मधुसुदन सुवेदी
गजप छ, हाम्रो देशमो राजनीतिक अभ्यास, कसरत, अभियान र योजना यहाँ ज–जसले आ–आफ्नो धोती, कट्टु र बनियान मिलएर लगाउन नसक्ने, स्याहार्न नसक्ने वा सम्हाल्न नसक्नेले यो देशमा फेशन डिजाइन खोल्ने वा यो देशमा फेशन डिजाइन शो देखाउन खोज्ने भनेको सोझा–साझा जनतालाई झुक्याउने एक चलाखीपूर्ण खेल हो ।
आजको दिनमा ज–जसले नेपालको राजनीतिमा भाग लिइरहेका छन् वा ज–जसले यो देशको राज्यसत्ता हाँक्ने मौका पाएका छन् ती सबैले यो देशको मुहार फेर्ने, काचुली बदल्ने, यसलाई शृंगार्ने, सिंगापुर बनाउने, विकास गर्ने, समृद्धि भर्ने जे–जे भने पनि यो देशलाई फेशन डिजाइन गर्ने खेलको नाटक अभिनय र चरित्र प्रस्तुत गरेका हुन् । देशको मुहार बदलिदिन्छु भन्नु नै देशको फेशन डिजाइन गर्नु हो ।
नयाँ नेपाल बनाउँछु भन्नुको अर्थ पनि देशको फेशन डिजाइन गर्नु हो । देशको रुप–रँग बदल्छु भन्नु पनि देशको फेशन डिजाइन गर्नु हो । देश समृद्धशाली बनाउँछु भन्नुको अर्थ पनि देशकै फेशन डिजाइन गर्नु हो । के साच्चिकै हाम्रा देशका आजका चल्दापुर्जा पार्टी र नेता यस्ता राष्ट्रिय फेशन डिजाइनर हुन् त ? के यिनले साच्चिकै यो देशलाई शृंगार्न सक्छन् त ? के यिनी नेताले नेपाल आमालाई दुलही बनाउन सक्छन् त ?
नेपालको राष्ट्रिय राजनीतिको सजावटका सामान प्रयोग गरेर के साच्चिकै यिनलाई यो देशलाई सपार्लान् त ? पत्याउने आधार के ? पत्याउनका लागि स्वयम्को दक्षता, कार्यकुशलता, विज्ञता, सजगता, सफलता हेर्नुप¥यो कि परेन ? यसो हेर्दा यी सबै दल र नेताका आ–आफ्नै धोती र कट्टु फुस्केको अवस्था छ । आफ्नै धोती कट्टु सम्हाल्न हम्मे–हम्मे छ । किनभने धोती कस्दा कट्टु खस्छ । कट्टु खस्दा धोती खस्छ ।
सिंगल कपडाले वा सिंगल टालोले लाज छोप्दैन । किनकि यी नेताहरुले पहिरिएको धोती कट्टु त बाक्लो नभएर पिठो चाल्ने जस्तो पातलो र पारदर्शी छ । व्यक्ति, शक्ति र दलको सिद्धान्त पारदर्शी भएन यिनीहरुको लाज छोप्ने कपडा मात्रै पारदर्शी भयो । ठिक छ, तिमीहरुको आफ्नै पहिरण ठिक नभएर त के भयो, देशको पहिरन ठिक पार्ने भित्रिी ज्ञान र भित्री अनुभव छ नि ! भनेर चित्त बुझाउने हो भने आजसम्मको बोलीचाली, उठबस, व्यवहार, चरित्र, एकआपसको समझदारी, मेलमिलाप र राष्ट्रिय एकता पटक्कै देखिएन ।
देश, राष्ट्र, मुलुक र जनताको हित हुने करामा एकता नगर्नु र नबन्नुले यिनीभित्रको गुणलाई पनि उजागर गरिसकेको छ । त्यसैले दल र नेताको यो अभ्यासले उनीहरुको दक्षतालाई पुष्टि गर्न सक्दैन । राष्ट्र र राष्ट्रियताका सवालमा दल र नेताले देखे, जानेको र भोगेको कुरा के हो भनेर प्रश्न ग¥यो भने पनि गत्तिलो जवाफ छैन । आफ्नै लाज छोप्न आच्छु–आच्छु परिरहेको बेला देश र जनताप्रति कसरी ध्यान पुग्छ ? त्यसैले आजका देशका शासक साच्चिकै यो देशको फेशन डिजाइनर हुन त ?
भनेर प्रश्न ग¥यो भने उत्तर महँगो अति छ । जवाफ सजिलो छैन । जो आफै सिङ्ग्रन जानेको छैन उसले अरुलाई शृंगार्छ कसरी ? हामी पत्याउने जनता कस्तो ? हेर्नोस त दलभित्रको बेथिति ? चारैतिर भद्रगोल पार्टी हे¥यो पार्टीभित्र पूर्णता छैन, दल हे¥यो दलभित्र पूर्णता छैन । संसद हे¥यो संसदभित्र पूर्ण छैन । राज्य संरचना हे¥यो त्यसैमा पूर्णता छैन । पार्टी पार्टीजस्तो छैन । दल दलजस्तो छैन । संसद संसदजस्तो छैन ।
राज्य राज्यजस्तो छैन । पार्टीमा हुनुपर्ने पद र स्थान सबै रिक्त छन् । दलभित्र हुनुपर्ने दलीइ संख्या स्थिति छ । संसदमा उपसभामुख नै छैन । राख्नै नपर्ने भए नियमावलि किन बनाउने ? बनेको पार्टी नियमावली बनेको दलीय नियमावली र बनेको संसदीय नियमावली अनुसार काम गर्न नसक्नु कहाँसम्मको कमी र कमजोरी हो ? कहाँसम्मको गैरजिम्मेवारीपन हो ? आज श्रीलंका के हुँदै छ ? आज श्रीलंका कहाँ जाँदै छ ? विश्वका राजनीतिक घटनाक्रमलाई हेर्ने अभ्यास किन नगर्ने ? जनताले जे देख्छन् त्यही गर्छन् ।
जनताले जे सुन्दछन् त्यही गर्दछन् । जनताले जे भोग्छन् त्यही गर्दछन् । त्यसैले देश र जनतालाई विचारेर विश्वका राजनीतिक घटनाक्रमलाई नियालेर आजका दल र नेताले त्यस अनुरुप काम गर्न किन नसक्ने ? अब त के भन्नुप¥यो भने, कि त यो देशको वर्तमान राजनीतिक व्यवस्था नै खराब छ वा हो, कि त हिजोदेखि आजसम्मका राजनीतिक पात्र र प्रवृत्ति ठिक छैन र काम लाग्ने छैन भन्नुप¥यो । मजधारको कुरा गर्न पाउने अवस्था नै छैन ।
कि त वार कि त पार । यदि व्यवस्था ठिक छ भने पात्र र प्रवृत्ति बदलौँ । यदि पात्र र प्रवृत्ति ठिक छन् भने व्यवस्था बदलौँ तर दुवै ठिक छ भन्ने मौका गुज्रिसक्यो । अब त्यसो भन्न पाइन्न र मिल्दैन पनि । किनभने राजनीतिक संक्रमण दिनहुँ बिग्रँदै गयो । दलीय आचरण र संस्कार दिनुहँ भ्रष्ट हुँदै गयो । राजनीतिमा विकृति र विसंगति दिनहुँ हाबी हुँदै गयो । यसो भइरह्यो भने भोलिको भोगाइ ज्यादै तीतो र अप्रिय बन्नेछ । मेलमिलापरहितको राजनीति दिगो र भरपर्दो हुँदैन । सबैले जान्ने र हेक्का राख्ने कुरा के हो भने ‘नेपाली हामी रहौँला कहँ नेपालै नरहे ।’ त्यसैले नेपाल जोखाऔँ ।