सार्वजनिक स्थानमा अझै पनि हिंसा

तुलसीपुर, ३१ भदौ । विभिन्न बहानामा अझै पनि सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हिंसा हुने गरेको पाएको छ । ओरेक नेपालले मुलुकका तीन जिल्लाका १ सय २७ जनासँग सार्वजनिक स्थानमा महिला तथा किशोरीविरुद्ध हुने हिंसाको अवस्थाबारे गरेको अध्ययन प्रतिबेदनमा सो कुरा उल्लेख छ ।

अध्ययनलाई हेर्दा विभिन्न क्षेत्रमा महिलाहरुले भोगेका कुराहरुलाई आफूहरुले उल्लेख गरी तथ्यांक सार्वजनिक गरेको ओरेक दाङका जिल्ला संयोजक ईश्वरी थापाले बताइन् । तीन जिल्ला दाङको तुलसीपुर, घोराही र दंगीशरण गाउँपालिकासहित मोरङ र उपदयपुरमा त्यस्तो सर्वेक्षण गरेको जनाएको छ । महिला जनप्रतिनिधिले सार्बजनिक बृत्तमा भोग्नुपर्ने बिभेद तथा महिला तथा किशोरीमाथि हुने हिंसा सम्बोधनका लागि उनीहरुले खेलेको भूमिकाबारे खोज गरिएको थियो ।

लैगिंक बिभेदको आधारमा हुने हिंसाको कारण महिला तथा किशोरीको सार्बजनिक सेवाको पहुँचमा पारेको प्रभाव र सेवा प्रदायक निकाय (सरकारी कार्यालय) मा लैगिंक मैत्री सेवाको उपलब्धताबारे विश्लेषण गरिएको ओरेकको तथ्यांक छ । जसमा उनीहरुको भनाइकै आधारमा स्वास्थ्य संस्थाहरु र महिला तथा किशोरी विवाहित सहभागीहरूले आफ्नो यौन र प्रजनन् स्वास्थ्यको बारेमा विशेष गरी पुरुष स्वास्थ्यकर्मीसँग कुरा गर्न गाह्रो भएको र महिला स्वास्थ्यकर्मी नहुँदा प्रजनन् स्वास्थ्य समस्याहरु लुकाएको पाएको छ ।

त्यस्तै महिलाको शरीरमाथि आफ्नो नियन्त्रण नहुनु, यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा समाजमा खुलेर बोल्ने र सेवा प्राप्त गर्ने वातावरण नहुँदा महिलाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित हुन सकेको छैन । जसले गर्दा महिलाहरु आफ्नो स्वास्थ्य तथा शरीरको बारेमा निर्णय लिन नसक्ने, तथा आफ्नै शरीरको बारेमा जानकार नहुँदा प्रजनन् स्वास्थ्य समस्याहरु लुकाएकर बस्न बाध्य छन् ।

विशेष गरी अविवाहित युवती र किशोरीहरूका लागि स्वास्थ्य संस्थाहरुको वातावरण सहयोगी छैन । अविवाहित महिलाहरू यौन र प्रजनन् स्वास्थ्य समस्याहरू लिएर आउँदा स्वास्थ्यकर्मीहरुले उनीहरुको चरित्रमाथि प्रश्न उठाउने वा उनीहरू यौनकर्मी हुन् भनी मान्ने समेत गरेको पाएको उल्लेख छ भने सरकारी स्वास्थ्य संस्था तथा अस्पतालहरूमा गोपनियता कायम नहुने र विश्वासको वातावरण निर्माण नहुने प्रमुख समस्या रहेको छ । यी स्थानहरू सार्वजनिक छन् र युवती तथा किशोरीहरु प्रजनन् स्वास्थ्य सेवा वा गर्भपतनसँग सम्बन्धित सेवा लिन जाँदा उनीहरूले आफूले चिनेको व्यक्तिलाई संयोगवश भेट्न सक्ने डर समेत रहेको पाइयो ।

अध्यनका क्रममा एक जना महिलाले भनेकी छन्– ‘सामुदायिक अस्पताहरुमा गोप्य कोठा छैन । हाम्रो दुखको कथा ब्यथा त्यहाँ कसैले थाहा पायो भने गाउँभरि हल्ला हुन्छ ।’ महिला जनप्रतिनिधिहरूको मानहानी तथा चरित्रहत्या गर्ने कार्यमा सहकर्मीहरु पनि सहभागी भएको तर महिला जनप्रतिनिधिहरुले अरुमाथि हुने लैंगिक हिंसाबिरुद्ध कार्य गरे पनि आफूमाथि भएको हिंसा र बिभेदलाई रिपोर्टिङ गर्ने नगरेको, यो सवालको बारेमा संयुक्त छलफल नभएको समेत पाएको छ ।

बिहीवार तुलसीपुर कार्यक्रमको आयोजना गरी अनुसन्धानको नतिजा सार्वजनिक गरिएको हो । सामुदायिक संस्था दाङका अध्यक्ष कृष्णा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले तुलसीपुरलाई लैंगिक हिंसामैत्री पालिका बनाउन सबैमा सकारात्मक सोचको विकास हुन जरुरी रहेको बताइन् ।

कार्यक्रममा तुलसीपुरका जनस्वास्थ्य प्रबद्र्धन शाखाका निरीक्षक बिमल केसीले २०७८÷०७९ मा तुलसीपुरमा २० वर्ष मुनिका ४२७ किशोरी गर्भवती भएको विवरण पेश गरेका थिए । उनका अनुसार २०७६÷०७७ मा ४८० र ०७७÷०७८ मा ४५९ जना किशोरी गर्भवती भएका थिए । तीमध्ये स्वास्थ्य संस्थामा गई गर्भपतन गराउने किशोरीको संख्या पनि बढ्दो छ । वितेको वर्षमा २० वर्ष मुनिका २२३ जना किशोरीले गर्भपतन गराएको केसीले बताए ।

कार्यक्रममा तुलसीपुर–२ का अध्यक्ष भीमबहादुर योगी, कार्यपालिका सदस्य यमुना परियार, कार्यपालिका सदस्य सीताकुमारी लामिछाने, चेतनशील सामुदायिक संस्थाका अध्यक्ष रामशरी चौधरी, महिला सामुदायिक संस्थाका रमा चौधरी, युवा सञ्जाल तुलसीपुरका अध्यक्ष गणेश भण्डारी, किशोरी रेजिना मिया लगायतले हिंसाविरुद्धको सुरुवात घरैबाट सुरु गर्नुपर्ने र समुदायमा पनि सचेतनामूलक तालिम÷कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण ओरेक दाङका सहकार्यक्रम अधिकृत कल्पना चौधरीले गरेकी थिइन् ।