मनसुनको सयमः विपद्को जोखिम उच्च

  •   
  •  

दाङ,११ साउन ।साउनको मध्यसाता भैसक्दा पनि मनसुन अझै सक्रिय भएको छैन । सामान्यतः जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता छ । वर्षायाम मध्य भदौसम्म रहने गरेको छ । मौसमी चक्रअनुसार वर्षातले किसानलाई खेतीपाती गर्न तथा वातावरणलाई हरियाली बनाउन सहयोग पुग्छ। यो नियमित चक्र मात्र होइन, प्रकृतिको आशीर्वाद पनि हो । तर अत्यधिक वर्षाले सिर्जना गर्ने विपद् व्यवस्थापनको तयारी नहुँदा यसले ल्याउने जोखिम पनि उत्तिकै छ ।

यो अवधिमा बाढी, पहिरो तथा अन्य जलजन्य विपद्का घटना हुने र ठूलो मात्रामा जनधनको क्षति हुने गर्छ । यस वर्ष अन्य वर्षको तुलनामा अत्यधिक वर्षाको पूर्वानुमान विज्ञहरूले गरेका छन् । यो स्थितिमा वर्षाजन्य विपद् झन बढ्न सक्ने देखिएको छ । मनसुनजन्य विपद्बाट हुन सक्ने संभावित क्षति न्यूनीकरण, विपद्पश्चातको अवधिमा प्रतिकार्य तथा पुनःस्थापना लगागतका काममा लागि संघ, प्रदेश र स्थानीय तहलाई उत्तिकै जिम्मेवार बनाइएको छ। तर जिल्लामा प्रभावकारी रुपमा काम हुन सकेको छैन । केही पालिकाहरुले गैरसकारीसंस्थासँगको समन्वयमा विपदको पुर्व तयारीमा काम गरेपनि त्यो पनि प्रमावकारी भने भएको छैन ।

दाङ जिल्लामा एक बर्षको अवधिमा विप्दका घट्नामा परेर ८ जनाले ज्यान गुमाएका छन् । दुई सय बढी घर परिवार प्रभावित भएका छन् । गतबर्षको साउन महिनादेखि असार महिनासम्म जिल्लाका विभिन्न स्थानमा भएका आगलागी,हावाहुरी, चट्याङ्क, बाढी, सर्पदंशलगायतका विभिन्न प्राकृतिक विपद्का ७५ घट्नामा ८ जनाले ज्यान गुमाएको जिल्ला आपत कालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार ८ जना मध्य आगलागीमा परेर ५ जना, सर्पदंशका कारण २ जना र चट्याङका कारण एक जनाको मृत्यु भएको छ । विपद्का विभिन्न् घट्नाहरुमा ५ जना घाइते भएका थिए । जसमा चट्याङ लागेर ३ जना, सर्पदंश र करेन्ट लागेर एक बर्षको अवधिमा १÷१ जना घाइते भएको केन्द्रले जनाएको छ ।

एक बर्षको अवधिमा भएका ७५ घट्नामा दुई सय ३ परिवार प्रभावित भएका जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका महेन्द्र रावतले जानकारी दिएका छन् । उनका अनुसार हावाहुरीका कारण २५ घर, आगलागीका कारण ४१,सर्पदंशका कारण ४ र चट्याङका ४ गरेर ७५ वटा घट्नाहरु घटेका छन् । एक बर्षको अवधिमा भएका सवै घट्नाहरुमा दश करोड बढीको अनुमानित क्षेत्री भएको आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गत बर्ष आगलागीका कारण नौ करोड ५३ लाख २० हजार र हावाहुरीका कारण ५० लाख बढी गरेर सवै घट्नाहरुमा दश करोड ३ लाख २० हजार बराबरको क्षेती भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

गृहमन्त्रालयद्वारा प्रकाशित ‘मनसुन तथा बेमौसमी वर्षाका घटनासहितको प्रतिवेदनमा गत वर्ष मनसुन तथा मनसुनपछिका बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो, डुबानबाट नेपालाई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति तथा नोक्सानी बेहोर्नुपरेको उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार गत वर्षको मनसुन अवधिमा ९१० घरपरिवार प्रत्यक्ष प्रभावित हुन पुगे भने १४२ जनाले ज्यान गुमाएका छन् ।

गत वर्ष सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बासिन्दाले सबैभन्दा धेरै क्षति बेहोर्नुप¥यो। यसैगरी मनसुनपछिको बेमौसमी वर्षाका कारण ४०४ घर परिवार प्रभावित भई १२० जनाको मृत्यु भएको थियो भने सबैभन्दा धेरै घटना पहिरोका कारण भएका थियो ।

प्राकृतिक विपद्का हिसाबले नेपाल विश्वको अग्र सूचीमा नै छ । भूकम्पीय जोखिमको हिसाबले नेपाल विश्वको ११औँ स्थानमा र बाढी पहिरोको जोखिमको हिसाबले ३०औँ स्थानमा पर्छ । यो वर्ष मनसुनी विपद्ले २० लाख मासिन प्रभावित हुन सक्ने पूर्वानुमान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरिसकेको छ । संभावित संकट सम्बोधनका लागि गंभीर हुन आवश्यक छ ।

त्यसो त, विपद् पूर्वसूचना दिएर आउँदैन। यसका लागि पर्याप्त पूर्वतयारी तथा उत्थानशीलता जरुरी हुन्छ। नेपालको सन्दर्भमा संभावित विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ का अनुसार गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा सम्पर्क मन्त्रालयका रूपमा काम गर्ने र स्थानीय प्रशासनले जिल्लामा काम गर्दै आएको छ ।

यसैगरी अन्य विषयगत मन्त्रालय, प्रदेश सरकार, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकाय एव संघ÷संस्थाहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवश्थापनको विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

अझै पनि मनसुनका कारण हुने मानवीय क्षति कम गर्न सकिएको छैन र यो हरेक वर्ष बढ्दो क्रममा छ । ‘राज्यका तीनै तहका सरकारले यो विषयमा थप सहकार्य गर्न सके क्षति घटाउन सकिन्छ’ नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले भने ‘ तर त्यो जिल्लामा हुन सकेको छैन ।’