घोराही न्यायिक समितिमा १ सय ३४ मुद्दा

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, १८ असार । घोराही उपमहानगरपालिका न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म १ सय ३४ वटा मुद्दा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको असार १६ गतेसम्म १ सय ३४ वटा मुद्दा दर्ता भएको न्यायिक समितिले जनाएको छ । न्यायिक समितिमा परेका १ सय ३४ मुद्दामध्ये १ सय १३ वटा मुद्दा फस्र्यौट भएको न्यायिक समितिका संयोजक तथा उपप्रमुख हुमाकुमार डिसीले जानकारी दिइन् ।

समितिमा परेका मुद्दामध्ये २१ वटा फस्र्यौट हुन बाँकी रहेको उनले जानकारी दिइन् । समितिमा अघिल्लो वर्षको जिम्मेवारी सरी आएका १ सय ५ वटा मुद्दाहरू सबै फस्र्यौट भइसकेका छन् । चालु आर्थिक वर्षमा लेनदेनका १३ वटा मुद्दा दर्ता भएकोमा १३ वटै फस्र्यौट भएका छन् ।

जग्गा विवादसम्बन्धी ४३ वटा मुद्दा दर्ता भएकोमा ३३ वटा फस्र्यौट भएका छन् भने १० वटा मुद्दा किनारा लाग्न बाँकी रहेका छन् । घरभाडासम्बन्धी १ वटा मुद्दा परेकोमा जुन बाँकी रहेको छ । अन्य शीर्षकमा २३ वटा मुद्दा परेकोमा १७ वटा फस्र्यौट भएको र ६ वटा बाँकी रहेको संयोजक डिसीले बताइन् ।

वातावरणसम्बन्धी २ वटा मुद्दा परेकोमा १ वटा फस्र्यौट भएको छ भने १ फस्र्यौट हुन बाँकी छ । घरेलु हिंसासम्बन्धी ११ वटा मुद्दा परेकोमा ९ वटा फस्र्यौट भएको र २ वटा बाँकी छन् । जग्गा रोक्कासम्बन्धी ३८ वटा मुद्दा दर्ता भएकोमा ३७ वटा फस्र्यौट भएको र १ वटा बाँकी रहेको छ ।

मानाचामलसम्बन्धी ३ वटा मुद्दा परेकोमा ३ वटै फस्र्यौट भइसकेको न्यायिक समितिका संयोजक डिसीले जानकारी दिइन् । न्यायिक समितिमा हालसम्म २ सय ३९ वटा मुद्दा दर्ता भएकोमा २ सय १८ वटा मुद्दा फस्र्यौट भइसकेको र २१ वटा मुद्दा बाँकी रहेको उनको भनाइ रहेको छ ।

न्यायिक समितिले दुवैको जित हुने गरी मुद्दा मिलाउने गरेको संयोजक डिसीले बताइन् । न्यायिक समितिले सोमवार र शुक्रवार इजलास सञ्चालन हुने गरेको छ । आवश्यकअनुसार अन्य समयमा समेत इजलासमा छलफल गरिने गरेको उनले बताएकी छन् ।

पत्रकार सम्मेलनमा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, कानुनी सल्लाहकार भूपबहादुर केसी, घोराही उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा पत्रकार लक्ष्मी आचार्यलगायतले भनाइ राखेका थिए । न्यायिक समितिका सदस्य पवित्रा विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कानुन मामिला शाखाका अधिकृत प्रतला देवकोटाले गरेकी थिइन् ।