युवा पिढीमा बढ्दो विदेशी संस्कृतिको प्रभाव

भुवन पोख्रेल
पछिल्लो समयमा हाम्रो मौलिक संस्कृति र परम्परा हराउँदै छ र आधुनिक भनिने युवा पिढीमा पाश्चात्य संस्कृतितर्फ बढी मोह देखिन थालेको छ । वर्तमान भूमण्डलीकरणको युगमा सूचना र प्रविधिले विश्लाई एउटा समुदायको रुपमा नजिक तुल्याएको छ ।

विश्वलाई यति सानो बनाइदिएको छ कि यो हरेक व्यक्तिको मुठ्ठीमा छ । अरुको संस्कृति हेर्नु आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नुपर्छ । तर युवा पिढीले आफ्नो मौलिक संस्कृतिलाई विस्थापित गर्दै अरुका संस्कृतिलाई भिœयाउन थालेका छन् । आफ्नो मोलिकता हराउने डर त छँदैछ । त्यति मात्र नभइ आयातीत परम्परा भड्किला र खर्चिला पनि छन् ।

घाँटी हेरी हाड निल्नु भन्ने कुरालाई हामीले भुल्नु हुँदैन । यस्ता भडिकला संस्कारले समाजमा तडकभडक बढ्नुका साथै आर्थिक भार पनि थपिन पुगेको छ । यसले वर्गीय असमानताका साथै यस्ता परम्परा अनुसार चल्नै पर्ने सामाजिक दबाब पनि बढिरहेको छ । यसले सामाजिक विकृतिको रुप लिइसकेको छ ।

हामी युवा पिढी आधुनिक बन्ने धुनमा हाम्रो पूर्वजले तय गरेका जन्मदेखि मृत्युसम्मका पूर्वजले तय गरेका संस्कारलाई भुल्यौँ । गर्भको शिशु सकुशल जन्मियोस् भनी गर्भवती आमालाई परिवारका सदस्यले दही चिउरा खुवाउने र मान्यजनलगायतले आशीर्वाद दिने परम्परा नेपाली मौलिक संस्कार हो तर अहिले यो परम्परा विस्थापित भइ यसको ठाउँ आज पश्चिमाहरुको ‘बेबी सावर’ ले लिएको छ ।

बच्चा जन्मिसकेपछि न्वारन, पास्नी गर्दै हाम्रो आफ्नै संस्कृति छ । आजभोलि पास्नी भनिँदैन, राइस फिडिङ सेरेमनी गरिन्छ, धुमधाम र भड्किलो ढङ्गले । पैसा हुनेले लाखौँ खर्च गरेर धुमधामले पार्टी दिन्छन्, नहुनेले सामाजिक दबाब पर्दछ । त्यसैगरी बिहे, वर्तबन्ध पनि भड्किलो बन्न पुगेका छन् । अहिले यी संस्कारलाई परम्पराको रुपमा लिइन्थ्यो । अहिले फेशन र क्षमता प्रदशन र औकात देखाउने मौका बनिरहेका छन् । अहिले विवाह एक दिनमा सम्पन्न हुन्थ्यो ।

अहिले कम्तिमा २ देखि बढीमा एक हप्तासम्म हुने गरेको पाइन्छ । पहिले बिहे पक्का गर्न जनैसुपारी गरिन्थ्यो र लगन हेरेर परम्परा र चलनचल्ती अनुसार मौलिक बाजा(नौमती वा पञ्चे बाजा) बजाएर बेहुली लिन बेहुला सहित बेहुलीको घरमा जन्ती जाने चलन थियो । तर आजभोलि मेहन्दी वा हल्दी प्रोग्राम हुने गर्छ र जनैसुपारी भँिदैन । इन्गेजमेन्ट सेरमनी भनिन्छ र ती सेरमनीमा मनीको ओइरो लाग्ने गर्छ ।

हामीले बुक्का घस्ने परम्परा भुल्द ै अहिले विवाहको दुई दिन अघि बेहुलीको घरमो बेहुलासहित भएर नाचगान बाजागाजा सहित मेहन्दी रस्म पूरा गरिन्छ । फेरि विवाहको अघिलो दिन बेहुलाको घरमा हल्दी रस्म पूरा हुन्छ । त्यसपछि खर्चिलो फोटो सुट सम्पन्न हुन्छ । यस्ता रस्ममा हुने खर्चले सामान्य परिवारका छोराछोरीको विवाह सम्पन्न गर्न सकिन्छ ।

अहिले नेपाली समाजमा गरिने विवाहको तामझाम र खर्च देख्दा लाग्दछ कतिपय नेपाली आर्थिक सम्पन्ताले भरपुर देखिन्छन् । यस्तो लाग्छ त्यसको अर्थतन्त्र टाँट पल्टिन लागेको कुरा सबै बकवास हो । देशको अर्थतन्त्र कमजोर हुँदै गए पनि समाजमा पैसा कमाउने र प्रदर्शन गर्नेको होडबाजी बढिरहेको देखिन्छ । ठूला र सम्पन्न भनिने वर्गले आफ्नो छोराछोरीको बिहे ठूला–ठूला तारेहोटलमा गर्छन्, त्यसको दबाब विपन्न र निम्नमध्यम वर्गमाथि पर्दछन् ।

अचेलका छोराछोरीलाई ऋण काडेर जग्गा बैंकमा धितो राखेर उच्च र गुणस्तरीय शिक्षा–दीक्षा दिँदै बुबाआमाको ढाड सेकिसकेको हुन्छ । पढाइ पूरा हुँदा नहुँदै छोराछोरी बिहे गर्ने उमेरमा पुगिसकेका हुन्छन् । आजभोलि विवाह प्रायः मागीभन्दा प्रेम विवाह बढी गर्ने प्रेम विवाहमा केटाकेटीको आर्थिक हैसियत पनि नमिल्नसक्छ । कतिपय अवस्थामा सन्तानको रोजाइलाई स्वीकार गर्नुपर्ने वाध्यता हुन्छ ।

उनीहरुको रुचीअनुसारको तरिकाले पार्टी प्यालेसमा पार्टी गरिदिँदा अभिभावकलाई आइपर्ने सामाजिक र आर्थिक जटिलता सन्तानले बुझिदिएको हुँदैनन् । केटा र केटीले पनि आफ्नो बुबाआमाको आर्थिक हैसियत बुझेर सामान्य टिकोटालो गरेर बिहे गरौँ पढाइमा धेरै खर्च गरेका छौँ भन्ने हिम्मत गरेको देखिँदैन ।

शिक्षित भनिएका युवा पिढीमा पनि आफ्नो हैसियतभन्दा पनि समाजको डर र चिन्ता छ । शिक्षित छोराछोरीले विदेशी संस्कृतितर्फ आकर्षित भइदिँदा बुबाआमालाई छोराछोरीको रहर पूरा गरिदिने नाममा ऋणको भारी बोक्नु परेको छ । बुबाआमाले सन्तानको इच्छा र रहर पूरा गरिदिने नाममा सकिनसकी विवाहलाई भड्किलो बनाइरहेका छन् । आफ्नो मौलिक परम्परालाई कुल्चेर विदेशी संस्कृतितर्फ रमाउने युवा पिढी हुँदा संस्कृतिभन्दा बढी विकृति भित्रन पुगेको छ ।

संस्कृतिको प्रकृति नै परिवर्तनशील छ तर संस्कृति जोगाउने नाममा संस्कृतिभित्र रहेका रुढीवादी परम्परा र अन्धविश्वासजस्ता अमानवीय थोत्रा र पुराना चलनलाई बोकिराख्नु हुँदैन । संस्कृतिभित्र जकडिएर रहेका कूप्रदा र अन्धविश्वासलाई हटाएर नयाँ संस्कृतिको निर्माण गर्नुपर्छ, युवा पिढीले । संस्कृति मानवीय तत्व जैविक होइन । मान्छेका विश्वास र अभ्यास पनि यसैमा पर्दछन् । संस्कृति मानिसको जीवनशैली, रहनसहन, भेष्भुसा, परम्परा रहनसहन हो । संस्कृति समाजको धरोहर हो ।

पुर्खाले साचेर राखेको अमूल्य सम्पत्ति र हाम्रो मौलिक चिनारी हो । यसको संरक्षण, सम्बद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण हाम्रो दायित्व हो । आयातीत संस्कृतिका नकारात्मक तत्वहरु पहिचान गरी फैलनबाट रोक्नु पर्छ र मिल्काउनु पर्छ । यसैसँग हिन्दू जात, प्रथा र संस्कृतिमा भएका नकारात्मक तत्वहरु हटाउनु पर्छ भनी प्रसिद्ध समाजाशस्त्री डोरबहादुर विष्टको निचोड छ । नेपाली मौलिक संस्कृतिमा छिमेकी मुलुकु भारत र पश्चिमा मुलुकका आयातीत संस्कृतिले यदाकदा हस्तक्षेप गरिरहेका त छैनन् भन्ने प्रतीत हुन्छ ।

संस्कृतिसँग विशिष्ट सभ्यता पनि आउँछ । हामीले अभ्यास गरिरहेका संस्कृति कतिपय अवस्थामा सभ्याताको चरणमा नपुगेका हुन्छन् । त्यसैले आफ्नै संस्कृति र धर्ममाथि प्रश्न गरिन्छ । कुरीतिहरु हटाउनु पर्छ, यसमा दुईमत छैन तर हिन्दू धर्म संस्कृतिको कुनै पनि संस्कार वैज्ञानिक शिक्षाअनुसार आएका छन् भन्ने प्रत्येकले बुझ्न जरुरी छ । पश्चिमाहरुले विस्तारै नेपाली सस्कृतिमाथि आक्रमण गर्दै छन् । यसमा हामी बेलैमा सचेत बन्नु पर्छ । संस्कृतिले सिङ्गो राष्ट्रको जीवनशैलीलार्य चिनाउँछ ।

आधुनिक शिक्षा र प्रविधिले हिजोका आदर्श विचारमाथि हस्तक्षेप गर्नु पनि संस्कार र संस्कृतिकै बाधक भएको देखिन्छ । संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । बच्चाले सर्वप्रथम संस्कृति परिवारबाटै सिक्दछ । संस्कृति सामाजिक सामूहिकतामा आधारित हुन्छ । यो व्यक्तिगत कुरा होयन । मानव समाजमा फरक–फरक संस्कृति हुन्छन् । संस्कृतिले व्यक्तिहरु निर्माण गर्छ साथै व्यक्तिले संस्कृति पुनःनिर्माण गर्छन् । कुनै संस्कृति राम्रो, कुनै नराम्रो हुँदैन । सबै संस्कृति आफ्नै वैशिष्ट्य हुन्छन् ।

नेपाली संस्कृतिमा परम्परागत रोटी, मिठाइ, कुराउनी आदि परिकारलाई विस्तारै केकले विस्थापित गर्दैछ । केक नभए जन्मोत्सव, विवाह, पार्टी, आदि सबै फिका लाग्ने र रमाइलो कम हुने ठान्दछन्, युवापिढी । केकबिना कसैको जन्म दिन वा एनिभर्ससरी वा अरु कुनै उत्सव पूर्ण हुन्छ जस्तो लाग्दैन, अहिलेका पिढीलाई । केक काट्ने, मैनबत्ती निभाउने, स्प्रे छर्ने यी सबैमा केटाकेटी खुसी हुन्छन् भनी अभिभावकले उनीहरुको खुसी हेर्ने, यसरी जन्मदिन मनाइदिन्छन् ।

जसले गर्दा मन्दिर जाने, आफूभन्दा ठूलासँग आशीर्वाद लिने, गरिब–दुखीलाई जन्म दिनमा सहयोग गर्ने आदि संस्कार सिकाउन कमी देखिएको छ । कुनै नयाँ कामको सुरुवात गर्द होस् वा कुनै काम सम्पन्न हुँदा पनि केक काट्ने अनि खादै पश्चिमा शैलीमा शुभकामना दिने प्रचलन मौलाउँदै आएको छ । परम्परागत चाडपर्व आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने, भाइटीकाजस्ता, परीक्षामा उत्तीर्ण हुँदा समेत केक काट्ने उपभोगवादी संस्कृति नेपाली समाजमा बन्दै गएपछि विदेशी संस्कृतिको प्रभाव पनि बढ्न थालेको पाइन्छ ।

विदेशी संस्कृतिमा अहिलेको युवा पिढी रमाउने हुँदा हाम्रो मौलिक चिनारी पनि हराउने त होइन ? हाम्रा संस्कारहरु, गर्भधारण, जन्म, न्वारन, पास्नी, गुन्योचोली, ब्रतबन्ध, विवाह, वर्षगाँठ आदि सबै कम खर्चमा र तडकभडक नगरी सभ्य तरिकाले भव्य रुपले सम्पन्न गर्न सकिन्छ । यस्ता स.स्कार आ–आफ्नो धर्म परम्पराअनुसार रमाइलो ढङ्गले सम्पन्न गर्न सकिँदैन र ? यी संस्कार तारे होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसमा सम्पन्न गरे सभ्य र भव्य हुने तर आफ्नै पारिवारिकि जमघटमा धार्मिक विधि पु¥याएर गर्दा आर्थिक हैसियत नभएको भनेर समाजमा हेपिनु पर्छ कि भन्ने डर नपालौँ ।

संस्कार सभ्य र मितव्ययी ढङ्गले सम्पन्न गर्नुपर्छ । एकदमै देखावटी र तामझामपूर्ण ढङ्गले सम्पन्न गर्दैमा संस्कार हुने होइन । संस्कार त सानैदेखि आफ्ना सन्तानलाई घरपरिवारले सिकाउन सक्नुपर्छ । यस्ता विवाह, ब्रतबन्ध, वर्षगाँठजस्ता कार्यक्रम गर्ने अनावश्यक खर्चलाई कटौती गर्दै जानु पर्दछ । यस्ता कार्यक्रम मितव्ययी ढङ्गले सम्पन्न गरी बचेको पैसा हामीले विद्यालयमा गरिब विपन्न, असहाय बालबालिका लागि छात्रवृत्ति अक्षयकोष स्थापना गर्दा कसैको जीवनमा केही कल्याण गर्न सक्छौँ ।

वृद्धाश्रममा त्यो पैसा सहयोग ग¥यौँ भने ज्यष्ठ नागरिकको आशीर्वाद पाउँछ । त्यो फजुल खर्चलाई मानवकल्याणका निम्ति खर्च ग¥यो भने हामीलाई सन्तुष्टि पैदा हुन्छ । तपाईँसँग प्रशस्त पैसा छ भने त्यसलाई उत्पादक क्षेत्रमा लगानी गर्नुहोस्, त्यसले २÷४ जनाले रोजगारीको अवसर पाउँछन् । समाजमा खोक्रो आडम्बर देखाउन भोजभतेर गरेर अनुत्पादक क्षेत्रमा लगानी गर्दै नगरौा ।

भोजभतेर गरौँ तर सीमित घरपरिवार र आफन्तको बीचमा रमाएर मनाऔँ तर तारेहोटलहरुमा लाखौँ, करोडौँ खर्चेर होइन । सामाजिक प्रतिष्ठा प्राप्त गर्न त सामाजिक काम गरेर सबैमो मन दित्नु पर्छ । तडकभडक गर्ने व्यक्ति र परिवारलाई समाजमा त्यति मन पराइँदैन । धनसम्पत्ति रवाफ देखाउनेलाई कसैले प्रतिष्ठा गर्दैन ।

आफूले जिन्दगीभर मिहिनेत गरेर कमाएको सम्पत्ति आफ्नो खुसीको लाग खर्चन पाउनु हुन्छ तर पैसा नहुनेहरुलाई कसरी गर्जो टार्नु भन्ने छ । तपाईँको भड्किलो खर्चले समाजमा नहुनेलर्गलाई अनावशयक तनाव हुन सक्छ । नहुनेवर्गले समाजमा आफूलाई हेपिएको महसुस गर्नसक्छ । समाजमा विभिन्न जातजाति, धर्म, परम्परा, भाषा, संस्कृति, निम्नवर्ग, मध्यमवर्ग, उच्चवर्गका मानिसहरु बसोबास गर्दछ । विविधतामा एकता आपसी सहिष्णुता हाम्रो संस्कृतिको विशेषता हो ।

नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुमौलिक, विशेषता भएको मुलुक हो । अनेकतामा एकता हाम्रो संस्कृतिको विशेषता हो । यहाँ आ–आफ्ना धर्मावलम्बीका आफ्नै चाडपर्व र संस्कार छन् । यस्ता चाडपर्व र संस्कारले मानिसमा रौनक र हर्षोल्लास पनि थप्दछ । चाडपर्व र संस्कार मनाउनु हाम्रो मौलिक पहिचान जोगाउनु हो ।

अहिले चाडपर्व र संस्कार विकृति पनि बढेको छ । आफ्नो घाँटी नछामी हाड निल्न खोज्ने प्रवृत्ति हाम्रो नेपाली समाजमा व्याप्त छ । देखासिकी गरेर आफूले सकिनसकी खर्च गर्ने, अरुले घोडा चढ्दा आफू धुरी चढ्न खोजनुले दसैँ, तिहार, ल्होसार, विवाह, व्रतबन्धजस्ता संस्कार बाँझै बन्न पुगेका छन् । ऋणको महँगो भारी बोकएर यी चाडपर्व र संस्कार बिदा हुनु विडम्बना हो । संस्कृति बचाऔँ, शिक्षित, सभ्य बनौँ । संस्कार धनसम्पत्तिमा होइन सभ्यतामा बाँच्दछ ।