दाङ क्षेत्र नं. १ मा कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

शिवराज खनाल
दाङ, १७ भदौ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले ‘जनताको साथमा कांग्रेस’ अभियानलाई देउखुरीको गढवा गाउपालिकाबाट सुरुवात गरेको छ । शुक्रबार गढवाबाट अभियान सुरुवात गरिएको र आगामी दिनमा क्षेत्र नम्बर १ को चारवटै स्थानीय तहमा पुग्ने क्षेत्र नं. १ का प्रबक्ता अजय न्यौपानेले बताएका छन् ।

अभियान तीन चरणमा सञ्चालन हुने बताइएको छ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्तीसंगै भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने नेपाली काङ्ग्रेस केन्द्रिय समितिले घोषणा समेत गरेको छ ।

गढवामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण किसोर घिमिरे नेपाली काङ्ग्रेस सधै जनताको हकहितका लागि काम गर्ने पुरानो पार्टी भएकाले अबका दिनमा अझै सक्रिय हुदै हरेक परिवारको घर दैलोमा पुग्न जरुरी रहेको बताए ।

त्यस्तै बिशिस्ट अतिथि नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा आफू पनि मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अनुरोध गर्न सम्पूर्ण कार्यकर्तालाई अपिल गरे ।

नेपाली काङ्ग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेतले बिगतका सरकारले गरेका जति पनि कमि कमजोरीहरु छन तेहि कमिकमजोरी नै नेपाली काङ्ग्रेसको मुल एजेन्डा हुने बताए । ‘अब देश र जनताकाको आर्थिक समृद्धि र आयस्थर कसरी बढाउन सकिन्छ यसबारे काङ्ग्रेसको मुख्य चिन्तनको विषय हो’, नेता बस्नेतले भने ।

जनताहरुले धेरै किसिमका अपेक्षा गरे तर हालसम्म त्यो अपेक्षा सान्केतिक रुपमा पनि पूरा हुन नसकेको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेयले बताए । ज‘नता संग नेपाली कांग्रेस शब्द नै मुलत सबैले बुझ्न सकिन्छ तर राजनीति जनतासंग पुग्न सकेको छैन राजनिती कतै अल्मलियो अन्य बिषयमा केन्द्रित रह्यो’,उनले भने,‘ अबको राजनीति जनतासंग बढी केन्द्रित रहन पर्छ । जनतालाई माथी उकास्नका र समुन्नत बनाउन गरिने राजनीति जनताबाट अलग भयो भने गर्न सकिँदैन ।’

कार्यक्रममा दाङ क्षेत्र नं. १ प्रदेश ख सभापति दिनेश गिरि धन्यवाद ज्ञापन गरेका थिए । दाङ क्षेत्र नम्बर १ प्रदेश (क) सभापति श्रीपत चौधरीको स्वागतमन्तव्यबाट सुरु भएको हो कार्यक्रमको संचालन क्षेत्रीय सचिव हरिहर शर्माले गरेका थिए