मनको सन्तुष्टि र आपसी सम्बन्ध

  •   
  •  

विनोद पोख्रेल
२०७७ चैत्र २८ गते
आज अलिकति चाँडो छ । सूर्य देखिएको छैन । त्यो एक्लो चरो पनि तारमा बसेको छैन । तर म अलि हतारिएको छुँ । हिजो विपुलले आज १०–११ बजेसम्ममा पत्रकार महासंघको निर्वाचनको अन्तिम परिणाम आउन सक्ने भन्यो । उसले अन्दाज गरेको हो । अलि चाँडो आइहाल्छ कि भन्ने मेरो आशा हो । राती पनि गन्ने तयारी भएजस्तो लागेको थियो । त्यसैले बिहानै टिभी खोलेँ तर केही भन्दैन ।

फोन यति चाँडो नगर्ने सोचेको छुँ । अब त मन पनि आत्तियो । २६ गतेबाट परिणामको आशा गरेर बसेको आज २८ मै सक्यो । अझै आएको छैन । त्यसमा पनि विपुलले जित्ने निश्चित जस्तै छ । त्यसैले पनि चाँडो आए हुन्थ्यो भन्ने लागेको होला । घोषणा भएपछि मात्रै उसले सफलता प्राप्त गरेको जस्तो लाग्ला । अब त कसैले मलाई फोन गरेर बधाई दिँदा पनि अप्ठेरो महसुस गर्न थालेको छुँ ।

विशेष खुसी त पहिले पनि थिएन तर एउटा चोराले आफ्नो लगानीअनुसार सो क्षेत्रको सर्वोच्च पदमा पुगेर नेतृत्व गर्ने मौका पाउने विश्वासले पूर्णसन्तुष्टि भने पाएको छुँ । त्यो अहिले पनि छ । बाँकी सबै त्यस्तै हो । चाहेको पनि सायद खुसीभन्दा सन्तुष्टि नै हो । त्यसैले चाँडो भए हुन्थ्यो भन्ने लागेको छ । तर म आत्तिएर केही हुँदैन, त्यो थाहा छ । भन्न त घोषणा हुन लाग्दा थाहा दिनु भनेको छु । तैपनि सन्तुष्टि प्राप्त गर्नको लागि मन आत्तिएको छ । बल्ल सामान्यतया सधैँ लेख्न बस्ने समय भयो ।

चाँडो सकेर कतै सम्पर्क गरेर केही थाहा पाइन्छ कि भन्ने आश गरेको छुँ । थाहा छैन सम्पर्क हुने हो कि होइन । छोरोको सफलता अथवा भनौँ सन्तानको सफलताले दिने जति सन्तुष्टि अरु कुनै कुराले दिँदैन कि जस्तो लाग्छ । कसैले सोध्यो भने अझै समय लाग्छ भन्न नपरोस् भन्ने लागेर होला म आत्तिएको छुँ । संयोगले नयाँ वर्षको पूर्वसन्ध्याको पनि नजिक परेको छ । त्यसैले आउँदो वर्ष उसको लागि र हाम्रो सबै परिवारको लागि सफलता र खुसीको वर्ष पो बन्ने हो कि भन्ने आश गरेको छुँ ।

अहिले स्वास्थ्य पनि सामान्य छ । मैले बुझेअनुसार ब यस्तै रहने हो । यसकारण पनि आफ्नो चिन्ता छैन । यिनीहरुको सफलता नै अपेक्षित कुरा हो । परिस्थिति नबिग्रिएपछि नातिहरुको ब्रतबन्ध पनि अब चाँडो गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । सोचेको भन्दा एक वर्ष ढिला भइसक्यो । अब ढिला नभए हुन्थ्यो । अरु कुरा समय आएपछि होलान् । अहिलेलाई विपुलको निर्वाचन परिणामको औपचारिक घोषणा नै प्रतीक्षाको विषय बनेको छ । आज किन हो त्यही १०–११ बजाउन पनि हतार भएको जस्तो लागेको छ ।

अनौपचारिक रुपमा विजय निश्चित भएको भनेकोले अझ छटपटी त छैन । त्यसैले पनि हतार बढाएको हुनसक्छ । के हुने हो भन्ने चिन्ता भए सायद यति हतार हुन्थेन । समय सधैँ बितेकै छ । आज पनि बित्छ । ११ को ठाउँमा १२–१ पनि बज्नसक्छ । आत्तिनुको केही मतलव छैन । आज घोषणा हुन्छ । त्यतिबेला सबै सँगै भएको भए अझ कति खुसी र सन्तुष्टि प्राप्त गर्न सकिन्थ्यो ।

२०७७ चैत्र २९ गते

एक्लो चरोले ध्यान तानेको छ । बिहान तारमा एक्लै बस्छ अलिबेर । एकजना साहित्यका समालोचकले हामीले प्रकृतिलाई जे दिन्छौँ, जसरी दिन्छौँ, त्यही र त्यसरी नै पाउँछौँ भनेको पढेको थिएँ । त्यही कुरा यो चराले आज सम्झना गराएको छ । कतै जोडी नभएर वा मारिएर एक्लो भएको हो कि ? अथवा जोडीले छोडेर एक्लो बनाएको हो कि ? त्यस्तै अण्डा वा बच्चाको संरक्षण गर्न पोथी गुँडमै बसेकोले एक्लो भएको हो कि ? यसको स्वभाव नै अलि बदमास भएर एक्लो भएको हो कि ? यस्ता भावना आए भने कतिपल्ट कठै विचरा भन्न पनि मन लाग्छ ।

भनौ सहानुभूति प्रकट गर्न मन लाग्छ । त्यही स्थितिलाई उसको एक्लोपनले दिएको शान्ति, जिम्मेवारी उठाउनुपर्ने चिन्ताबाट मुक्त परिवेश, आmूमै मात्रै सीमित स्वतन्त्र र निर्वाध जीवन, आफै बनाएको नियमितता, त्यही अन्तर्गत बिहान मेरो अगाडिको तारमा आएर केही समय बिताउने गरेको भनेर बुझ्ने हो भने उसले जीवन रमाइलै गरी वा सजिलो गरी बिताएको जस्तो लाग्छ । कतिपटक त आफू पनि त्यस्तै हुन पाए राम्रै हुने थियो जस्तो पनि लाग्छ । वास्तवमा जीवनका अनेक पाटा वा पक्ष हुन्छन् ।

हाम्रो दृष्टिकोण कुन पक्षमा पर्छ त्यो सोच, उमेर, परिवेश आदिको निर्णय गर्ने हो । मेरो विचारको कुरा गर्ने हो भने यी सबै हाम्रा जीवनको गतिमा प्रभाव पार्ने तव्तहरु हुन् । तर पनि जीवन गतिशील छ । यस्तो सोचहरुको प्रभावले केही फरक पार्न सक्छ तर गति रुक्दैन । गति रुक्नु भनेको जीवन सकिनु हो । खुट्टा पनि गतिशील हुन्छन्, यो स्वाभाविक हो । मन र मस्तिष्क पनि गतिशील हुन्छन्, यो पनि वास्तविक हो । अझ भनौ विभिन्न कारणले खुट्टाका गति रुके पनि या कम भए पनि मन र मस्तिष्कको गति चलिरहन्छ ।

अवरोधहरुका राम्रो नराम्रो प्रभाव पार्ने गतिविधिहरुले पनि आफ्नो स्वभाव देखाइरहन्छ, त्यस्तै गति पनि चलिरहन्छ । मनै त हो । एउटा सानो चरोको एउटा र छोटो समयको लागि बनेको नियमितताले म आफू कति पर पुगेँ ? उसको आनन्दको अनुभूति पनि भयो । उसको कष्टको अनुभूति गर्ने प्रयास पनि भयो । जब कि यी सबै कुरासँग उसलाई केही मतलव छैन । उ मसँग बोल्ने पनि होइन । मैले उसलाई राम्रो माने पनि ऊ मेरो नजिक आउने पनि होइन ।

झ्यालको जालीभित्र म छु । ऊ बाहिर हुन्छ । केहीबेर हेर्छु । बोलेको सुनेको छैन । सुने पनि बुझ्ने होइन । फरक पनि छ कि म बोले जति माया गरेर बोले पनि ऊ भाग्ने, उड्ने हो तर ऊ बोलेपछि मैले सायद एक प्रकारको आनन्द महुसु गर्नसक्छु । मसिनो तारमा पिङ खेले जसरी बस्छ र एकपट्टि तारको गति रुक्छ अनि गजपको स्थिरता, शान्ति अनि उसको के हुन्छ थाहा छैन । मेरो भावनाको दौड सुरु हुन्छ । कहाँसम्म पुग्छ थाहा हुँदैन । कहिले राम्रो मात्रै र कहिले नराम्रो मात्रै पनि आउँछ मनमा । जीवन सबैको समान भए हुन्थ्यो भन्ने सोच पनि आउँछ । आखिर सोच न हो ।