गोरक्ष समाचारदाता
तुलसीपुर, २० असार । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो मुहान क्षेत्रमा हुन थालेको चुनढुंगा उत्खनन् रोक्न आवश्यक पहल गर्नका लागि तुलसीपुर उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष यमकान्त भण्डारी, उपाध्यक्ष सीताराम शर्मालगायतको प्रतिनिधि मण्डलले आइतवार नगरप्रमुखको कार्यकक्षमा गएर यो विषयमा ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा तुलसीपुर उपमहानगरपालिका—५ मा रहेको सुनगाभा माइन्स प्रालिका नाममा खानी तथा भूगर्भ विभागले तुलसीपुर खानेपानीको मुहान राम्री क्षेत्रमा चुनढुंगा उत्खनन्को अनुमति दिन लागेको भन्दै त्यसलाई रोक्न स्थानीय सरकारका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाले पहल गर्नुपर्ने उल्लेख गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–५ मा रहेको भनिएको यो प्रालिको कुनै कार्यालय पनि छैन र यसका आधिकारिक लगानीकर्ताको नामसमेत खानी तथा भूगर्भ विभागले गोप्य राखेको छ । सुनगाभा माइन्समा यहाँका मात्रै नभएर दाङ बाहिरका समेत राजनीतिक प्रभाव भएका व्यापारी घरानाको संलग्नता रहेको पनि बताइएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई ध्यानाकर्षण गराउँदै खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीले यदि मुहान क्षेत्रमा उत्खनन्को अनुमति दिए तुलसीपुरको खानेपानी समस्या विकराल हुने बताए । खानी विभागमा यसअघि नै ध्यानाकर्षण गराए पनि विभागले उत्खनन्को काम निरन्तर अघि बढाएकाले यसमा संगठित व्यवसायिक गिरोह सक्रिय रहेको पनि बताइएको छ ।
यहाँको भूगर्म अध्ययनको रिपोर्टविना, नागरिकको सहभागिताविना, स्थानीय सरकारको आधिकारिक स्वीकृतिविना खानी विभागले तुलसीपुर खानेपानीको मुहान क्षेत्रमा कम्तीमा ८ किलोमिटरको परिधिमा चुनढुंगा उत्खनन्को अन्तिम स्वीकृति दिन लागेको छ । स्थानीय सरकारलाई सम्बन्ध नराखी खानी विभागले वन विभागलाई निर्देशन दिएसँगै जिल्ला हेडक्वाटर भनिने डिभिजन वन कार्यालय दाङ र सव डिभिजन वन कार्यालयले त्यसको स्थलगत अनगुमन गरी तथ्यगत विवरण पेश गर्ने अन्तिम तयारी भएको छ ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले मुहानमै समस्या हुुनेगरी कुनै हालतमा उत्खनन्को स्वीकृति स्थानीय सरकारले नदिने बताएको छ । नगरप्रमुख खड्काले मुहान क्षेत्रमा कुनै पनि प्राकृतिक समस्या आउन नदिन उपमहानगरपालिका गम्भीर रहेको पनि बताएका छन् । ‘म पनि खानेपानी क्षेत्रसँग लामो समय काम गरेको मान्छे हुँ, यो तपाईहरुको भन्दा पनि स्थानीय सरकारको समस्या हो’, खड्काले भने ।
यसका विषयमा कार्यपालिका बैठकमा निर्णय गराएर उत्खनन् रोक्ने नगर प्रमुख खड्काले बताए । यसअघि आफूहरुले धेरै गल्ती गरेर यहाँ अनावश्यक रुपमा वातावरण बिगार्ने उद्योगहरु सञ्चालनमा ल्याएको उल्लेख गर्दै अब स्थानीय सरकारले त्यस्ता गल्ती नदोहो¥याउने पनि बताए ।
आफ्नो क्षेत्रमा कुन स्थानमा कस्तो व्यापार व्यवसाय गर्न दिने भन्ने स्थानीय सरकारको भएको बताउँदै नगरप्रमुख खड्काले तुलसीपुर खानेपानीको मुहान सुुरक्षित गर्ने दायित्व पनि उपमहानगरपालिकाकै भएको बताए । साथै कार्यपालिकाको निर्णयको प्रतिलिपिसहित खानी विभागलाई उत्खनन्को लाइसेन्स स्थगन गर्न पनि पत्राचार गरिने नगरप्रमुख खड्काको अभिव्यक्ति थियो ।
स्थानीय स्रोत र साधनको उपभोगको अधिकार सबैभन्दा बढी स्थानीय सरकारलाई नै भएको बताउँदै तुलसीपुर उपमहानगरपालिकाले वातावरणमैत्री उद्योगलाई बढावा दिने पनि उपमहानगरपालिकाले जनाएको छ । आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पनि यस विषयमा स्पष्ट उल्लेख गरिएको नगर प्रमुख खड्काले बताएका छन् ।