खेमराज रिजाल
तुलसीपुर, २९ असार । दुई साताअघि तुलसीपुरमा प्रदेश पर्यटन परिषद्ले आयोजना गरेको आन्तरिक पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका विषयक कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले एयरपोर्टका विषयमा एउटा प्रश्न उठाए । प्रश्न थियो– दक्षिण एशियाकै दोस्रो ठूलो भनिएको दाङ उपत्यकामा १३ सय मिटिर रनवे भएको एयरपोर्ट बन्न किन यति धेरै सकस भो ? ४२ सिटे जहाज अवतरण गराउन यति सानो विमानस्थल बनाउन नसकेपछि यहाँको आन्तरिक पर्यटनको प्रवद्र्धन कसरी होला ?
त्यसो त दाङ उपत्यकालाई नै विश्वको पहिलो वा दोस्रो ठूलो उपत्यका भनिरहन कतै प्रमाणित तथ्य भेटिएको छैन । यद्यपि दाङबासीले प्रदेशको स्थायी राजधानीका लागि आन्दोलन गरिरहँदा विश्वकै दोस्रो ठूलो उपत्यका भनेर दावी गरेका थियौं । प्रदेशसभाले जसोतसो स्थायी मुकाम दाङलाई घोषणा त ग¥यो तर अझै स्थापित भैसकेको छैन । प्रदेशको स्थायी मुकाम भएको जिल्लाको एयरपोर्टमा भने १६ सिटे जहाज अवतरण गर्न समेत मुस्किल भएको छ । नियमित सेवा छैन । आवश्यक परेको अवस्थामा सुत्केरी व्यथाले च्यापेका महिलालाई पनि जहाजको टिकट सुनिश्चित छैन । एक्सिडेन्टका घाइतेलाई पनि यो अवस्था छैन ।
प्रदेश पर्यटन परिषद्कै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले यहाँ भएको एयरपोर्ट भुलेको साँचो भएको तर अब फेरि यसमा आफूहरु लागेको अभिव्यक्ति दिए । तर अभिव्यक्तिलाई पुष्टि गर्ने बजेट आधार भने अझै खुलेको छैन । डिल्ली चौधरीकै भनाइमा यहाँ भएको एयरपोर्टको रनवे विस्तार गरेर ठूला जहाज अवतरण गर्नसक्ने बनाउनुको साटो यहाँका नेताहरुले भुल गरे । ‘भएको एयरपोर्टको स्तरबृद्धि गर्न नसक्दै हामीले अर्को एयरपोर्टको अभ्यासमा जानु एउटा भुल थियो, तर अब यहाँको एयरपोर्टलाई लात मारेर नयाँ एयरपोर्टको परिकल्पना हुन सक्दैन’, मन्त्री चौधरीले भने ।
नागरिक उड्ययन तथा पर्यटन प्राधिकरणका जुन प्राविधिकले हालको एयरपोर्टलाई यो डिजाइनमा कालोपत्रे गर्न लगाएका थिए, उनै प्राविधिक अहिले डिजी बनेका छन् । डिजी यो एयरपोर्टको रनवे बढाउन सकेसम्म दिने पक्षमा छैनन् भन्ने चौतर्फी अभिव्यक्ति सार्वजनिक भइरहँदा डिजी पोजेटिभ नभएको पनि मन्त्री चौधरीले स्वीकार गरे । सोही कार्यक्रममा मन्त्री चौधरीले करीब ८० करोडमा एयरपोर्ट स्तरबृद्धि हुनेमा आफूहरु ढुक्क भएको बताउँदै यसलाई यही बर्ष टेण्डर गरी बहुवर्षीय योजनामा लैजाने पनि उल्लेख गरे ।
आगामी साउन महिनादेखि नै यसको प्रक्रिया सुरु हुने उनको दावी थियो । तर फेरि डिपिआरका कुरा आउन थालेका छन् । यसको मतलव तुलसीपुरको एयरपोर्टको स्तरबृद्धिको अभियानलाई फेरि पछाडि धकेल्ने काम हुन थालेको छ । डिजी पोजेटिभ नभएसम्म यहाँको एयरपोर्टको स्तरबृद्धिमा सकस भइरहने छ । पर्खौ डिजी कहिले रिटायर्ड हुन्छन् । किनकि व्युरोक्रेसीले चलाएको मुलुकमा नेताहरुको के लाग्छ र?
यो विमानस्थलको स्तरबृद्धिको भाषण गर्न कुन मन्त्री आएनन र । माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा, मन्त्री लोकेन्द्र विष्ट, मन्त्री जीवन शाही, सिँचाइ मन्त्रीीिदपक गिरी, तात्कालिन मुख्यमन्त्री शंकर पोख्रेललगायतका थुप्रै नेताहरुले एयरपोर्टलाई भजाएर मत मागे । तर यथार्थमा एयरपोर्टको रनवे विस्तारमा उनीहरुबाट भएका पहलहरु निरर्थक भएका छन् । भर्खरै नियुक्त भएका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले दुई दिन तुलसीपुरमा रिपोर्टस् क्लवले आयोजना गरेको कार्यक्रममा अर्को रहस्य खोले ।
एयरपोर्टको स्तरोन्नतिका लागि २ करोड बजेट आएको छ । यही बजेटबाट निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने उनको आशा थियो, एवं सुझाव पनि थियो । दुई करोड रुपैयाँले एउटा कल्भर्ट समेत नबन्ने अवस्थामा संघीय राज्यमन्त्रीको एयरपोर्ट अभिव्यक्ति हाँस्यास्पद थियो । दुई करोड रुपैयाँमा एयरपोर्टको रनवे विस्तार हुन्छ भन्ने सपना देख्नेमन्त्री पनि छन् । कसरी यो विमानस्थलको स्तरबृद्धि होला ? आम नागरिकहरुको अनुत्तरित प्रश्नलाई जवाफ दिनेगरी बजेट तथा नीति कार्यक्रममा टरिगाउँ विमानस्थलको स्तरबृद्धिका विषयमा अर्थपूर्णरुपमा सम्बोधन भएन ।
टरिगाउँ विमानस्थलको स्तरबृद्धि गर्न तुलसीपुरले के गरेन ? सबथोक गरेको छ । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको अवस्थामा तुलसीपुर उद्योग वाणिज्य संघले बन्द भैसकेको उडानलाई जसोतसो चल्ने बनायो । त्यसपछि तुलसीपुर उपमहानगरपालिकाले पनि यसरी नै अभियान थाल्यो । उपमहानगरपालिकाले वायुसेवा निगममै टिकट ग्यारेन्टी लिएर पैसासमेत डिपोजिट राखेर नेपाल वायु सेवा निगमको जहाज जसोतसो चलाइरहेको छ । तर त्यो जहाज ग्राउन्डेड भयो भने यो सेवा पनि ढुक्क छैन ।
तुलसीपुर उद्योग वाणिज्य संघले थालेको एयरपोर्टको स्तरोन्नतिका लागि खुत्रुकी अभियानमा एउटा कोटेशन फेरि जोडिएको छ । ‘एक घर एक ढुंगा, एक व्यक्ति एक इटा’, अर्थात जसरी पनि चिरो भाटेर सरकारलाई टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि नैतिक दबाव दिने । किनकि यहाँका नेताहरुबाट टरिगाउँ विमानस्थलको स्तरोन्नति हुनका लागि सार्थक पहल हुन सकेको छैन । पछिल्लो पटक फेरि एयरपोर्ट स्तरबृद्धि अभियानमा जोडिएका तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे खुत्रुके अभियान चलाए, फेरि रनवेको ढल्की–ढल्की नापजाँच गराए ।
प्राविधिक प्रतिवेदन लिएर बजेट आउनुअघि नै राजधानी डेलिगेशनमा समेत गए । तर बजेट भने अर्थपूर्ण रुपमा आएन । मानौं सरकारी अधिकारीहरु टरिगाउँ विमानस्थलको हतपती स्तरबृद्धि रोक्ने दाउमा छन् । किनकि पोइन्टमा पुगेका सरकारी अधिकारीहरु रुपन्देही र नेपालगञ्जको प्रभावमा छन् । यदि तुलसीपुरमा स्तरीय विमानस्थल बन्यो र सबैले यही विमानस्थलबाट राजधानीलगायत अन्य जिल्लामा पनि हवाइ सेवा सञ्चालन गर्न सके भने त्यसको प्रत्यक्षरुपमा व्यावसायिक घाटा नेपालगञ्ज र रुपन्देहीलाई हुनेछ । अन्ततः माननीय स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीकै अभिव्यक्तिलाई विश्वास गर्ने हो भने दुई करोड बजेटले एयरपोर्ट स्तरबृद्धिको कुनै पनि प्रक्रिया सुरु हुने छैन । किनकि यो बजेटले त डिपिआरको पैसा पनि पुग्ने छैन ।
किनकि वि.सं. २०११ सालदेखि नै हवाइसेवा सुरु गरेको एउटा इतिहास बोकेको यो विमानस्थलमा राज्यको धेरै लगानी भइसकेको छ । टर्मिनल भवन बनिसकेको छ । स्तरीय सञ्चार उपकरणहरु जडान भैसकेका छन् । इन्धन रिफिल गर्नका लागि हवाइ इन्धन डिपो निर्माणको काम सकिन थालिसकेको छ । हामीलाई चाहिएको धावनमार्गको केही लम्बाइ बढाउने त हो । तर आउँदो साउनदेखि सुरु हुने आर्थिक बर्षको बजेटमा दुई करोड रुपैयाँ मात्र यो विमानस्थललाई पर्ने हो भने फेरि सकस भो रनवे विस्तार ।
बर्खे झरी पर्खर्दै किसान
तुलसीपुर, २९ असार । असार महिना बित्न लाग्यो । आकासमा कालो बादल मडारिन्छ । एकझरी पानी पर्छ अनि घाम लाग्छ । यस बर्ष मनसुन समय अगावै सुरु हुन्छ भन्ने र किसानहरु बेलैमा खेती हुने भयो भन्नेमा ढुक्क थिए । तर असार सकिनै लाग्दा पनि पर्याप्त मात्रामा पानी नपर्दा किसानहरुका खेतमा भने रोपाइँ हुन सकेको छैन । कुलाका मुहानहरु सुख्खा छन् । बाँझो मारेका खेतहरु सुख्खा छन् । कहिले रासायनिक मलको अभाव त कहिले पानीको अभावले किसानहरुलाई पिरोलिरहेको छ । ‘एकातिर रासायनिक मल नपाएर समस्या छ अर्कोतिर प्रकृतिले पनि हामीलाई साथ दिएको छैन्’, तुलसीपुर–१० निवासी निर्मलकुमार वलीले भने । गत बर्ष जनतन असार सकिँदै लाग्दा रोपाइँ सकेका वलीले यस बर्ष भने रोपाइ गर्न नपाएको बताए । ‘खोलामा पानी छैन बोरिङ पनि छैन, खेतहरु सुख्खा छन्’, उनले भने । त्यस्तै यस बर्ष समयमै मौसम सुरु हुन्छ भनेर व्याड राखेका अर्का किसान मनबीर केसीले पनि ठूलो झरी पर्ने कुनै संकेत नभएको भन्दै रोपाइँ कहिले हुने हो कुनै पत्तो नभएको बताए । ‘पानी आउलाजस्तो गर्छ एकै छिनमा फाट्छ’, उनले भने । देशका विभिन्न स्थानमा बाढी आएको सुनेका उनले जिल्लामा भने पानी नपरेर खेती सुरु गर्न नसकेको गुनासो गरे । त्यस्तै आकासको भरमा खेती गर्नेहरुले त कति बेला झरी पर्छ र अनि रोपाइँ गरौँला भनेर पर्खी बसेको बताए । केही सिँचाइ सुविधा हुनेहरुले भने आधाआधी खेतहरु रोपिसकेका छन् । तर धेरै जसो किसानहरुले भने रोपाइँ गर्न सकेका छैनन् । ‘तुलसीपुर बजारमा भल बग्ने पानी आउछ खोलाको सिरानमा पानी पर्ने छाँटकाँट छैन, यो बर्ष हामीलाई मौसमले पनि साथ दिएन्’, किसान डिल्ली वलीले भने । उनले व्याड ठूलो भएको र रोपाइँ गर्ने समय भए पनि पानी नहुँदा रोपाइँ गर्न नसकिएको बताए । केही किसानहरुले भने व्याड नै सुक्न लागेको बताए । आकासबाट एक झरी पानी पर्ने र तत्कालै फेरि चर्को घाम लाग्दा व्याड नै सुकेको बताउँछन् । साउनको पहिलो हप्तामा धान रोपाइँ गरिसक्ने किसानहरुले यस बर्ष भने साउन लाग्नै लाग्दासम्म पनि पानी नपर्दा रोपाइँ गर्न सकेका छैनन् । खोलाको शिरमा खेती किसानी गर्नेहरुले पनि पर्याप्त मात्रामा सिँचाइ गर्न नपाएको बताउछन् । ‘रातदिन झगडा गरेर पानी ल्याउनुपर्छ, खोलामा कमिला हिँड्छन् अनि कसरी हुन्छ सिँचाइ ?’, किसानहरु भन्छन् । पर्याप्त मात्रमा सिँचाइ सुविधा नहुँदा तथा खोलाहरुमा पनि भएको पानी खानेपानीको लागि प्रयोग हुँदा अहिले कुलाहरु सुख्खा छन् । जिल्लाको देउखुरी भेगमा सिँचाइ हुने भएका कारण धेरैले धान रोपाइँ सके पनि जिल्लाको घोराही तुलसीपुर पश्चिम क्षेत्रमा भने केही प्रतिशतमात्र रोपाइँ भएको छ । धेरैजसो खेतहरु सुख्खा छन् । तुलसीपुर–३ का दुर्गा बुढाले बर्षा नभएका कारण ढिला गरी व्याड राखे पनि व्याडले नै सिँचाइ पाउन नसकेको बताए । ‘असार महिना सकिन लाग्यो रोपाइँ कहिले हुन्छ कुनै पत्तो छैन’, उनले भने । जुन दिन खोलामा पानी आउँछ त्यसै दिन रोपाइँ हुने उनले बताए । अहिले किसानहरुलाई आकास हेर्दै बस्नुपर्ने समस्या छ । ‘पानी त आकासको फल आँखा तरी मरजस्तो भएको छ, पानी आउला–आउला भन्दाभन्दै असार सकिन लाग्यो’, किसानहरु गुनासो गर्छन् । मौसम परिवर्तन तथा जलवायु अनुकूलनले गर्दा अहिले नजिकै पानी पर्ने र अली पर धुलो उड्ने गरेको छ । पानी परे पनि धेरै बेर नपरेका कारण र खोलाको शिरमा पानी नपर्ने र बजारमा पानी पर्ने गरेको छ ।