निता चौधरी
थारु समुदायको दाजुभाइ र दिदिबहिनीको माया प्रेम, स्नेह, भातृत्व अनि सद्भावको पर्व अट्वारी हो । थारुहरुको इतिहास कोट्याउने हो भने पौराणिक मान्यता अनुसार हरेक बर्ष भदौ महिनाको पहिलो जुनेली (अजर्या) रातको पहिलो आइतबार अट्वारी मनाउने गरिन्छ भन्ने मान्यता रहेको छ तर यसमा एक मत भने पाइदैन ।
भदौ महिनाको जुनेली रात जहिले पनि पर्न सक्छ, भदौको पहिलो, दोस्रो, तेस्रो तथा चौथो जुन आइतबार पनि पर्न सक्छ भन्छन् थारु बुद्धिजीवीहरुले । कसैकोे कुशे औँशीको पछि आउने पहिलो आइतबार अट्वारी मनाइन्छ भन्ने मत पाइन्छ भने कसैको तीज अगाडिको आइतबार , कसैको तीज पछाडिको आइतबार भन्ने अट्वारीको बारेमा फरकफरक मत पाइन्छ ।

यही मतका कारण भोलीका दिनमा हाम्रो मौलिक चाडपर्वहरु यस्तैयस्तै कारण हराएर जान नसक्ला भन्न सकिदैँन । त्यसैले खोजअनुसन्धान, सबैको छलफल, सहमतीबाट यसमा एक मत ल्याउन आवश्यक देखिन्छ । परापूर्वकालदेखि नै थारुहरुले अट्वारी कहिले मनाएका हुन् यस बारेमा जानकारी नभएकाले यस्तो देखिएको हो भन्ने थारु बुद्धिजीवीहरुको मत पनि पाइन्छ ।
थारु समुदायको हरेक चाडपर्वमा सालको पात या त मालुको पात हुनै पर्ने परम्परागत मान्यता भनौँ या चालचलन रहि आएको छ । अट्वारीको लागि पहिले पहिले ढिकीमा कुटेको चोखो पिठो बनाइन्थ्यो भने अव समय परिवर्तनसँगै मिलमा पिसाएको पिठोहुन्छ । जुन चोखो रुपमा बनाइएको हुन्छ । यस्तै चोखो तोरीको तेल, चोखो पात, रोटी पकाउनलाई चोखो चुल्हो पनि चाहिन्छ ।
यी सबै चीजको तयारी अट्वारी आउँदासम्म गरिन्छ । अट्वारीको अघिल्लो रात घरका सबै दाजुभाई बसेर दर खाने गर्दछन् । जुन दरको रुपमा खाने भात, तरकारी पनि चोखो रुपमा पकाएर खाइन्छ । विशेष गरेर अट्वारीलाई दुई दिनसम्म धुमधामकासाथ मनाइन्छ ।
अट्वारीको पहिलो दिन
अट्वारीको पहिलो दिनमा थारुसमुदायका पुरुषहरु मात्रै वर्त बसेका हुन्छन् , यस दिन वर्त बसेका पुरुषहरुले दिनको २ । ३ बजेतिर घरमा रोटी पकाउने तयारी गर्छन् । यस दिनमा भान्सा कोठामा नभए बैठक कोठामा रोटी पकाउने चलन पहिलेदेखि नै छ । अट्वारीको रोटी पकाउने आगो पनि चाखो हुनुपर्छ भन्ने थारु समुदायको परम्परागत मान्यता छ ।
त्यस अनुसार यस दिनमा गाउँको अगुवा तथा महटवाको घरमा गन्यारीमा आगो उठाउने चलन छ । महटवाहरुको घरमा आगो उठाइसकेपछि त्यही आगो गाउँका सबैले ल्याउने र बैठक कोठामा गोबरले लिपेर चोखो वनाई रोटी पकाउने गरिन्छ । जंगलमा पाइने अङ्ग्यारी नामको एउटा काठ हुन्छ त्यही काठबाट कुनै सलाई तथा लाइटर विना नै आगो बालिन्छ ।
त्यही काठको माध्यमबाट बालिने आगोलाई थारुहरुले गन्यारीमा आगो उठाउने भनिन्छ । यसरी उठाएको आगो चोखो हुन्छ भन्ने मान्यता थारु समुदायमा छ । रोटी पकाउने ठाउँ गोवरले लिपेर चोखो बनाइएको हुन्छ । पुरुषहरु नुहाईधुहाई गरी आगो बालीसकेपछि चामलको पिठोको गोलो आकारको रोटी वर्त बसेका पुरुषहरुले नै पकाउँछन् जसलाई थारु भाषामा ठोप्वा रोटी भनिन्छ । जुन रोटी चामलको पिठो र गहुँको पिठोबाट बनाइएको हुन्छ ।
सुरुमा पकाएको रोटी प्रकृतिपुजक थारु समुदाय भएकाले अग्यारी बनाउने छुट्याएर राखिन्छ । जुन रोटीलाई नफर्काई एकतर्फि मात्रै पकाइन्छ । यसरी रोटी पकाउनुको पनि थारु समुदायमा फरक खालको विश्वास छ । अट्वारी पर्व थारु समुदायले विशेष गरी पाँच पाण्डव मध्ये भीमको सम्झनामा मनाउँछन् ।
भीम अट्वारीको वर्त बसेको वेला रोटी पकाउँदै गरेको समयमा रोटी पकाउँदा पकाउँदै नदीमा नुहाउन गएको बेला माछा देख्छन् र माछा मार्न समय लाग्ने हुनाले धेरै समयपछि घर फर्किदा रोटी एकातिरबाट पाकिसकेको हुन्छ र घरमा भएका अरु सबै सदस्यले रोटी फर्काउँदा पनि फर्काउन नसकिएको र पाकिरहेको भाँडाको तेलबाट निकाल्न पनि नसकिएकोअनि अन्तिममा भीम नै आएर रोटी निकालेको हुनाले पहिलो रोटी एकातिरबाट मात्रै पकाउने र उनकै लागि छुट्याउने गरेको थारु बुद्धिजीवीहरुको भनाई पाइन्छ ।
रोटी पकाउँदा आगोलाई मान्छेले आगो निभे पनि मुखले फुक्नु पनि हुदैन भन्ने विश्वास छ । पातले नै हम्केर आगो बाल्ने गर्दछन् । पुजाको लागि बनाईको रोटी सबै ब्रत बसेका पुरुषहरुले नै पकाउँछन् ।
रोटी पकाई सकेपछि साँझ सबै ब्रर्त बसेका पुरुषहरु गोबरले लिपेको ठाउँमा बस्छन् । बीचमा बल्दै गरेको दाउराको आगो (अग्यारी), दुनामा लौनी लौनी नभए तोरीको तेल, लोटामा पानी राख्छन् । हरियो पातको टपरीमा रोटी, काँक्रा, केरा, स्याउ, अम्बा लगायत अन्य फलफुल र दहि, राखिन्छ ।
ब्रतालु सवैले आ—आफनो टपरीबाट सबै खानेकुरा आफनो दुना टपरी बाट अर्को टपरीमा खाने कुरा अलीअली निकालेर राख्छन् । त्यसपछि अग्नी देवतालाई चढाउँछन् । बर्तालहरुलेु आफूले खानुभन्दा पहिला निकालेको खानेकुरालाई थारु भाषामा “अग्रासन”भनिन्छ । अगा्रसन छुट्याइ सकेर परिवारका सबै जना मिलेर रमाइलो गर्दे खाने गर्दछन् । खाई सकेपछि रातभरि रोटी पकाउँछन् ।
आफ्ना छोरी चेली सबैको घरमा अग्रासन दिन जानु पर्ने हुनाले सबैतिर दिन पुग्ने गरी परिवारका सबैजना मिलेर रोटी पकाउँछन् । रोटी पकाएको आगो रातभर निभ्न दिनुहुदैन भन्ने मान्यता पनि थारु समुदायमा छ । आगो निभ्न नदिनका लागि रातभरी धेरै दाउरा बालिरहनुपर्छ । त्यही चुल्होमा दोस्रो दिन विहान भात तरकारी पकाइन्छ ।
अट्वारीको दोस्रो दिन
अट्वारीको दोस्रो दिन बिहानै नुहाईधुवाई गरेर ब्रतालु पुरुषहरु खाना पकाउन थाल्छन् । खाने खानाका लागि तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाईन्छ । पवैको साग, सिल्टुङ (एक प्रकारको गेडा), पाप्रो, चिचिण्डो, माछा अनिबार्य हुनुपर्छ भन्ने थारु बुद्धिजीवीहरु बताउँछन् । खाना पकाइसकेपछि सबै ब्रतालुहरु नुहाएर लिपेको चोखो ठाउँमा बस्छन् ।
आ–आफनो टपरी र दुनाबाट केही भाग आफूले खानु भन्दा पहिले आफ्नो भागबाट केही भाग निकालेर छुट्टै दुना टपरीमा छुट्याएर राख्छन् र अलिअलि खाना झिकेर अग्नीलाई चढाउँछन् । त्यसपछि आफुले खान्छन् । साँझ निकालीएको खानेकुरा र बिहानको खाना “अग्रासन” आफना दिदि बहिनीहरुलाई दिन जान्छन ।
यस दिनमा थारु समुदायमा माछा मासु(मांसाहारी) भन्दा सागपातको (साकाहारीको) महत्व बढी हुन्छ । को कहाँ कसको घरमा दिन जाने भन्ने निर्णय अघिल्लो दिन नै भइसकेको हुन्छ । सोही अनुसार सबै दाईभाइहरु दिदीवहिनीको घरमा अग्रासन दिन निस्किन्छन् । अग्रासन दिन दाईभाईहरु जान नसक्ने अवस्था भएपनि घरको दिदीवहिनी तथा अन्य जो व्यक्ति पनि दिन जान सकिन्छ ।
अग्रासन र माइती पक्षको सम्बन्ध
यसरी भीमको पूजा गरी सकेर अग्रासन छुट्याइ सकेपछि अविवाहित दिदीबिहिनीले घरको दाजुभाइले छुट्याएको खाने र विवाहितलाई आप्mनो दाजुभाईले घरमै दिन जाने गर्दछन् । आप्mनै दिदीबहिनी नहुनेले नजिकको नाता पर्ने दिदीबहिनीलाई दिने गरिन्छ । उता चेलीवेटीहरु अग्रासन आउने दिन खुशी हुन्छन् ।
माईतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा बसेर खाना पनि नखाई बस्छन् । कतीखेर मेरो माईतीबाट खानेकुरा आउला र म खाउँला भनेर प्रतीक्षा गरिरहेका हुन्छन् । कुनै कारणबस अग्रासन नपाएमा दिदिबहिनीहरु मनको उदासी, र दुःख मान्दै बसेका हुन्छन् । माईतीले आफूलाई टाढा सम्झेको महशुस पनि गर्दछन् ।
त्यसैले अग्रासनले माईतीको माया, प्रेम र सद्भावलाई स्पष्ट रुपमा दर्साउँछ । यति मात्र होइन यस पर्वलाई दाजुभाई र दिदीबहिनी विचको सम्बन्धलाई प्रगाढ बनाउँछ । दाजुभाईले दिदीवहिनीलाई दिने कोसेलीले सम्वन्ध प्रगाढ बनाउने गर्छ। जुन कासेलीलाई थारु भाषमा अग्रासन भनिन्छ । अग्रासन विवाहित वा अविवाहित दुवैले आफ्ना दिदीबहिनीका लागि छुट्याउने गरिन्छ । अग्रासनले भावनात्मक सम्बन्धका प्रतिक मात्र नभई दाजुभाई दिदी बहिनी लगाएत पारीवारीक सम्बन्धलाई नै सुमधुर र आत्मीयता कायम गरेको हुन्छ ।
त्यसैले थारुहरु आफनो मौलिक पहिचान, सस्ंकृती र परम्परालाई जगेर्ना गर्न एक आपसमा सहकार्य र सहअस्तित्व हुन जरुरी मानिन्छ । विस्तारै अग्रासन दिने चलन थारु समुदायमा हराउँदै गएको छ । जसले गर्दा दाजुभाई र दिदीबहिनी विचको सम्वन्धको दुरी त टाढा हुने नै भयो, यसले समग्र थारु समुदायको पहिचानमा नै ठेस पुग्ने देखिन्छ । त्यसैले जे जस्तो भए पनि हामीले अग्रासन दिने चलनलाई लोप हुन दिनुहुदैन । युवा पुस्ताले नै यस्को खोजीनिति गर्न र अग्रासनलाई निरन्तरता दिन आवस्यक छ ।