चारलेन कचहरी : पालिकाले पुर्दै चारलेनका खाडल

  •   
  •  

दाङ, ५ असोज । तथ्य इन्जिनियरिङ एण्ड इन्फा प्रोजेक्ट ग्लोवल टेण्डरमा कामको ठेक्का लियो । त्यसका आधिकारिक प्रतिनिधि थिए, प्रवीण ब्रम्हदेव पाण्डे । उनी काममा कहिल्यै खटिएनन् । एक दिन आएका थिए दाङमा क्षमा पनि मागे, पन्ध्र महिनामा काम सक्छु पनि भने, तर फेरि उनले यहाँ आउने आँट गर्ने छैनन् ।

विचरा पेटी ठेकेदारहरु फसिरहेका छन्, एक पछि अर्को । अघिल्लो दुई साताअघि चारलेन सडकमा पारिएका खाडलहरु पुर्ने सहमति गरेका निर्माण कम्पनीका पेटी ठेकेदारसँग न आर्थिक हैसियत देखियो, नत स्रोत साधन नै देखियो । उनले यो अवधिमा सिन्को पनि भाच्न सकेनन् । के हुन्छ चारलेन परियोजनाको भविष्य ? आम जिल्लाबासीले सोच्नुपर्ने भएको छ ।

चारलेन परियोजनाअन्तर्गत विद्युत पोल सार्ने परियोजनाका विषयमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उठाएको प्रश्नको जवाफ दिन सक्दैनन् पेटी ठेकेदार र परियोजनाका कन्सल्टेन्ट । तीस महिनामा सम्पन्न गर्ने परियोजनाको काम विद्युत पोल सार्न पनि असमर्थ हुनु कत्तिको दुर्भाग्यको कुरा हो ? पैसा छैन, माथिबाट आएपछि मात्रै यान्त्रिक साधनका लागि परिचालन गर्ने हो, बेसहारा निर्माण कम्पनीका इन्जिनियर शेखर शर्माले भने । कति निरीह छन् शेखर शर्मा, चाहेर पनि उनलाई खटाएको कम्पनीले न आवश्यक स्रोत साधन दिएको छ, नत आर्थिक जिम्मेवारी । पेटी ठेकेदारका पनि पेटी इन्जिनियर…। बिचरा सर्वदलीय÷सर्वपक्षीय सहजीकरण समितिमा पनि उनले गर्ने कामको कुनै रुपरेखा छैन ।

आत्मसमर्पण गर्न पनि खोजेको छैन, निर्माण कम्पनीले । नेपाली ठेकेदारलाई अनाहकमा फसाइएको पनि होइन, । तर काम हुन भने सकेन । ठेक्का तोड्न पनि सकिएन । तर यसको प्रत्यक्ष असुविधाका पात्र दाङवासी छन् । विचरा निर्माण व्यवसायी…। केही त छ भन्नुपथ्र्यो । उनीहरुले त बिग्रिसकेको काम सम्हाल्न आएका हुन् । जुन यहीकै स्थानीयबासी अनुप पाण्डेले पेटी ठेक्का लिएका थिए । अनुपका नाममा धेरै कारोबारका विषयमा जिल्ला प्रशासनमा उजुरी पनि परेको छ । सायद अनुप चाहन्चन्, यी उजुरी म बाहिरिएपछि अर्को कम्पनीले लिनुपर्छ ।

चारलेन सडकका नाममा उधारो लिइएका मोबाइल फोन र फर्निचरको समेत भुक्तानी नभएको अवस्थामा अर्का पेटी ठेकेदार उपस्थिति भएका छन् लिलामी घरलाई बचाउन । ‘लिलामी घर बचाउन तपाईहरु आउनुभएको छ, यो चालाले लिलामी घर पनि जोगाउन सक्ने अवस्था छैन’, कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी कड्किँदा पनि पेटी ठेकेदारका प्रतिनिधिको बोली फुटेन । साँच्चै होला हाम्रा चारलेन ? यही प्रश्न फेरि पनि दोहोरिएको छ । एकपछि अर्को असफलताले चारलेन अब धरापमा परेको छ । तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण व्यवसायीको कुनै पनि अग्रसरता देखिएको छैन ।

खोई ? भिंग्रेली भिलेजमा आएका तथ्य इन्जिनियरिङका प्रवन्ध निर्देशक प्रविण ब्रम्हदेव पाण्डे ? उनी आधिकारिक प्रतिनिधि किन आएनन् ? सर्वदलीय÷सर्वपक्षीय कार्यक्रममा उपस्थित हुनुपर्ने होइन र ? खोई उनले जिम्मा दिएको श्रेष्ठ कन्सट्रक्सनका आधिकारिक लगानीकर्ता ? जागिरेलाई पठाएर समाधान हुन्छ ? यी गहन जिम्मेवारीमा अब आधिकारिक प्रतिनिधि आउन आवश्यक छ । कर्मचारीलाई साइटमा पठाएर कुनै पनि कम्पनी उम्कन पाइने छैन, अब हरेक लेखाजोखा सुरु भैसकेको छ । गर या मर…को रणनीतिमा स्थानीय सरकार अघि बढ्ने छ ।

ठेकेदारले सिन्को नभाचेपछि अन्ततः चारलेन सडक परियोजनाअन्तर्गत पारिएका खाडलहरु स्थानीय पालिकाले पुर्ने भएका छन् । नेपालीहरुको महान चाड विजयादशमी नजिकिएकै समयमा सडकको अवस्था बेहाल भएपछि स्थानीय पालिकाले आ–आफ्नो क्षेत्रका सडकमा परेका खाडलहरु पुर्ने प्रतिबद्धता जनाएका छन् । यो गर्नुपर्ने त होइन, तर पनि स्थानीय सरकारको हैसियतमा स्थानीय पालिकाले यो गर्न तयार छन् ।

जिल्ला समन्वय समितिको यसअघि भएको बैठकमा निर्माण कम्पनीले पन्ध्र दिनभित्र खाडलहरु पुर्ने सहमति भएको भए पनि एउटा खाडल पनि नपुरिएकाले मंगलवार भएको अर्को सहजीकरण बैठकमा स्थानीय पालिकाहरु घोराही र तुलसीपुर उपमहानगरपालिका तयार भएका थिए । त्यसका लागि निर्माण कम्पनीले टिप्पर, जेसिभी, लोडर र ग्रेडर उपलव्ध गराउने सर्वदलीय÷सर्वपक्षीय सहमति भएको छ । असोज ६ गते चारलेन सडक निर्माण कम्पनीले ती यान्त्रिक उपकरणहरु सम्बन्धित पालिकालाई उपलव्ध गराउने र सम्बन्धित पालिकाले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको समेत प्रत्यक्ष उपस्थितिमा नदीजन्य पदार्थको व्यवस्थापन गरी खाडल पुर्ने सहमति भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा चारलेन सहजीकरण समितिका संयोजक नित्यानन्द शर्माको अध्यक्षतामा भएको बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अब पनि ठेकेदारको विश्वास गरेर खाडल नपुरिने भन्दै आवश्यक उपकरण उपलव्ध गराए आफूहरुले ग्राभेल व्यवस्थापन गरेर आफूहरुकै प्रत्यक्ष निगरानीमा खाडल पुर्ने प्रस्ताव राखेका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले पनि त्यसरी नै खाल्डा पुर्न तुलसीपुर उपमहानगरपालिका सहमत हुने बताएका थिए ।

घटस्थापनासम्म घोराही–तुलसीपुर चारलेन सडकअन्तर्गत सडकका सबै खाल्डाहरु पुरिसक्ने उपमहानगरपालिकाहरुले प्रतिबद्धता व्यक्त गरेपछि घटस्थापनाको भोलिपल्ट असोज ११ गते सहजीकरण समितिको अर्को बैठक बस्ने छ । सो बैठकले यो अवधिको कार्य समीक्षा गर्ने तथा विजया दशमीको शुभकामना आदान–प्रदान गर्ने पनि निर्णय भएको छ ।

बैठकमा घोराही र तुलसीपुर उपमहानगरपालिकाका प्रमुखद्वय नरुलाल चौधरी र टिकाराम खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख बीरबहादुर वली, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, परियोजनाका कन्सल्टेन्ट ईश्वर अमागाइ, निर्माण कम्पनीका शेखर शर्मा, यातायात व्यवसायी शिवराज पन्थी, दाङ उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो । सहजीकरण समितिको अर्को बैठक आउँदो ११ गते विहान ८ बजे जिल्ला समन्वय समितिमा बस्ने पनि निर्णय भएको छ ।