किसान डायरी : अँध्यारो देख्दा मन चंग, उज्यालो देख्दा खिन्न

खेमराज रिजाल
दाङ, १४ साउन । तुलसीपुर उपमहानगरपालिका–१७ का किसान पुष्पाको परिवार बिहीवार विहानैदेखि हौसिएको छ । सोही वडाकै लोहार्नेमा उनको खेत छ । जसोतसो चालीस दिनअघि राखेको व्याड छिप्पिइसकेको छ । अहिलेसम्म पनि कुलो चल्नेगरी झरी परेन, त्यसैले व्याड छिप्पियो ।

‘आजैदेखि व्याड काड्ने तयारीमा छौं, पानी परिरहे शुक्रवार रोपाइँ गर्ने छौं’, पुष्पाले भनिन्– ‘अझै एक साताभित्र रोप्न पाए छिप्पिएको व्याड भए पनि फल्छ । उहिल्यै एकपटक बर्षातको मौसममै परेको लामो खडेरीका कारण भदौ पहिलो साता पनि खेत रोपेको अनुभव पुष्पासँग छ । बुधवार साँझदेखि परेको बर्षातले पुष्पाको परिवारलाई हौस्याएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१९ मनिकापुरका किसान टोपबहादुर जनैदारको परिवार पनि छिप्पिएको व्याडमा छिरिसकेको छ । बिहीवार व्याड काड्ने र शुक्रवार रोपाइँ गर्ने जनैदार परिवारको योजना छ । आकास कालो देख्दा मन चंग हुन्छ, आकाश उज्यालो देख्दा मन खिन्न हुन्छ, जनैदार परिवारको । मानो फालेर मुरी फलाउने आशामा इनारको पानी तानेर जसोतसो व्याड राखेका थिए, मनिकापुरबासीले ।

तर व्याड रोप्ने समय हुँदा पनि पानी परेन । झरी राम्रो परेको भए सक्रामखोलाको कुलो मनिकापुर भरी हुन्थ्यो । मनिकापुरबाट उप्रेको पानी झरनका रुपमा झिंगै लोहार्ने, बघौसीसम्म जान्थ्यो, जसले समयमै रोपाइँ हुन्थ्यो । तर यो बर्ष झरी समयमा नपर्दा मानपुर क्षेत्रको करीब ९० प्रतिशत धान खेत बाँझै रहेको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष थलराज पुरीले बताएका छन् ।

पुष्पा र टोपबहादुरको परिवार मात्र होइन, तुलसीपुर उपमहानगरपालिका–१८ की विमला केसीको मन पनि दंग छ । झरीले विरक्त हुने किसान मन यसपालीको झरीमा भने फुरुङ छ । झरी केही दिन जारी रहे मनिकापुर फाँट पनि पुरै रोपाइँ भैसक्ने योजनामा छन्, स्थानीयबासीहरु । मनिकापुरमा जसोतसो यसपालि बृहत् दाङ सिँचाइ योजनाको डिप बोरिङबाट पानी राम्रो आए पनि कुलोसम्म पुराउने पाइपलाइन विस्तारको काम बाँकी रहेकाले आश्रित किसानले समयमै धान रोप्न पाएका छैनन् । अब आकाशे पानीले धान रोपाइँ सम्पन्न हुनेमा किसानहरु आशावादी छन् ।

समयमा रसायनिक मल पाउन नसकेका किसानहरुले जसोतसो चर्को मूल्यमा भारतीय सीमा बजारबाट ल्याइएको युरिया, डिएपीको जोहो गरे । सरकारले दिने गरेको अनुदानको मल एउटा परिवारलाई तीन लम्वर मात्रै बाँड्न पाउँथ्यो, सहकारी । मलमा ठगिएका किसान फेरि व्याड छिप्पिने गरी जलमा ठगिए । अर्थात प्रकृतिले समयमा बर्षात पनि दिएन । बुढापाकाहरुले यसलाई प्रकृतिले ठगेको भन्छन् ।

‘प्रकृतिमाथि चरम दोहन भएपछि मौसम पनि बरालिँदै गएको छ, प्रकृतिमाथिको अतिक्रमण नरोके झनै समस्या बढ्दै जाने छ’, दुधरासका समाजसेवी डिल्लीबहादुर डाँगीले भने । ठूला उद्योग सञ्चालन गरेर धेरै कर उठाउने नाममा यहाँका खोलानालाहरु सुक्दै गएको डिल्लीको भनाइ छ ।

पानीको सञ्चिती गर्ने चुनढुंगाको उत्खनन् अति भएपछि यसपाली ग्वारखोलामा पनि मूल फुटेको छैन । जसोतसो आएको पानी कुलामा चढिरहेको छैन । सिपेज भएर धेरै तल निस्कदा मानपुर, लुहाडवरा, लक्ष्मीपुर, जहदा गाउँलगायतका उर्बर भूमिमा समेत यसपटक किसानहरुले समयमा धान रोप्न पाएनन् । कतिपय किसानले त धानखेत मासेर मकैवारी बनाएको बताएका छन् ।

‘तुलसीपुर उपमहानगरपालिका–१६ का वडाध्यक्ष शिवानन्द डाँगी भन्छन्, खोला नालामा अव्यवस्थित एवं अनियन्त्रित उत्खनन्का कारण दाङकै उर्बर भूमि अझै बाँझै छ ।’ डाँगीकै भनाइमा तुलसीपुर उपमहानगरपालिकाका आधा जनसंख्यालाई खान पुग्ने खेती हुने स्थान भनेकै तुलसीपुर उपमहानगरपालिकाका १६, १७, १८ र १९ हुन् । तर यी वडाहरुमा अझै पनि दश प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन ।

नेपाललाई अझै पनि कृषिप्रधान मुलुक भनिन्छ । पछिल्लो तथ्यांक अनुसार यहाँ ६२ प्रतिशत नागरिकको मुख्य पेशा अझै पनि कृषि उल्लेख छ । तर यति धेरै संलग्न भएको यो पेशाबाट आएको उब्जनिले नेपाल अझै पनि आत्मनिर्भर हुन सकेको छैन । यहाँको कृषि अझै पनि गुजारामुखी मात्रै रहेको वडाध्यक्ष डाँगीको भनाइ छ ।

सरकारले कृषिलाई आधुनिकीकरण र वैज्ञानिक कृषिमा लैजान सकेको छैन । किसानलाई प्रोत्साहन छैन । न मल बीउ समयमा उपलव्ध हुन्छ, नत सिँचाइ सुविधाको प्रवन्ध मिलाउन सकेको छ सरकारले । सरकारको भूउपयोग नीति नभएकै कारण अहिले धेरै खेतीयोग्य जमिन अव्यवस्थित प्लटिङको चपेटामा परेका छन् ।

४५ प्रतिशत खेत बा“झै

यसैबीच जिल्लामा सिँचाइको राम्रो व्यवस्था नहुँदा र खेती अनुकूल बर्षात नहुँदा असार महिना सकिँदासमेत ४५ प्रतिशत खेत बाँझै रहेको छ । सिँचाइको सुविधा भएको देउखुरी उपत्यकासँगै डिप बोरिङको सुविधा भएका दाङ उपत्यकाभित्रका केही ठाउँमा रोपाइँ भए पनि अधिकांश ठाउँमा रोपाइँ हुन सकेको छैन ।

देउखुरी उपत्यकामा लमही नगरपालिकासहित राप्ती, गढवा, राजपुर गाउँपालिकामा भने अधिकांश ठाउँमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । देउखुरीमा रोपाइँ भए पनि दाङ उपत्यकमा भने अझै ४५ प्रतिशत खेतमा धान रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिएका छन् । रोप्नका लागि धानको बीउ तयार भए पनि पानीको अभावले धान रोप्न नसकेको लामिछानेले बताएका छन् ।

घोराही र तुलसीपुर उपहानगरपालिकासहित बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुली गाउँपालिकामा अधिकांश खेतहरूमा बाँझै रहेका छन् । असार सकिँदा पनि जिल्लामा करिब ५५ प्रतिशत मात्र धान रोपाइँ सकिएको कार्यालयले जनाएको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा ३० प्रतिशत कमी भएको उनले बताए । गत आर्थिक वर्षमा जिल्लामा असारसम्म ८५ प्रतिशत रोपाइँ सकिएको थियो । यसरी असार सकिँदासमेत कृषकहरू धान रोप्न नपाउँदा उत्पादनमा कमी आउनसक्ने देखिन्छ ।