एयरपोर्टकै लागि संघर्ष, बाउजर रोक्न गेटमा ताला

  •   
  •  

बालाराम खड्का
तुलसीपुर, १६ साउन । कहिले घाँसे मैदान कालोपत्रे त कहिले नियमित जहाज सञ्चालन । कहिले एयरपोर्टको स्तरोन्नति र विकासका लागि यहाँका जनताले संघर्ष गर्नुपर्ने बाध्यता छ । एयरपोर्टमा भएको बाउजर फिर्ताको विषयले आइतवार विहानैदेखि तुलसीपुर तातिएको छ । दिनभर सामाजिक सञ्जालदेखि स्वयं एरपोर्टमा पुगेर विरोध गर्नुपर्ने अवस्था आयो यो क्षेत्रका नागरिकलाई ।

टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि त्यसका विरोधमा स्थानीयले विमानस्थलमा तालाबन्दी गरेका छन् । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा ताला लगाइदिएका छन् ।

आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएसँगै उपप्रमुख चौधरी, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसीलगायतको टोली एयरपोर्टमा पुगेको थियो । वि.सं. २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलोपटक २ महिनाअघि टरिगाउँ एयरपोर्टमा ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेका बेला दुईवटा गेटमा ताला लगाईएको हो ।

जहाजमा तेल भर्नका लागि गएको जेठ १२ गते ११ हजार लिटर क्षमताको बाउजर ल्याइएको थियो । त्यही बाउजर पनि फिर्ता लैजान थालेपछि सर्वसाधारणदेखि स्थानीय जनप्रतिनिधि, व्यवसायी सबै विरोधमा उत्रिएका हुन् । उपप्रमुख चौधरीले कुनै पनि हालतमा बाउजर मेसिन फिर्ता जान नदिने र त्यस्तो स्थिति उत्पन्न भए सर्वसाधारण नागरिकलाई साथमै लिएर सडकमै सुत्ने बताइन् । ‘कुनै पनि हालतमा हामीहरुले यो बाउजर मेसिन फिर्ता लिन दिनौँ’ उनले भनिन् ।

वडाध्यक्ष खुसीराम चौधरीले पनि दाङको एकमात्र टरिगाउँ एयरपोर्टको विकासले विस्तारै गति लिइरहेको समयमा इन्धन भर्नका लागि आएको उपकरण फिर्ता लैजानु विकासमा भाँजो हाल्ने षड्यन्त्र भएको बताए । ‘हामी यो उपकरण कुनै पनि हालतमा फिर्ता लैजान दिनेछैनौं,’ उनले भने– ‘बरू जस्तोसुकै संघर्ष गर्नुपरे पनि हामी तयार हुने छौं ।’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जनताको चाहना र भावनाविपरीतका कार्य भए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा राज्यले लिनुपर्ने बताए ।

संघका महासचिव विनिल केसीले एयरपोर्ट सुरू भएको दशकौं पछाडि बल्ल तल्ल आएको इन्धन भर्ने बाउजर फेरि फिर्ता लैजाने कुराले जिल्लावासी निराश भएको बताए । यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले हवाई इन्धन डिपो कार्यालय दाङ तुलसीपुरका प्रमुख विपिन श्रेष्ठलाई ज्ञापन–पत्र बुझाएको छ । बाउजर मेसिन फिर्ता लैजाने निर्णयको विरोधमा वाणिज्य संघका पदाधिकारीले प्रमुख श्रेष्ठलाई ज्ञापन–पत्र बुझाएका हुन् । अध्यक्ष रामप्रसाद चालिसे र महासचिव विनिल केसीलगायतले टरिगाउँ एयरपोर्ट परिसरमै प्रमुख श्रेष्ठलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले दाङका लागि ल्याइएको बाउजर फिर्ता लैजाने प्रक्रिया यथाशीघ्र रोकिनुपर्ने बताएका छन् । यदि बाउजर फिर्ता लैजाने प्रक्रिया नरोकिएमा दङाली जनता सडकमा उत्रन बाध्य हुने चेतावनी दिए । ‘टरिगाउँ एयरपोर्टमा फ्युल भरेर राखेको बाउजर दाङबाट बाहिर लैजाने लागेको भन्ने सूचना आएको छ, । यो नै हो भने तुरुन्त रोकिनुप¥यो, आयल निगम केन्द्र क्षेत्रीय नेपालगन्ज, दाङले निर्णय तुरुन्त फिर्ता गर्नुप¥यो, अन्यथा दङालीहरु सडकमा उत्रन बाध्य नबनाइयोस्’ प्रमुख खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ।

ईन्धन डिपो कार्यालय दाङका प्रमुख बिपिन श्रेष्ठले बाउजर फिर्ता नभई रिप्लेस गर्न लागिएको बताए । दाङमा ३ देखि ४ सय लिटर मात्रै ईन्धन बिक्री हुने भएकाले केन्द्रले मासिकरुपमा दाङमा इन्धन पठाउने गरेर अहिलेको बाउजर लैजाने र अर्को गाडी दाङको लागि पठाउने तयारी गरेको उनले बताए । अहिलेको टरिगाउँमा भएको बाउजरमा ११ हजार लिटर ईन्धन अट्ने र यो काठमाडौं पठाएर यसको सट्टामा १६ हजार लिटर इन्धन अट्ने ट्याङ्कर आउने प्रमुख श्रेष्ठले बताए ।

तर आफूले भने दाङका जनताले बाउजर फिर्ता लैजान नमान्ने भनेर केन्द्रमा जानकारी गराइसकेको बताए । ‘यहाँका जनताले एयरपोर्टको लागि सरकारले बजेट नछुट्याउँदा त हामी आफै एयरपोर्ट बनाउँछौ भनेर लाग्नुहुन्छ, मैले भनेको छु, बाउजर फिर्ता कसरी गर्न मान्नुहुन्छ’, उनले भने– ‘केन्द्रबाट अर्को गाडी पठाउँछौ भनेर आवश्वासन केन्द्रबाट आएको छ ।’

टरिगाउँ विमानस्थल २०११ सालमा सञ्चालनमा आएको थियो । पटक–पटक बन्द हुने र सञ्चालन हुने प्रक्रिया चलिरहह्यो । २०१३ सालदेखि २०४२ सालसम्म घाँसे मैदान छँदै दैनिक नियमित विमान सञ्चालन भएको थियो । २०४३ सालमा बन्द भएको हवाई सेवा २०४८ सालमा फेरि सुरु भएको थियो । फेरि २०५४ सालमा बन्द भएर २०५९ पुनः सञ्चालनमा आएको थियो । २०६३ सालमा पुनः बन्द भएको विमान सेवा २०७६ सालदेखि नियमित उडान भइरहेको छ ।

हवाई उडानको दृष्टिकोणले दाङको टरिगाउँ एयरपोर्ट नेपालगञ्जभन्दा सुरिक्षत मानिन्छ । हवाइ इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेपछि जहाजमा इन्धन भर्न ११ हजार लिटर क्षमताको बाउजर २०७८ मा ल्याउने काम भएको हो । हवाई इन्धन डिपो नहुँदा काठमाडौं–दाङ र दाङ–काठमाडौंका लागि उडान भर्ने विमानले यात्रु बस्ने ठाउँमा इन्धन राखेर ल्याउने गरेको छ । त्यसको कारण जहाजले सिटभन्दा कम यात्रु बोक्ने र हवाई भाडासमेत महंगो हुने गरेको छ ।

इन्धन डिपोको काम सुचारु र बाउजर आएपछि यहाँका नागरिकमा उत्साह आएको थियो । यात्रु बोक्ने ठाउँमा इन्धन बोक्नुपर्ने समस्या अन्त्य हुने र ठूला जहाजले पनि उडान भर्ने भएकाले यस क्षेत्रका नागरिकले सहजरुपमा हवाई सेवा पाउने आशमा समेत थिए भने ठूला जहाज पनि आउँछन् भन्ने अपेक्षा गरेका छन् ।

‘आइसकेको मेसिन फेरि फिर्ता लैजानु भनेको एयरपोर्टको भविष्य थप अनिश्चित हुने हो’, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले भने– ‘यो कार्य रोक्नुको विकल्प हामीसँग छैन ।’ बाउजरको प्रयोग गरेर यहाँका नागरिकलाई सहज हवाई सेवा दिने राज्यको प्रमुख दायित्व भएको समेत उनले बताए । ‘यसमा राज्यले खेलवाड गर्न मिल्दैन । नागरिकलाई आतंकित बनाउँदै यहाँ आएको बाउजर राज्यले लगेमा त्यसले भविष्यमा यहाँको हवाई क्षेत्रको विकासप्रति असर गर्छ’, उनले भने– ‘त्यसको लागि नागरिकको खबरदारी त्यत्तिकै आवश्यक छ । त्यो अनुसार हामीले गरेका छौँ ।’