राप्तीको भन्दा खहरेको सकस राजपुरलाई

खेमराज रिजाल
राजपुर (दाङ), २७ असार । शुक्रवारको रात राजपुर गाउँपालिका–४ कि पुष्पा पाठक मुङ्रेठा खोलामा आएको भल घरमा पसेपछि रातभर जाग्राम मात्र बसिनन्, घरभित्रै पानीको सतह दुई फिट माथि उक्लिँदा बालबच्चा बोकेर माथिल्लो तलामा सुरक्षित रहनुप¥यो ।

‘असारमै यस्तो छ, पहिलो बर्षातले नै हाम्रो निध हराम भएको छ, अलि दिनको झरीमा कसरी बिताउने होला’, पुष्पाले भनिन् । दक्षिणपट्टिबाट उत्तर बग्ने खहरे खोलामा आएको पानी जम्मा हुँदै जाँदा होचो भागमा बाढीकै रुपमा आउने गर्छ । यो खोलाको बाढीले पुष्पाको घर मात्र होइन, विजय पाठकसँगै करिब ६० वटा कच्ची घरमा पानी पसेको छ । राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव भन्छन्– ‘शुक्रवारको बर्षातका कारण यस क्षेत्रका करिब ६० घर डुबानको उच्च जोखिममा रहे । बर्षात लामो समयसम्म रहेको भए, धेरै घरहरु भत्कन सक्थे ।

राप्ती गाउँपालिका–१ कठबेरुवामा पनि यस्तै समस्या छ । शुक्रवारको बर्षातपछि दक्षिणी पहाडको पानी बढी भएर सोना नालामा जम्मा भएर बगेपछि यसले बाढीकै रुप लिएको छ । स्थानीयबासी पहलमान विक भन्छन्– ‘बर्षा नलाग्दै त यो हाल भयो झरी लामो प¥यो भने हाम्रो खेतवारी डुबानमा मात्र होइन, पुरै बस्ती बग्ने जोखिम छ । सो गाउँमा बर्षमा चार बाली खेती हुन्छ । यदि बर्षातले बस्ती नै उठ्ने अवस्था आएमा यहाँका स्थानीयवासीलाई निकै समस्या पर्ने उनीहरुले बताएका छन् ।

नजिकैको करंगा खोलाले पनि यस्तै वितण्डा मच्चाउन थालेको छ । करंगा खोलाले बहाव बदलेको छ । यो ३ र ४ वडाको सीमाना समस्या भएको पनि क्षेत्र हो । बहाव बदल्दै जाँदा करंगा खोला मुङरेठा खोलामा मिसिनै थालेको छ । यदि यी दुबै खहरे खोला मिसिए भने यसले करिब १ सय घरधुरीलाई डुबानमा पार्न सक्ने स्थानीयबासीहरुले बताएका छन् ।

अघिल्ला बर्षसम्म यी बस्तीमा बाढीको झल्को हुन्नथ्यो । तर विकासका नाममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत पक्की नाला बनाएर वन क्षेत्रमा परेको पानी एकै ठाउँमा जम्मा पार्न थालिए पनि जम्मा भएको पानीले नै बाढीको स्वरुप लिएको छ । पानीको प्राकृतिक बहावलाई जवर्जस्त बदल्नु नै कठबेरुवाको दुर्भाग्य बनेको छ ।

गाउँलेहरुले पक्की नालालाई भाट्ने र प्राकृतिक रुपमा बग्न दिने तर्क गरेका छन् । केही गाउँलेहरुले सामुदायिक वन क्षेत्रमा पानी ढाल बनाएर उतैबाट पानीको बहाव तर्काउने पनि सुझाव दिए । तर त्यसमा पनि वन उपभोक्ता समूह र बाढी पीडितहरुबीच सहमति हुन सकेको छैन ।

नजिकैको गुरुङ खोलाको पनि क्रमशः बहाव परिवर्तन भइरहेको छ । खोलामा नदीजन्य पदार्थको ओभर डिपोजिट हुँदा खोलाले वहाव परिवर्तन गरेर कठवेरुवा बस्तीलाई नै ताकिरहेको छ । सक्रिय मनसुन सुरु नहुँदै यसलाई व्यवस्थापन गर्न नसके कठवेरुवा बस्ती संकटमा पर्नेछ । तर ओभर डिपोजिट हटाउने र वनबाट बगेर आएका रुख बुट्यानलाई हटाउन समेत कानुनी अड्चन भएपछि डुवान र बहाव परिवर्तनको खतरा अझै बढेर आएको छ ।

राजपुरमा राप्तीको डुवानको चिन्ता भन्दा निकै बढी खहरे खोलाहरुको भलको छ । झरी परिरहँदा पुरै बस्ती डुवानमा पर्छन्, झरी रोकिए पानीको बहाव घटिहाल्छ, तर डुवानमा परिहाले खेतीवाली जोगाउन सक्ने अवस्था रहँदैन ।

शुक्रवारको झरीले राजपुर गाउँपालिका र गढवाको यातायात सम्पर्क पनि विच्छेद भएको छ । खहरे खोलाहरुमा आएको बाढीले कल्भर्ट बगाएको छ भने मानपुर खोलामा निर्माणाधीन पक्की पुललाई नै जोखिममा पारेको छ । राजपुर गाउँपालिकाको सहयोगमा आइतवार साँझ जसोतसो अवरुद्ध सडक खुलेको छ । तर फेरि डुवान र कटानको समस्या उस्तै छ ।

बाढी प्रभावित क्षेत्रको अनुगमन

यसैबीच बाढी प्रभावितहरुले गाउँपालिकालाई जोखिमबारे जानकारी गराएपछि राजपुर गाउँपालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, इलाका प्रशासन, कार्यालय लमही, इलाका प्रहरी कार्यालय गढवा तथा गाउँपालिकाका वडाध्यक्षहरु सम्मिलित टोलीले प्रभावित क्षेत्रको आइतवार दिनभरी स्थलगत अनुगमन गरेको छ ।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला सावित्रा थापा, जिल्ला समन्वय समिति दाङका सदस्य कुलबहादुर बुढा, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख ईश्वरी भारती, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीलगायतको टोलीले स्थलगत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले सम्भावित जोखिमलाई न्यून गर्न जिल्ला प्रशासन, डिभिजन वन लमही, स्थानीय प्रहरीलगायतसँग समन्वय गरी प्रक्रिया अघि बढाउन राजपुर गाउँपालिकालाई निर्देशन दिए । उनले नागरिकलाई सुरक्षित राख्न सबै निकायहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने आग्रह पनि गरेका थिए ।

बर्षातको मौसम नजिकिइसकेकाले सुरक्षित बसोबासका लागि सम्भावित तयारी गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले आग्रह गरेकी छिन् । नागरिक सुरक्षाका लागि स्थानीय प्रशासन जहिल्यै पनि अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्ने पनि उनले बताएकी छिन् ।