विद्युतलाई नियमित बन्न तीन पालिकाको चेतावनी

गोरक्ष समाचारदाता
तुलसीपुर, ३१ असार । असार अन्त हुने बेला परेको लामो खडेरीका कारण धान रोप्न नपाएर किसानहरु आहत छन् । खेतमा गाडिएका डिप बोरिङ सञ्चालनका लागि विद्युत सेवा उपलव्ध भएको छैन । पोल गाडेको बर्षौसम्म पनि ग्राहकहलाई विद्युत तार दिइएको छैन । घरसम्म तार तानेकाहरुले मिटर बक्स पाउन महिनौं कुनुपर्ने अवस्था छ । मिटर बक्स जडानका लागि पनि कर्मचारीलाई अतिरिक्त भेटी चढाउनुपर्छ ।

पश्चिम दाङका स्थानीयबासीहरुबाट विद्युत सेवाका विषयमा यस्तै जनगुनासोहरु आएपछि पूर्व सिँचाइमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले स्थानीय सरकार प्रमुखहरुलाई लिएर बिहीवारको चर्को धुपमा तुलसीपुर विद्युत कार्यालयमा डेलिगेशन गएका छन् । पश्चिम दाङको बबई गाउँपालिकाका प्रमुख कुलबहादुर खत्री, शान्तिनगर गाउँपालिकाका प्रमुख प्रमोद बस्नेत तथा दंगीशरण गाउँपालिकाका प्रमुख शम्भु रेग्मीसहित वडाध्यक्ष र त्यहाँका नागरिक अगुवाले विद्युत कार्यालय तुलसीपुरका प्रमुखको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

जनतालाई विद्युत कार्यालयले प्राप्त सुविधा दिन पनि आनाकानी गर्दै गैरजिम्मेवारी काम गर्दै आएको भन्दै तत्काल विद्युत सेवा नियमित बनाउन चेतावनीसमेत दिएका छन् । पूर्वमन्त्रीसहित जनप्रतिनिधिहरु समेतको टोलीले तत्काल सेवामा सुधार नआए अन्य विकल्प पनि सोच्न आफूहरु विवश हुने पनि जनप्रतिनिधिहरुको चेतावनी थियो ।

विद्युत कार्यालय स्थानीयबासीहरुबाट यस्तै जनगुनासो आएपछि बिद्युत सेवाबारे ब्यापक जनगुनासो आएपछि बिहीबार पूर्व सिँचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सर्वसाधारण सेवाग्राहीसहित पश्चिम दाङका जनप्रतिनिधिलाई लगेर तुलसीपुरस्थित विद्युत वितरण केन्द्रमा पुगे ।

‘हामी विद्युत कार्यालयलाई नियमित सेवा उपलव्ध गराउनका लागि तपाईहरुलाई आग्रह गर्न आएका छौं, स्रोत साधन पर्याप्त छैन भने केन्द्रमा मैले पहल गर्नेछु’, पूर्वमन्त्री गिरीले भने– ‘सेवामा नियमितता देखिएन भने हामी अर्को विकल्प सोच्न बाध्य हुनेछौं ।’ उनले आफ्नो क्षेत्रलाई आवश्यक पर्ने मिटर बक्स तथा ट्रान्सफर्मरका विषयमा पनि तथ्यांक अध्यावधिक गर्न आग्रह गरे ।

जनप्रतिनिधिहरुसँग नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ (क) सभापति घनश्याम ढकाल, ३ (ख) का सभापति खिमबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, महाधिवेशन प्रतिनिधिहरु विमल रिजाल, डा.नहकुल केसी, कांग्रेस दाङका सदस्य रमेश मल्ल, दंगीशरण–६ का वडाध्यक्ष रोशनजंग शाह, बबई कांग्रेसका सभापति प्रकाश बस्नेतसहितका नेता कार्यकर्ता र सर्वसाधारण सेवाग्राही समेत गएका थिए ।

वितरण केन्द्रबारे ब्यापक जनगुनासो आएपछि सेवा सुधारको आग्रहसहित नेता गिरी आफै वितरण केन्द्रका प्रमुख ज्ञानप्रसाद फर्सालाई भेट्न कार्यालय पुगेका हुन । त्यसक्रममा नेता गिरीलगायत जनप्रतिनिधि र सर्वसाधारणले वितरण केन्द्रबाट सेवा प्रवाहमा भइरहेका लापरबाही तथा कमी–कमजोरीको बारेमा अवगत गराउँदै आम जनताले गुनासो गर्ने गरी कमजोरी नदोहो¥याउन सचेत तुल्याएका थिए ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले आफू निर्वाचित भएर आएको ७ महिना जति भएको र यो बीचमा कांग्रेस क्षेत्रीय कार्यालयको ७ बर्ष बढीको विद्युत बक्यौता सबै चुक्ता गरे पनि पछिल्लो समय एकाध महिनाको बक्यौता हुँदा बिद्युत काट्ने चेतावनी दिनु अव्यावहारिक भएको बताए । ‘म आर्मी स्वभावको मानिस एक्सन वरिन्टेड काम गर्नुहोस् ।

नियम फरक होला, ब्यबहारिकता हेरेर बिद्युत लाइन काट्नुभन्दा कम्तीमा एक दिन पहिले भए पनि जानकारी दिने गर्नुहोस्,’ हमालले भने । सो अवसरमा तुलसीपुर बजारमा बिभिन्न ११ वटा ब्यबसाय गर्दै आएका मोहन स्वर्णकारको उदारहण दिँदै थाहै नदिएर उनको एउटा घरको विद्युत लाइन काटिएकोप्रति हमालले बिरोध जनाए । घर धनीलाई थाहै नदिएर एक कल फोनसमेत नगरी विद्युत काट्नु गलत अभ्यास भएको हमालले बताए ।

तुलसीपुरका प्रतिष्ठित ब्यापारी बिमल रिजालले मुख्य बजार क्षेत्रमै ३ महिनासम्म एकपटक पनि मिटर रिडिङका लागि कर्मचारी नखटाउने र हरेक महिना महसुल तिर्दै आएका उपभोक्ताबाट अन्तिममा कल्पना गरेभन्दा धेरै बिद्युत खपत भएको भनेर एकैपटक हजारौं असुल्नु बदमासी भएको भन्दै सचेत तुल्याए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँका उपभोक्ता मिनबहादुर खड्काले गाउँघरमा पाँच–पाँच मिनेटमा झ्याप्प–झ्याप्प बत्ती किन गइरहन्छ ?

बिद्युत वितरण केन्द्रका प्रमुख ज्ञानप्रसाद फर्साललाई प्रश्न सोधेका थिए । डिप बोरिङबाट पानी तान्न नसक्ने विद्युत दिएर तपाईले गाउँघरका किसानलाई के गर्न खोज्नु भएको हो ? भन्दै आक्रोश पोखे । दाङमा यसपटक धानखेतीका लागि आवश्यक बर्षा भइनसकेको र डिप बोरिङ भएका ठाउँमा समेत मोटरले पानी तान्न नसक्ने नाम मात्रैको विद्युत भएको हुँदा धान खेती गर्न नसकिरहेको अन्य सर्वसाधारणले पनि गुनासो गरेका थिए ।

त्यस्तै तुलसीपुर–११ हस्नापुर डिपबोरिङका अध्यक्ष लालबहादुर खत्रीले चार बर्ष पहिले गाडेको डिपबोरिङमा अनेक प्रयास र आग्रह गर्दा पनि बिद्युत जडान नभएको भन्दै रोश प्रकट गरेका थिए । हस्नापुर डबरामा चार बर्ष पहिले बोरिङ गारिए पनि विद्युत जडान भइनसक्दा पानी तानेर खेती गर्ने सपना पूरा हुन नसकेको भन्दै उनले कार्यालयको ढिलासुस्ती र लापरबाहीको बिरोध गरेका थिए ।

जिल्लाका बिभिन्न सुख्खाग्रस्त ठाउँहरुमा दीपक गिरी सिँचाई मन्त्री हुँदा किसानलाई खेतीपातीमा सजिलो होस् भनेर डिपबोरिङहरु खनिएका थिए । नेता गिरीले वितरण प्रमुख फर्साललाई सर्वसाधारण गाउँले जनताले नजानेका नबुझेका सानातिना नीतिगत र प्राविधिक कुराहरु बुझाउँदै काम गरिदिन र जनतालाई दुःख नदिन आग्रह गरेका थिए ।

नेता गिरीले सर्वसाधारण नागरिकको व्यापक गुनासोको आधारमा आफूहरु सचेत तुल्याउन आएको भन्दै कुनै पनि समस्या आइपरे वा विद्युत एक्लैले गर्न सम्भव नभए स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरे समस्या सल्टाउन सहज हुने हुँदा जनताको सेवाका लागि मिलेर काम गर्न आग्रह गरेका थिए ।

त्यसक्रममा विद्युत वितरण केन्द्रमा पुगेका अन्य केही सर्वसाधारण सेवाग्राहीले माग फाराम भरेको ६ महिनासम्म पनि घरमा जडान गर्ने मिटर बक्स नपाएको, बिद्युतका कर्मचारीले चिने–जानेका तथा केही पाउने ठाउँमा मात्रै पहिला जडान गर्ने गरेको जस्ता गुनासोहरु गरेका थिए । त्यस्तै दंगीशरण गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सुकलाल चौधरीले गाउँघरमा सेवाग्राहीको घरमा मिटर बक्स जडान गर्न जाँदा बितरण केन्द्रका कर्मचारीले तोकेर अतिरिक्त रकम माग्ने गरेकोप्रति बिरोध जनाए ।

वडाध्यक्ष चौधरीले गाउँघरमा मिटर बक्स जडान गर्न गएका वितरण केन्द्रका प्राबिधिक तथा कर्मचारीले घरधनीले आफूखुसी मेहनत हेरेर ५ सय रुपैयाँ दिँदा यत्ति पैंसा दिने भन्दै लात्तीले फालेको दृश्य आफैले देखेको भन्दै तत्काल त्यो रोक्न आग्रह गरे ।

दंगीशरण–१ का वडाध्यक्ष रमेश भण्डारीले फुर्केसल्लीमा विद्युत विस्तार भएको महिनौं पुगिसक्दा पनि विद्युत जडान नभएकोबारे प्रश्न सोधेका थिए । कुनै कारणवश बिद्युत सेवा अबरुद्ध बनेपछि पटक÷पटक फोन सम्पर्क गर्दा पनि एक घण्टामै मर्मतका लागि आउँदै भनेर आश्वासन दिए पनि ३–४ दिनसम्म पनि मर्मतका लागि प्राविधिक तथा कर्मचारी नपठाउने गरेकोप्रति आक्रोश पोखे ।

कांग्रेस बबई गाउँपालिकाका सभापति प्रकाश बस्नेतले विकट बस्ती जौंबारी, गंगटेलगायतका सर्वसाधारण बिद्युत बिस्तार भए पनि बर्षौंदेखि टुकी बालेर बस्न बाध्य भएको भन्दै बिजुली बत्ती बालेर उज्यालो घरमा बस्न पाउने व्यवस्था अबिलम्व मिलाइदिन अपिल गरे ।