नवितनम युनियन बनाउने सोचमा छौं : अध्यक्ष लम्साल

लोकतान्त्रिक पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो । प्रजातन्त्र पुःनस्थपनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्ने अधिकार प्रत्यभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हितका र अधिकार प्राप्तिका लागि अग्रज पत्रकारहरूले युनियनको स्थापना गरेका हुन् ।

हाल मुलुकभरका करिब ७ हजार ४ सयभन्दा बढी पत्रकार युनियनमा आबद्ध छन् । २०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेसागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरेका थिए । श्रमजीवी पत्रकारहरुको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाश गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो ।

स्थापनाकालदेखि नै यसले पत्रकारहरुको हकहितमा आवाज उठाउँदै आएको छ । २०४८ सालमा स्थापना भएको यो संगठन यतिखेर व्यावसायिक तथा पेसागत रुपमा स्थापित छ । नेपालका सञ्चारकर्मीहरुलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । पछिल्लो पटक २०७१ भदौ २१ र २२ मा पोखरामा सम्पन्न आठौँ महाधिवेशन भएको थियो ।

त्यसपछि करिव ८ वर्षपछि हालै हेटौडामा नवौँ राष्ट्रिय महाधिवेशनबाट शिव लम्साल अध्यक्षमा निर्वाचित भएका छन् । प्रेस यूनियन श्रमजीवी पत्रकार, अबको प्रेस युनियनले गर्ने काम र श्रमजीवी पत्रकारका हकअधिकारलगायतका विषयमा गोरक्षकर्मी बालाराम खड्काले अध्यक्ष शिव लम्सालसँग गरेको कुराकानी सार संक्षेप ।

 स्वागत छ साता वार्तामा ?
 धन्यवाद तपाईँ अनि तपाईँको पत्रिकालाई मेरा विचारहरू राख्न दिएकोमा ।

 यो जितलाई कसरी लिनुभएको छ ?

 यो निर्वाचन पछिको जितलाई मैले खुसी र संगठन भित्रको अवसरको रूपमा लिएको छु । संगठन भित्रको पोजेशनलाई हेर्ने हो भने संक्रमिणकालीन घडीमा धेरै साथीहरूले संगठनको जीवन्त बन्छ अब संगठन चलायमान हुन्छ भनेर आशा धेरै छ ।

यो आशालाई पूरा गर्ने र साच्चिकै श्रमजीविहरूको संगठन, एउटा लोकातान्त्रिक र जिम्मेवार संगठन बनाउने र आशाहरू पूरा गर्ने चुनौती पनि सँगसँघै छ । यसलाई अवसर र चुनौतीको रूपमा मैले लिएको छु । निर्वाचन हो, हार–जित हुन्छ यो लोकतन्त्रमा स्वाभाविक प्रक्रिया हो । म जिते भनेर मात्तिने र हारे भनेर आत्तिनु भन्दा कसरी संगठन र श्रमजीवि पत्रकारहरूको पक्षमा काम गर्न सकिन्छ र मबाट साथीभाइले गरेको आशालाई पूरा गर्न सकिन्छ भन्नेमै लाग्नेछु । मेरो लागि यो जित खुसी र चुनौती दुवै हो ।

 लोकतान्त्रिक संस्था अलोकतान्त्रिक भयो भन्ने गुनासो छ नि ।

 लोकतान्त्रिक पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ सालमा भएको हो । प्रजातन्त्र पुःनस्थपनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न अधिकार प्रत्यभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हितका र अधिकार प्राप्तिका लागि अग्रज पत्रकारहरूले युनियनको स्थापना गरेको कुरा सबैलाई थाहै छ ।

श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्नसक्छ भन्ने उद्देश्यलले नेपाल प्रेस युनियनको जन्म भएको हो । स्थापनाकालदेखि नै यसले पत्रकारहरूको हकहितमा आवाज उठाउँदै आएको छ । तपाईँले भन्न खोज्नुभएको महाधिवेशन समयमै भएन भन्ने होला । अब मलाई हेटौटाबाट लोकतान्त्रिक पद्धति विधि विधान चलाउनुपर्छ भन्ने सबैले म्यान्डेट दिनुभएको छ । अब कोही साथीहरूलाई अन्याय हुन दिन्न ।

म पोखरामा चुनाव लडेर हारेपछि पनि सल्लाहकारको भूमिकामा थिएँ । मैले ४८ प्रतिशत मत ल्याए पनि दर्शकदीर्घामा बसेर मैले ८ वर्ष कटाएँ । अन्य जिल्लाका अध्यक्षहरूले बोल्नु हुन्थ्यो अगाडि जानुहुन्थ्यो । अब समयमै निर्वाचन हुन्छ र तपाईँले भनेजस्तै अलोकतान्त्रिक हुँदैन विधि, विधान र लोकतान्त्रिक संस्था लोकतान्त्रिक तरिकाले चल्छ ।

 निर्वाचनमा हार–जित स्वाभाविक हो भन्नुभयो, अब अर्को पक्षलाई कसरी सँगसँगै लैजानुहुन्छ ?

 हामी लोकतन्त्रमा विश्वास गर्ने लोकतन्त्रवादी हौँ । मैले पहिले पनि भने सल्लाहकार भएर ८ वर्षमा दर्शकदीर्घामा बसेँ । मैले हेटौडाबाट निर्वाचित भएर आएपछि पहिलो बैठकमा मसँग चुनाव लड्नुभएका अनिता विन्दुलाई सँगै राखेँ । मबाट त्यस्तो हुँदैन र हुने पनि छैन । सबै साथीहरूलाई सँगै लगेर अगाडि बढ्ने हो । अब हामीमा पूर्णतः गुट छैन ।

श्रमजीवी पत्रकार संस्थान प्रतिष्ठानमा काम गर्नेहरूको पक्षमा, लोकतन्त्रको पक्षमा खुलेर बोल्ने प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्र बचाउका लागि हामी लाग्ने छौँ । पहिले जस्तो अब प्रेस युनियन होइन अब नयाँ र नवीतनम युनियन बनाउनेमा हाम्रो प्रयास हुनेछ तर कोही कसैले कुनै स्वार्थ र यो वा त्यो कुरा भन्छ भने मलाई भन्नु केही छैन । अब पहिले जस्तो पार्टी अन्य कोही अमुक व्यक्तिहरूको युनियन हुने छैन ।

 कस्तो प्रेस युनियनको परिकल्पना गर्नुभएको छ ?

 अबको प्रेस युनियन श्रमजीवीहरूको पक्षमा काम गर्न केही पहिले म महासचिव हुँदा चालेका अधुरा कामहरू पूरा गर्ने । पत्रकारहरूलाई प्रविधि, तालिमहरू दिएर दक्ष बनाउने । केन्द्र, प्रदेश र जिल्लामा विभिन्न नयाँ–नयाँ तालिमहरू सञ्चार संस्थाहरूलाई कसरी आर्थिक रूपले बलियो बनाउन सकिन्छ र गुणस्तर कायम गर्न सकिन्छ भनेर कार्य गर्ने ट्रेडयुनियनवादमा आधारित प्रेस युनियनको परिकल्पना हामीले गरेका छौँ । अब कोही कसैले पनि अन्याय भयो, संगठनमा अपहेलित भएँ भन्ने महसुस हुनेछैन र पत्रकाहरूको संगठन हो भन्ने र श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण ट्रेडयुनियन अधिकार स्थापित गर्ने एउटा गौरवको प्रेस युनियन हाम्रो परिकल्पना हो ।

 श्रमजीवीहरूको पक्षमा बोल्दैन भन्ने छ नि युनियन ?

 पहिले के भयो भन्दा पनि अब के गर्ने भन्ने हो । मैले म निर्वाचन भएपछि लगत्तै न्यूनतम पारिश्रमिक समितिको बैठक बसालेको छु, विभिन्न संघसंगठनका साथीहरू सहित । अब श्रमजीवीहरूको मिनिमम तलव ५० हजार हुनुपर्छ । अन्य कर्मचारीहरूको तलव वर्षेनी बढेको छ । त्यस्तै सञ्चार संस्थानहरूलाई व्यवस्थित र आर्थिक रूपले सम्पन्न गराई त्यहाँ काम गर्नेहरूलाई घरव्यवहार चलाउने, परिवार पाल्ने गरी पारिश्रमिक दिनुपर्छ भन्ने कुरा पनि आएको छ ।

म पनि त्यसको पक्षमा आवाज उठाएको छु । त्यस्तै केन्द्र र जिल्लामा रहने सञ्चार संस्थाहरूलाई एउटै सुविधा हुनुपर्छ भन्नेमा छु । कर्मचारीको तलव वर्षेनी बढेको, व्यवस्थित सस्टेन गराउनुपर्ने दाङको गोरक्षले पनि समान पाउनुपर्ने, त्यो बाटोमा संचार प्रतिष्ठानको विकासका लागि आन्दोलनमा अब हामीले मिनिमम घरव्यवहार चल्ने गरी, श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि स्थापना भएको संस्थामा नेतृत्व गर्नेले श्रमजीवीको पक्षमा नबोल्ने कुरै हुँदैन ।

 अन्त्यमा केही भन्नु छ ?

 श्रमजीवी पत्रकारका बारे केही कुरा राख्ने अवसर दिएकोमा तपाई अनि तपाईको लोकप्रिय पत्रिकालाई धन्यवाद दिन चाहन्छु । मलाई प्रेस युनियनको अध्यक्षमा विश्वास गरी हेटौडामा भएको महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।

यो ३ वर्षको कार्यकालमा मैले सबैको साथ र सहयोगबाट यहाँहरूले लिएका आशालाई निराशामा परिणत हुन नदिने गरी संगठनलाई विधिविधानबाट श्रमजीवी पत्रकारहरूको हक, हित र संगठनमा आबद्ध कोही कसैलाई पनि अन्याय हुन नदिने गरी काम गर्नेछु । श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्नसक्छ भन्ने उद्देश्यले खोलिएको यस संस्थाको नेतृत्व गर्ने अवसर दिएकोमा सवैलाई धन्यवाद दिन चाहन्छु ।