आवश्यकताले हुने रहेछ आविष्कार

केपी सुवेदी
‘पानी जीवन हो, यसको संरक्षण एवम् सदुपयोग गरौँ’ यो उक्तिले स्वीकार गरेको कुरा यो हो कि पानीबिना जीवन असम्भव छ । खाना नपाएर महिनौ दिन बाँच्न सक्छ तर पानी नभएर कुनै पनि सजिवको प्राण रहँदैन ।

त्यसैले पानीलाई जीवनको संज्ञा दिइएको छ । खानाका स्रोतहरु धेरै हुन सक्छन्, हामी अन्नबाट प्राप्त हुने वस्तु खानाको मुख्य स्रोत भन्ने बुझ्न खोज्यौँ भने पनि धेरै नामहरु हाम्रो जानकारीमा नआइसकेको हुनसक्छ । यसका अतिरिक्त, बनका कन्दमुलदेखि फलफूलसम्म पनि खानाभित्रै समेटिएका छन् । अहिले पनि अन्नबिनाका आहारहरुमा शरीरलाई चाहिने पौष्टिक तङ्खवले भरपूर सन्तुलन कायम भइरहेको ठानिँदैछ ।

हाम्रो स्वास्थ्य विज्ञानले हाम्रो शरीरलाई चाहिने अत्यवश्यक पौष्टिक तङ्खवहरु जस्तै : प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लोपदार्थ र पानीलाई मानेको छ तर सबै सजिववस्तुको सन्दर्भमा पहिलो तङ्खव पानी नै हो । किनभने पानी भएपछि नै बालुवामा पनि विजांकुरण हुनसक्छ । यसको महत्वलाई आत्मासात गर्दै अन्तर्राष्ट्रिय पानी दिवस विश्वभर मार्च २२ मा मनाउने गरिएको छ र सन् २०२२ को मार्च २२ चैत्र ८ गते पानी दिवस खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजनामा मनाइएको थियो ।

यसपटक अन्तर्राष्ट्रिय पानी दिवसको नारा जमिन मुनिको पानीको सुरक्षा सम्बन्धमा थियो । स्थानीयस्तरमा संस्थागत कार्यक्रम गरिएका हुनसक्छन्, तथापि जनचेतना बढाउन यिनीहरु पर्याप्त भएका छैनन् । पिउने पानी जति आवश्यकता छ, त्यति नै आवश्यक शुद्धतामा पनि उत्तिकै ध्यान पु¥याउन आवश्यक मानिन्छ । किनकि पानीले जीवनको सृष्टि पनि गर्छ, त्यसैले पानीमा धेरै प्रकारका सूक्ष्म परजीवीहरु हुन्छन् ।

पानीमा घुलनशील पदार्थहरु हुन्छन्, जसले मानिसको स्वास्थ्यलाई हानी पु¥याउँछ । जब–जब पानी जीवनसँग अभिन्न बन्छ यसको शुद्धता, उपलब्धतादेखि यसको व्यस्थापनमा प्राविधिक उपकरण र कुशल अभियानकर्ता दरकार पर्न थाल्छ । हाम्रोजस्तो पहाड र अव्यवस्थाले अभिशप्त गाउँबस्तीहरुमा पानी जुटाउनै कति गाह्रो हुन्छ । भोगेकाहरुबाट सिक्नुपर्छ ।

त्यस्ता अग्ला पहाडमा पानी पहाडको फेदीबाट बोकेर पु¥याउँदै गरेका र शुद्ध पानीको अभावमा विभिन्न रोगको शिकार हुनुपरेका मानिसहरुको व्यथाले मन छोएको, सहजतापूर्वक उपलब्ध गराउन प्रयास गर्ने पहिलो व्यक्ति वीपी कोइराला, जो नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् । उनले २०१६ सालमा भनेको कुराले मार्गदर्शन गरिरहेको छ जस्तो लाग्छ । उनले भनेका कुरा नै आजका विज्ञ एवम् अध्ययता, अभियन्ताहरुले सबैलाई सुसूचित र प्रशिक्षित गरिरहेजस्तो लाग्छ ।

खानेपानी सम्बन्धमा व्यवस्था गर्न सरकारको माथिल्लो निकायको स्थापना भएपछि पानीका स्रोत पहिचान गरी व्यवस्थित गर्न सरकारी स्तरबाट ठूलो रकम लगानी गरेको छ । खानेपानी सम्बन्धमा सबैभन्दा ठूलो लगानी मेलम्ची खानेपानी आयोजना हो । सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौँलाई पानी पु¥याउन सोचिएको योजना लामो समय लगाएर सम्पन्न गरिएको छ ।

मानिसको बस्ती पातलो र सीमित संख्यामा भएका मानिसहरुको खानेपानी व्यवस्था गर्न सजिलो थिएन र प्रतिव्यक्ति धेरै लगानीका आयोजना बनाउने स्रोत पनि असम्भव थियो । आवश्यकता नै आविष्कारको जन्मदाता हो भन्ने कुरा सत्य हो । त्यसैले धेरै मानिसको बसोबास भएका सहरहरुमा परम्परागत कुवाँ, ढुङ्गेधारा र इनारको पानीले न त आवश्यकता पूर्ति गर्न सक्यो न त स्वास्थ पिउने पानीको सम्भावना देखियो ।

आवश्यकता बढेपछि साना–ठूला खानेपानी व्यवस्था गर्न टाढादेखि पानी ल्याएर ठूला पोखरीहरुमा जम्मा गरेर त्यहाँबाट पाइपहरुको माध्यलमले सार्वजनिक धाराको व्यवस्था गरिएको हुन्थ्यो । अलि व्यवस्थित बस्तीहरुमा घर–घरमा धारा जोडिन्थ्यो । विशेषतः सहरहरुमा घरभित्रै कोठा–कोठासम्म पानी पु¥याउन विस्तारै हुँदै गर्दा आज हाम्रो घरमा पनि स्नानागार र शौचालयमा पुगेको छ । यसैगरी घोराही उपमहानगरको खानेपानी पोखरीबाट सञ्चालन हुँदै लिफ्टबाट अग्ला टेङ्कीहरुमा जम्मा गरेर घरका छतसम्म सजिलै पुग्ने स्तरसम्म आइपुगेको छ ।

यहाँसम्म आउँदा अत्यवश्यक वस्तु भएको नाताले उपभोक्ताहरुको सक्रिय सहभागिता रहनु स्वाभाविक हो । उपभोक्ता हित संरक्षण कानुनद्वारा व्यवस्थित गरिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्वमा धरैको चासो देखिन्छ । यसरी चासो बढ्नुमा केही सेवाभावले उत्सुक भएका छन् भने कोही खानेपानीमा लगानी हुने ठूलो राशीको बजेट खेलाउन र त्यसमा हात मार्न लम्केका हुन सक्छन् ।

फेरि खानेपानी व्यवस्थित गर्न सरकारी लगानी मात्र होइन, अन्तर्राष्ट्रिय दातृ निकायहरु समेत उत्सुकतापूर्वक लगानी गरिरहेका छन् । आफूले प्राप्त गरेको सम्पन्नताको खुसी बाँड्न लालायित दाताहरुबाट भइरहेको ठूलो राशीको आर्थिक लगामीमा आँखा लगाएका भूइफुट्टाहरु रातारात करोडौँको भ्रष्टाचार गर्ने सपना देखेका पनि हुन सक्छन् ।

आफ्नो खानेपानीको व्यवस्थापनमा कुशल र विश्वासलायक नेतृत्व छान्ने अवसर सदुपयोग सबैको हितमा हुने हुँदा यस्ता संस्थामा अस्पष्ट चरित्रका व्यक्तिलाई स्थापित गर्नु आफ्नै संस्था डुबाउनु हो भन्ने हेक्का सबैमा हुनुपर्छ । सबै क्षेत्रमा माफियाहरुको बिगबिगी छ । खानेपानी पनि यसबाट अछूतो रहन सम्भव छैन ।

समाजमा दुवैथरिका मानिसहरु छन् ।केही मानिसहरु सार्वजनिक सम्पत्ति नासो सम्झदै त्यसलाई जोगाएर, अझ बढी स्तर वृद्धि भएको हस्तान्तरण गर्ने चाहनामा काम गर्छन् । अर्काथरि त्यसबाट आफ्नो हातमा पर्नासाथ त्यसलाई रित्याएर बाहिरिन चाहन्छन् । लोकतन्त्र स्थापना भएपछि वनजंगल र पानी संरक्षणमा ठूलो लगानी भएको छ र राम्रो उपलब्धि हासिल भएको छ । त्यसका साथै स्रोतहरुमा कसको भूमिका नकारात्मक छ भन्ने पहिचान नभएको पनि होइन । व्यापारीलाई व्यापार गर्न दिउँ र संस्थाको जिम्मा त्यसको स्तरोन्नतिमा लागेकालाई दिऔँ ।