काठमाडौँ डायरी : रापिलो एयरपोर्टमा औलिएका अनुहारहरु….

खेमराज रिजाल
काठमाडौँ, ६ भदौ । भदौको सुरुआतमा पनि कडा खडेरीले रापिएको काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचेल उत्साह देखिँदैन । आउनेहरुको स्वागत भन्दा विदाई गर्नेहरुको बाहुल्यता छाएको विमानस्थल देख्दा एउटा मूर्दाघाटमा मलामीको उपस्थितिजस्तै देखिन्थ्यो ।

नेपाली कांग्रेसले राजधानीको सानेपामा आयोजना गरेको जनप्रतिनिधिहरुलाई स्वागत तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समापन मन्तव्य सुनेर हामी त्यहाँ पुगेका थियौं, सायद कसैलाई विदाइ गर्न । रामचन्द्र पौडेलले भनेका थिए, गाउँहरु किन रित्तिदै छन् ? खोई गाउँमा युवाशक्ति ?

हामीले गाउँहरु रित्तिन नदिनका लागि पूर्वाधारको कमीले हो कि भनेर पछिल्लो दशक त्यसैलाई केन्द्रित ग¥यौँ । विद्युत, पु¥यायौं, सडकसँग जोड्यौं, अस्पताल खोल्यौं, स्कुलका स्तरबृद्धि ग¥यौँ, तर पनि युवाहरु किन हरेक दिन विदेशिइरहेका छन् ? वरिष्ठ नेता रामचन्द्रको यो गम्भीर प्रश्न थियो, भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई ।

तर जनप्रतिनिधिहरुसँग यसको पेचिलो उत्तर थिएन, त्यसैले त जनप्रतिनिधिकै आफन्तलाई विदाइ गर्न हामी एयरपोर्ट पुगेका थियौँ । हो, पछिल्लो दुई दशक एयरपोर्ट स्वागत भन्दा विदाईस्थल बन्दै आएको छ । एयरपोर्टमा उत्साह छैन, निराशा छ । वैदेशिक रोजगारीको बाध्यता बनेको छ, एयरपोर्ट ।

क्रिम युवाहरुको अध्ययनको गन्तव्यको सहारा बनेको छ, एयरपोर्ट । एयरपोर्टमा आफ्ना कलिला सन्तानलाई समुद्रपार विदाइ गर्दा कुन अभिभावकका आँखा रसाउँदैनन् होला ? हामी पनि रसिला आँखामा उभियौं एक घण्टा जति एयरपोर्टमा ।

दैनिक हजारौं क्रिम जनशक्ति विदेश पलायन भइरहेका छन् । हजारौंलाई विदाइ गर्दा लाखौं आमा बुवाहरु रोइरहेका छन्, एयरपोर्टमा । साँझमा झलमल एयरपोर्ट हुँदा विदाई गर्ने आफन्तका आँखामा आँशु टल्केको देखिन्थ्यो । ती अभिभावकहरुका हुलमा सामान्य अभिभावकहरु मात्र छैनन् । मन्त्रीका परिवार एयरपोर्टमा, नेताका परिवार एयरपोर्टमा, सचिवका परिवार एयरपोर्टमा, अर्थात मुलुकमै औद्योगिक क्रान्ति गर्नुपर्छ भनेर उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेकाहरु पनि आफ्ना सन्तानलाई विदाई गर्न एयरपोर्टमा ।

एयरपोर्ट रोजाइँ हो कि बाध्यता ? यो प्रश्न सोधिरहँदा आफ्नो सन्तानलाई क्यानडा पठाउन एयरपोर्ट पुगेका एकजना अभिभावक भक्कानो छाडेर रोए । अलिबेरपछि मात्र उनको स्वर आयो, यहाँ बसेर कसरी भविष्यको चुनौती थेग्न सक्लान् हाम्रा सन्तानले । हामीले त व्यहोर्यौ बेथिति, तर हाम्रा सन्तानहरुले अस्त–व्यस्तता र बेथितिको शिकार भएर यहाँ बस्न चाहेनन् । रोजे एयरपोर्ट विदेशिनका लागि ।

शिक्षा भएर के गर्नु सिस्टम छैन । सर्टिफिकेट भएर के गर्नु गुणस्तर छैन, सडक भएर के गर्नु गतिलो गाडी छैन, अस्पताल खोलेर के गर्नु बिरामीलाई जाँच्ने चिकित्सक छैन । स्कुल खोलेर शिक्षक छैन । अतिरिक्त रकम नदिए सरकारी तलवमा चित्त बुझाएर काम गर्दैनन्, कर्मचारीहरु । बत्ती जोडेर के गर्नु परीक्षाभरी साँझमा लाइन गयो । एक घर एक धारा, तर धारामा पानी आउँदैन ।

मुख्य बजारको सडक किनारामा पिसाव फेर्नेहरुका लागि कानुनी कारबाही छैन । ठेकेदारले बनाएको सडक हस्तान्तरण नहुँदै भत्कन थाल्छ, कसैलाई मतलव छैन । ठेकेदारहरुले चलाएको मुलुक… । ती अभिभावक एकोहोरो बोलिरहे । सुन्न असहज शब्दहरु, तर सबै यथार्थ थिए ।

हो, रामचन्द्र पौडेलले भनेका थिए– बैदेशिक रोजगारीमा जानेहरुलाई गाउँमै रोजगारी दिन कृषि उद्योग स्थानीय पालिकाले सञ्चालन गरौं । त्यो कसरी सम्भव होला ? मैले मनमनै सोधिरहें, रामचन्द्रलाई । किनकि भदौको २ गते यति लामो खडेरी । बल्लतल्ल रोपेका धानका गराहरु चिराचिरा भएका छन् ।

इजरायलपछि जलस्रोतको विश्वकै दोस्रो धनी देश नेपाल हो, मैले सामान्य ज्ञानको एउटा पुस्तकमा पढेको थिएँ । तर त्यो स्रोतको यहाँ उपयोग हुन सकेको छैन । सदुपयोग हुन सकेको भए, दंगीशरणका टोपाराम चौधरीका खेतका गरा यसरी चिराचिरा परेर भदौमै धान सुक्ने थिएनन् ।

खनिएका डिप बोरिङलाई चलाउन विद्युत प्राधिकरणले तीन फेजको लाइन दिन कम्तीमा पनि एक बर्ष लगाउँछ । किसानलाई सरकारले मल दिन सकेको छैन । धान रोप्ने बेला चाहिने मल काट्ने बेला मात्र उपलव्ध हुन्छ । किसानहरु ब्ल्याकमा मल किन्न बाध्य छन् । जसोतसो मल राखे, सिँचाइ सुविधा छैन । कसरी रामचन्द्रले भनेजसरी कृषि उद्योग सम्भव होला ? तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक बर्षको बजेट हेरेँ ।

बजेटको ठूलो हिस्सा चालु खर्चमै । अरु पालिकाहरुको पनि मोटामोटी त्यस्तै हो । एनजिओका कार्यक्रम कहाँ छन् ? गोष्ठी र सेमीनारमा मात्रै । दातृ निकायका बजेटमा पनि त्यस्तै मनोमानी खर्च । करप्सन मात्र रोक्न सके पनि विकास निर्माण गुणस्तरीय हुन सक्थ्यो । सबथोकमा बेथिति मात्र भएपछि कसरी टिकाउने क्रिम जनशक्तिलाई ? सोही विमानस्थलमा एकजना व्यापारीले मुख खोले ।

मुलुक यति धेरै खाडलमा फसिरहँदा ठूला राजनीतिक दलहरुका महाधिवेशनमा अरबौं रुपैयाँ अनावश्यक रुपमा खर्च भए, विलासिताका नाममा । स्थानीय तहका चुनावमा पनि त्यसरी नै पैसा खर्चिए ती ठूला राजनीतिक दलहरुले । टिकट किन्नुपर्छ माथिल्लो समितिबाट । प्रचार–प्रसारमा भिन्नै खर्च व्यवस्थापन, त्यसपछि बिजयी बने भोजभतेरमा अनावश्यक खर्च । एउटा उपमहानगरपालिकाको वडाध्यक्षको चुनाव खर्च मोटामोटी आउँछ, ५५ लाख ।

उसले राज्यबाट पाउने पाँच बर्षको अवधिभरको सेवाले एक लाख पनि पुग्दैन । अहिलेसम्मको परिवेश हेर्दा १२ कक्षासम्म मात्रै नेपालमा पढाउने हो, आफ्ना बालबच्चालाई । त्यसपछि सुरु हुन्छ, विदेशका युनिभर्सिटी सर्च…। बुवा मैले फलानो मुलुकको पलानो युनिभर्सिटीमा एप्लाइ गरेँ, नाम निस्केको छ । सबै प्रोशेस मिलाउँदा ३५ लाख । तीन बर्ष पढाइ पूरा गरे भने एक बर्षमै यो खर्च मेकअप हुन्छ ।

यसरी कन्भिन्स गर्छन् छोराछोरीले बुवाआमालाई ? विवश छन्, अभिभावकहरु । अब कुनै दिन यस्तो पनि हुनेछ, ग्रामीण बस्तीहरु बालआश्रम र बृद्धाश्रमका रुपमा परिणत हुनेछन् । सिंगै गाउँ युवाविहीन हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यो परिदृश्यले यही बताइरहेको छ । बृद्धबृद्धाहरुको देश नेपाल…।