मेरो खुशी : समाज सेवा गर्न पाउँदा …

नेपालमा पढेर विदेशका ठूला देशहरू युके, युरोप र अमेरिका जाने र पैसा कमाउने सबैलाई इच्छा हुन्छ तर उनलाई मनमा त्यो इच्छा पलाएन । उनी सधैँ हँसिलो र खुसी मनले कर्ममा तल्लीन हुन्छन् । उनको खुसी खोज्दै गर्दा उनी काममै थिए । सेवाग्राहीहरूसँगको एकछिन फुर्सद थिएन । उनले त्यसलाई सन्तुष्टि मान्दै हाँसेर सहज रूपमा खुसी हुँदै रमाइरहेका थिए ।

तुलसीपुर–६ निवासी सरोजकुमार लामिछाने अफिसकै काममा तल्लीन थिए । तुलसीपुर स्थित मुक्तिनाथ विकास बैंकको शाखा प्रमुख लामिछाने आफू सधैँ खुसी हुने गरेको सुनाए । उनले जीवनमा सत्कर्म गर्दा तथा समाजसेवामा लाग्न पाउँदा खुसी हुने गरेको सुनाए । उनका स्व. हजुरबुबा जिवराज उपाध्याय तथा बुबा घनश्याम उपाध्याय पनि समाजसेवी नै थिए । उनी परिवारबाट समाजसेवामा प्रेरित भएको बताउँछन् । ‘मेरो पेसा चाहिँ जागिरे भए पनि म समाजसेवी बन्न र समाज सेवा गर्न रुचाउँछु’, उनले भने ।

लामिछानेले स्वर्गीय आमाको नाममा सहयोग उपलब्ध गराएर तुलसीपुर स्थित कालिका मन्दिर नजिक कृयापुत्री घर निर्माण भएको देख्दा खुसी लागेको सुनाउँछन् । ‘कृयापुत्री घर निर्माण नहुँदा तुलसीपुरमा समस्या थियो, त्यसको निर्माणमा थोरै भए पनि सहयोग गर्न पाउँदा र सो घर बन्दा मलाई खुसी मिलेको थियो’, उनले भने ।

त्यस्तै लामिछानेले आफूहरूको परिवारले तत्कालीन अञ्चल अस्पताल निर्माणका लागि आर्थिक सहयोग र लक्ष्मी नारायण मन्दिरमा गौशाला निर्माण तथा वीपी मावि शान्तिनगर स्थित क्याम्पसमा स्वर्गीय माता कलादेवी उपाध्यायको नाममा क्याम्पसलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले सम्झिए ।

साविक पवननगर गाविस –५ मा जन्मिएका लामिछानेले आफ्नो खुसी समाज सेवा नै भएको सुनाए । ‘हाम्रो परिवार र मैले थुप्रै स्थानमा सहयोग र धेरैलाई सेवा गरेका छौँ, मलाई यही जन्मथलोमा बसेर कर्म गरी सेवा गर्न पाउँदा खुसी मिलेको छ, मेरो पहिलो खुसी र रुचि समाज सेवा नै हो’, मेरो खुसी समाज सेवा लेखिदिनुहोला लामिछानेले भने । उनले जीवनको दौरानमा सानैदेखि पढाइमा मिहिनेति लामिछानेले जीवनको उकालीओरालीहरूमा खुसी तथा दुःखहरू भएको भन्दै दुःखलाई सुखमा बदल्दै अगाडि बढेको र आफू त्यसैमा खुसी हुने गरेको सुनाए ।

सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँबाट एसएलसी पास गरेका लामिछानेले उच्च शिक्षा भने काठमाडौं स्थित पिपुल्स क्याम्पसबाट गरेको बताए । ‘मैले पढाइमा पनि सफलता हासिल गर्न पाएँ, म त्यतिबेला पनि खुसी भएको थिएँ’, उनले भने । लामिछानेले उच्च शिक्षा पढ्दा आफूले काम र पढाइलाई सँगसँगै लगेको सम्झिए ।

‘मैले पढ्दै जागिर गर्दै गरेको थिएँ, विभिन्न क्षेत्र त्यसमा पनि मिडिया क्षेत्रमा पनि काम गर्न पाएँ, म त्यसमा पनि खुसी छु’, लामिछानेले भने । उनको सानैदेखिको चाहना र इच्छा भने बैंकमा काम गर्ने थियो । लामिछानेले विगत १२ वर्षदेखि बैंकमा काम गर्ने गरेको र आफ्नो चाहना इच्छा पूरा हुँदा पनि निकै खुसी लाग्ने गरेको सुनाए । ‘हुन त यो जागिर पनि हाम्रो पेसा हो, म बैंकिङ क्षेत्रमा लागेको १२ वर्ष भयो, अहिले एउटा बैंकको जिम्मेवारी सम्हालेको छु, यसमा पनि खुसी नै छु’, उनले भने ।

लामिछानेले आफू जहाँ भए पनि आफू रहेको संस्थामा उत्कृष्ट काम गरेर देखाउन पाएकोमा खुसी व्यक्त गरे । लामिछानेले आफ्नो दाजु पनि बैंकमा काम गर्ने र आफूले पनि बैंकमै काम गर्ने अवसर पाएको बताउँछन् । उनले आफूले राम्रो काम गरेबाफत विभिन्न पुरस्कार पाएको पनि सम्झिए । ‘हुन त यो निन्तर चल्ने प्रकृया हो, यसमा मैले धेरै प्रशांसा गनुपर्ने होइन, विभिन्न पुरस्कार काम गरेवाफत पुरस्कृत म भएको छु, त्यसमा पनि मलाई खुसी लाग्ने गर्छ’, उनले भने । लामिछानेले तुलसीपुर बैंकर्स क्लवको अध्यक्ष हुँदा पनि विभिन्न सामाजिक काम गरेको भन्दै खुसी व्यक्त गरे ।

‘चाहे बैंकमा होस् वा अन्य संघसंस्थामा म आबद्ध हुँदा मैले सेवाको भाव पनि लिएर अगाडि बढ्ने गर्दछु’, उनले भने । उनले सबै साथीभाइको माया र प्रेरणाले आफ्नो कार्याकाल पूरा गर्न सफल भएको भन्दै खुसी पनि व्यक्त गरे । त्यस्तै तुलसीपुर स्थित लायन्स क्लव अफ दाङको सदस्य तथा अन्य संघसंस्थामा आबद्ध भएर सामाजिक काम गर्न पाउँदा पनि खुसी लागने बताए । लामिछानेले घरपारिवारको पनि सहयोग आफूलाई मिल्दा खुसी लाग्ने गरेको सुनाए ।

‘हुन त आफू भलो संसार भलो भन्छन् मलाई सबैको साथ सहयोग हुन्छ, म त्यसैमा खुसी छु’, उनले भने । लामिछानेले सत्कर्म र आफूले समाज सेवा गर्न पाउँदा सन्तुष्टि मिल्ने बताए । ‘आफूमा जे छ त्यसैमा रमाउन सके मान्छे खुसी हुन्छ, खुसी आफैभित्र छ’, लामिछाने भन्छन् । तुलसीपुर –६ बरुवागाउँ निवासी लामिछाने मुक्तीनाथ विकास बैंक तुलसीपुरका प्रमुख हुन् भने उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।

प्रस्तुती :  बालाराम खड्का