कीर्तिमानी खेलाडीको विजयउत्सव

गोरक्ष समाचारदाता
तुलसीपुर, ३ साउन । दाङ तुलसीपुरकी कीर्तिमानी एथ्लेटिक्स खेलाडी १७ बर्षीया निशा चौधरीको स्वागत र सम्मानमा सोमबार बिहान तुलसीपुरमा बाजागाजासहित ¥यालीको आयोजना भयो । उनी अध्यनरत तुलसीपुरस्थित ग्रेट अरनिको मावि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले निशाको सम्मान तथा स्वागतमा बाजागाजासहित ¥यालीको आयोजना गरिएको थियो । निशा उक्त विद्यालयमा कक्षा १२ को परीक्षा दिएर बसेकी छिन् ।

कीर्तिमानी खेलाडी निशालगायतलाई गाडीमा राखेर तुलसीपुर बजार परिक्रमा गराइएको थियो । ¥यालीका सहभागीहरुले निशाको समर्थनमा नाराबाजी गरेका थिए । ¥यालीमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, बिद्यालयका शिक्षक, बिद्यार्थी, खेलकुदसँग सम्बन्धित बिभिन्न संघसंस्था र सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।

विद्यालयबाट सुरु भएको बिजय ¥याली फेरि विद्यालयमा पुगेको थियो । त्यहाँ पनि निशाको नाममा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा तुलसीपुरका नगर प्रमुख खड्का, प्रमुख प्रशासकीय अधिकृत, प्रशिक्षक, खेलाडी र सर्वसाधारणको उपस्थिति थियो । ¥यालीका सहभागीहरुले नाच–गान गर्दै निशालाई बधाई तथा शुभकामना दिएका थिए ।

निशाकी आमा चैती चौधरीले एसइई उत्तीर्णपछि आर्थिक अवस्थाकै कारण निशालाई पढाउन सक्ने अवस्था नरहेको र त्यही समयमा बिद्यालयका शिक्षकहरु घरमा पुगेपछि निःशुल्क पढ्न पाएको बताइन् । निशाका बुवा लक्षिराम गरिबीकै कारण हाल रोजगारीको लागि भारतमा गएका छन् । दुई दिदी र एक भाइसहित निशाले पनि हलो जोत्ने लगायतका घरायसी सबै काम गर्ने गरेको बताए । तीमध्ये भाइले मात्रै कक्षा ९ मा पढ्छन् । निशाले १२औं राष्ट्रिय प्रतियोगितामा लगाउन जुत्ता किन्न नसकेर साथीको जुत्ता मागेर लगेकी थिइन् । साथीको जुत्ता लगाएर दौड जितेकी थिइन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही गाउँकी निशाले असार अन्तिममा भएको १२औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा दुई ब्यक्तिगत र एक टिममा कीर्तिमान रच्न सफल खेलाडी हुन् । निशाले एथ्लेटिक्समा आफूभन्दा सिनियरको राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएकी हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै बुधबार नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गर्न सफल भएकी हुन् ।

यस अघिसम्म उक्त कीर्तिमान एपीएफकी शिला चौधरीको नाममा थियो । शिलाले सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । त्यस्तै निशाले मंगलबार एक सय मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् । १२.५३ सेकेन्डमा दौड पूरा गरी निशाले जुनियर तर्फको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएकी हुन् । यसअघि जुनियरतर्फको कीर्तिमान विपना परियारको नाममा थियो ।

उनले ५.०९ को टाइमिङमा स्पर्धा पूरा गरेकी थिइन् । निशाले दुई सय मिटर दौडमा पनि स्वर्ण पदक जितेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा निशा टिमतर्फ पनि कीर्तिमान बनाउन सफल भइन् । निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारु सम्मिलित लुम्बिनीको टिमले ४ गुणा १ सय मिटर रिले ५४।२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो ।

यसअघिको कीर्तिमान तत्कालील पश्चिमाञ्चलको नाममा रहेको थियो । पश्चिमाञ्चल टिमले ५४।४० सेकेन्डको कीर्तिमान कायम गरेकोमा निशासहितको टिमलाई त्यसलाई तोड्दै लुम्बिनीको नाममा कीर्तिमान लेखाउन सफल भएको हो । जीवनमै पहिलोपटक काठमाडौंमा पुगेकी निशाले बिना प्रशिक्षण दुई ब्यक्तिगत बिधामा राष्ट्रिय कीर्तिमान र एउटा टिम बिधामा राष्ट्रिय कीर्तिमान कायम गरेर सबैलाई चकित तुल्याएकी छिन् । त्यसैले आज उनी स्वयं र दाङको नामसमेत खेलको माध्यमबाट केन्द्रमा सुनौलो अक्षरले कोर्ण सफल भएकी छिन् ।