मधुसूदन सुवेदी
आजको दलले, आजको पार्टीले, आजको संगठनले, आजको समूहले, आजको शक्तिले, आजको मोर्चाले मिडिया–मिडियामा गएर चुनाव सफल हुनु अघि चुनाव सम्पन्न हुनु अघि, मत गणना हुनु अघि पूर्व समयमा नै यो ठाउँ मेरो, यो पद मेरो, यो कुर्सी मेरो, यो जिल्ला मेरो, यो क्षेत्र मेरो, यति सिट संख्या मेरो, म वा हामी यो देशका प्रथम शक्ति, दोस्रो शक्ति, तेस्रो शक्ति वा वैकल्पिक शक्ति भनेर किन भविष्यवाणी गर्दै हिड्छन् ?
के हाम्रा दल र नेता त्रिकालदर्शी हुन् ? के हाम्रा नेता भविष्य देख्ने अघोरी शक्ति हुन् ? के हाम्र नेता ज्योषितविद् हुन् ? के हाम्रा दल र नेता देवत्वग्रहण गरेका शक्ति र भक्तिप्रदायक हुन् ? यदि होइनन् भने किन आफ्नो जनमतलाई कदर गर्न सक्दैनन् ? भविष्यमा सम्पन्न हुने चुनावका नतिजा भविष्यलाई नै जिम्मा नछोडेर किन वर्तमानमा हावादारी गफ दिन्छन् ? चुनाव कुन सिस्टमले सञ्चालन गरिन्छ ? चुनाव कुन परम्पराले पूर्णता गरिन्छ ? चुनाव कुन ढङ्ग र ढाँचाले प्रयोग गरिन्छ ?
चुनावको मर्म र भावना कहाँ, चुनाव हुनुपर्ने कसरी हो र भइरहेको कसरी छ ? चुनाव मनवाद कि धनवाद ? चुनाव शक्तिवाद कि भक्तिवाद ? चुनाव गरवाद कि भरवाद ? चुनाव बाउवाद कि खाऊवाद ? चुनाव सिद्धवाद कि गिद्धवाद ? चुनाव पोषणवाद कि शोषणवाद ? चुनाव पलाऊवाद कि फलाऊवाद ? चुनाव जालवाद कि तालवाद ? चुनाव भक्तिवाद कि शक्तिवाद ? चुनाव देखवाद कि लेखवाद ? चुनाव साहुवाद कि राहुवाद ? चुनाव अदिवाद कि अन्यवाद ? चुनाव तेलवाद कि जेलवाद ? चुनाव ढालवाद कि खालवाद ?
चुनाव लछारवाद कि पछारवाद ? चुनाव कालवाद कि पालवाद ? चुनाव शत्रुवाद कि मित्रवाद ? चुनाव विकासवाद कि निकासवाद ? चुनाव लाभवाद कि हानीवाद ? चुनाव हावावाद कि तावावाद, चुनाव ढाटवाद कि बाँटवाद ? चुनाव चुसवाद कि पुशवाद ? चुनाव निचोरवाद कि थिचोरवाद ? चुनाव घुलवाद कि मूलवाद ? चुनाव डोकोवाद कि पोकोवाद ? चुनाव झोलेवाद कि खोलेवाद ? चुनाव जनवाद कि तनवाद ? चुनाव नेतावाद कि फेटावाद ? चुनाव राष्ट्रवाद कि फास्टवाद ? चुनाव संस्कृतिवाद कि विकृतिवाद ?
चुनाव हेरवाद कि फेरवाद ? चेनाव घुसवाद कि भुसवाद ? चुनाव फोहरवाद कि मोहरवाद ? चुनाव असलवद कि कर्मशीलवाद ? चुनाव लुटवाद कि जुटवाद ? चुनाव डरवाद कि करवाद ? चुनाव के हो ? चुनाव किन हो ? चुनाव केका लागि हो ? चुनाव कसका लागि हो ? चुनाव कहिले हो ? चुनाव कसरी हो ? चुनाव कुन हो ? कसैलाई थाहा छ ? चुनाव आयो, चुनाव आयो चुनाव आयो । के आयो ? हावा आयो, पानी आयो, असिना आयो, आकास फाट्यो ? धर्ती फाट्यो ? भयो के ? राष्ट्रिय पर्व चुनाव आयो ? कसका लागि आयो ?
जनताका लागि कि नेताका लागि ? चुनाव नहुँदै चुनाव नसकिँदै, चुनाव सम्पन्न नहुँदै मिडियामार्फत् यो दल यो पोजिशनमा भन्ने कुरा अग्रिम थाहा हुने, अग्रिम घोषणा र अग्रिम गफ हाँक्ने ? यो धनवादको चुनाव कहिले परिवर्तन हुन्छ ? सबैलाई थाहा छ कि हाम्रा जनता एक थाल धात र एक कटौरा मासुका पात्र हुन् ? कसैलाई घ्यूमा डुबाइदेऊ, कसैलाई महमा डुबाइदेऊ, कसैलाई रक्सीमा डुबाइदेऊ, कसैलई मासुमा डुबाइदेऊ, कसैलाई मनोरञ्जनमा डुबाइदेऊ, कसैलाई आशमा डुबाइदेऊ, कसैलाई भरोसामा डुबाइदेऊ । यसरी नै गर्ने चुनाव हो ?
चुनावमा मन जित्नु पर्दैन ? चुनावमा देश, राष्ट्र र मुलुक जित्नु पर्दैन ? चुनावमा जनता जनार्दन जित्नु पर्दैन ? चुनावमा पार्टीका सिद्धान्त र आदर्श जित्नु पर्दैन ? चुनावमा राष्ट्रका मर्म र भावना जित्नु पर्दैन ? चुनाव जित्ने कसले ? व्यक्तिले, शक्तिले, दलले, नेताले, मोर्चाले, गठबन्धनले, समूहले, यो भन्दा पर गएर चुनाव जित्ने कहिले ? धनभन्दा पर गएर चुनाव जित्ने कहिले ? चुनावमा उठ्ने पनि धनले, बस्ने पनि धनले, जित्ने पनि धनले, सबै–सबै धनले हो भने नियम किन चाहियो ? कानुन किन चाहियो ?
संविधान किन चाहियो ? धनभन्दा ठूलो मन हो कि होइन ? धन नाशवान हो तर मन अमर हो । अमरलाई जित्ने कि नाशवानलार्य जित्ने ? मिडियामा तीन करोड जनताको भावना नै नबुझी एकआध व्यक्तिले आफूले खर्च गर्न सक्ने शक्ति, धन, समूह र संगठनलाई मध्येनजरमा राखेर भविष्वाणी गर्ने ? जनतालाई खरिद–विक्रीको सामान बनाउने ? नेपालको संविधान २०७२ ले जनता, देश, राष्ट्र र मुलुकलाई कुन स्थान दिएको छ ? आफै लेख्ने, आफ्नो मेट्ने ? संविधानले लेख्यो कसले ? संविधान मेट्दै छ कसले ?
जनताका लागि जनताले जनताद्वारा लेखिएको संविधान भन्ने दल, नेता, पार्टीले किन जनतालाई नाङ्गो आँखाले देख्न सक्दैनन् ? किन लगाउनुपर्छ धनको चस्मा ? किन लगाउनु पर्छ डनको चस्मा ? किन लगाउनु पर्छ गनको चस्मा ? अब चुनाव आयो नभन, चुनाव गयो भन । किनभने यो चुनाव सत्य, तथ्यमा आधारित छैन ।
सत्यता नबोकेको तथ्यता नभएका र प्रमाण नबोकेका चुनाव आउनु र जानुमा कुनै फरक नै छैन । जबसम्म चुनावमा भएका विकृति र विसंगति हट्दैन तबसम्म यो आउनु र जानुको कुनै अर्थ पनि छैन । नेताले जबसम्म जनताको मन जितेर भोट प्राप्त गर्दैनन् तबसम्म नेता असल बन्दैनन् । नेता असल नबनेसम्म देश बन्दैन र देश नबनेसम्म जनताले दुःख पाइ नै रहन्छन् ।