने प्रवृत्ति छ, त्यसको पनि अन्त्य हुनुपर्छ ।’
नेपाली कांग्रेस दाङ क्षेत्र नंं. ३ (क) का सभापति देबेन्द्र रिजालको सभापतित्वमा भएको चुनावी तयारी सभा कार्यक्रममा दाङ क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार डिल्लीबहादुर चौधरीले कसैलाई भ्रम फैलाएर भोट माग्नुपर्ने अवस्था नरहेको तर्क गरे । अहिले हरेक जिल्लामा गठबन्धनको सरकारले विकासको लहर फैलाएको र दाङमा मात्रै ४ अर्बको बजेट बिनियोजन गरेको चौधरीले बताए । ‘हामी केपी ओलीजस्तो झुठो बोल्न जान्दैनौ, हामीलाई घर–घरमा पानीजहाज पुराउनु छैन, हरेक किसानको खेत–खेतमा पानी पुराउन आएका हौँ,’ चौधरीले भने । विगतमा पनि कांग्रेसले नै गाउँ–गाउँमा लाल्टिन–टुकी बालेर बिकासको सुरुवात गरेको बताउँदै चौधरीले भोज–भतेर गरेर जनतालाई झुक्याउनेले विकासका काम गर्न नसक्ने धारणा राखे ।
त्यस अवसरमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जगप्रसाद शर्मा (अपार)ले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि संयुक्त गठबन्धनको नारालाई आत्मसात् गर्दै प्रतिगमनलाई सदाका निम्ति परास्त गर्न गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । लुम्बिनी प्रदेश सभाका सदस्य शंकर गिरीले गठबन्धन रहर नभएर राष्ट्रिय आवश्यकता रहेको बताए । ‘गठबन्धन रहर होइन यो राष्ट्रिय आवश्यकता हो यसले अप्ठ्यारो पारेको छ, तर पनि केपीले जित्नु भनेको राष्ट्र विघटन गर्नु हो’, उनले भने– ‘देशले हार्नु हुँदैन गठबन्धनले जित्नुपर्छ ।’
त्यस्तै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले विगतका कमी–कमजोरीलाई सच्याएर दाङका ३ वटा क्षेत्रका उम्मेदवारलाई जिताउन अपिल गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समितिका सल्लाहकार शेषुराम भण्डारीले एकढिक्का भएर चुनावी कार्यक्रमलाई अगाडि बढाउन र दाङलाई गठबन्धनमय बनाउन कार्यकर्तालाई आग्रह गरे ।
त्यस अवसरमा एकीकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य अनारकलि मिया, दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, कांग्रेस नेता केशव आचार्य, नेकपा माओबादी केन्द्रका रामबहादुर दहितलगायतले विचार राखेका थिए । राष्ट्रिय जनमोर्चाका श्यामलाल पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्रका शंकर भट्टराईले गरेका थिए ।