गोरक्ष समाचारदाता
बिजौरी, २८ असार । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले सो अस्पताललाई कम्तीमा एक सय बेडको अस्पताल बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
हाल चिकित्सालयको ओपिडीमा दैनिक एक सय बिरामीहरु सेवा लिइरहेका छन् । बहिरङ्ग सेवाबाट सञ्चालन भई २०५८ सालमा १५ शैयामा रहेको हस्पिटलको स्तरोन्नति हुँदै ३० शैयामा पुगेको छ । आयुर्वेद चिकित्सालयमा लुम्बिनी प्रदेशका जिल्लालगायत सल्यान, जाजरकोटबाट पनि बिरामीहरुले आउने गरेको प्रादेशिक आयुर्वेद चिकित्सालयका मेसु सन्तोषकुमार ठाकुरले जानकारी दिए ।
अन्तरङ्ग सेवामा ३० शैया रहे तापनि कहिलेकाहीँ बिरामीहरु ३५÷४० जनासम्म पुग्ने भएकोले बेडको व्यवस्थापन गर्न निकै गाह्रो भएको मेसु ठाकुरले बताए । हाल अस्पतालले पञ्चकर्म, ल्याव, रेडियोग्राफी, इसिजी, युएसजी, फिजियोथेरापी, शल्यचिकित्सा, सामान्य चिकित्सा लगायतका सेवाहरु दिइरहेको छ ।
साथै आगामी वर्षदेखि स्त्री प्रसूति सेवा, शालक्य र पञ्चकर्मको प्रधानकरणलाई नमुनाको रुपमा पञ्चकर्म सेन्टर स्थापना गरेर त्यसबाट स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र रोगी व्यक्तिको रोगबाट उन्मुक्ति बनाउने सेवा दिने उनले बताए । ठाकुरले पञ्चकर्मको माध्यमबाट दाङलाई एउटा प्रादेशिक हबकोरुपमा विकास गर्न सकिने बताए ।
अस्पतालको योजनाअनुसार आगामी वर्षमा सर्जिकल भवनको निर्माण गरिने रहेको छ । जसको लागि संघीय सरकारले २ करोड रुपौयाँ सशर्त अनुदान उपलब्ध गराएको छ । ठाकुरले स्वास्थ्य राज्यमन्त्री केसीलाई स्वास्थ्य मन्त्रालयको रुपमा रहेको मन्त्रलायलाई आयुर्वेद मन्त्रालयको रुपमा विकास गरी आयुर्वेद क्षेत्रलाई माथि उठाउन आग्रह गरेका थिए ।
चिकित्सालय अवलोकनका क्रममा राज्यमन्त्री केसीले नेपालमा पाइने जडिबुटीहरुको अनुसन्धान गर्ने कार्य बेलझुण्डीमा पनि गरिन्छ । त्यसलाई अझ व्यवस्थित गर्न र आयुर्वेद औषधी यहीबाट उत्पादन गर्न संघीय सरकार र आफूले भूमिका खेल्ने बताए । साथै उनले संघीय सरकारबाट ३० वेडमा रहेको अस्पताललाई जतिसक्यो छिटो १०० बेडको बनाउने बताए ।