जलस्रोतको धनी देश नेपाल

  •   
  •  

मधुसूदन सुवेदी
नेपाल अपार जलसम्पदाको धनी देश भन्दा पनि आत्मग्लानी हुन्छ । हामी सानो छँदा हाम्रा बाजे–बोईले सित्तैमा पिउने पानी मात्र हो भन्नुहुन्थ्यो । किनभने पोखरीमा पानी, धारामा पानी, जरुवामा पानी, पँधेरामा पानी, खोल्सामा पानी, पखेरामा पानी, खोलामा पानी, झरनामा पानी, नदीमा पानी, तालमा पानी, गल्छीमा पानी, जताततै पानी नै पानी थियो ।

आज देश त्यही हो, भूगोल त्यही हो, प्रकृति त्यही हो, पृथ्वी त्यहाँ हो तर आज हामीले देखेको पानीले दूधको रुपधारण गरिसक्यो । हिजोको बेला दही दूधको लागि गाई मात्र पाल्ने गरिन्थ्यो र दही दूध वा गोरस बेच्नु हून्न, बेचे पाप लाग्छ भन्ने सूचना फैलिएको थियो र फैलाइएको थियो । जुनबेला दही दूध समेत किन्नु नपर्ने बेला पानी झन किन्नुपर्ने नै भएन । आज दही दूधको लागि प्याकेटको पाउडर काफी छ । किन पाल्ने गाई ? किन पाल्ने भैँसी ? प्याकेटको पाउडरमा तातो पानी हाल्यो घोलेर खायो ।

गाई–भैँसीको ठाउँमा पाउडर बने । पानीको व्यापार नेपालमा अपार भयो । पानी आज शिक्षित, दीक्षित, विद्वान् राजनीतिज्ञ, उद्योगी, व्यापारी, धनाढ्य, पुँजीपति सबैले पानीको व्यापार अँगाल्ने भए । पानीलाई सस्तो, सुलभ, सहज वितरण गर्ने कसैको सोच नै छैन । केवल पानीलाई सिसीमा राखेर, पानीलाई बोत्तलमा राखेर, पानीलाई कृत्रिम पोखरीमा राखेर, पानीलाई टेङ्करमा राखेर, पानीलाई कृत्रिम तरिकाले झरना र अन्य दृश्यमा अवलोकन पैसा अशुल्ने काम सबै लागि परे ।

यहाँ खानेपानीमा मिटर लाग्यो, पोखरी, तालमा मिटर लाग्यो, खोलानालामा मोटर लाग्यो, नदीनालामा मोटर लाग्यो । पानी नाप्न थालियो । पानी भर्न थालियो । पानी तौलिन थालियो । पानी जोख्न थालियो । पानी सजाउन थालियो । पानी रंगीचंगी बनाएर जुस भनेर बेच्न थालियो । पानीको यो असहज आपूर्तिलाई हेर्ने को हो ? पानीमा कसैको पनि ध्यान गएन ।

सबैले यो देशलार्य जलस्रोतको धनी देश भनेर संबोधन गर्न मात्र हतार–हतार परेको छ तर यो अपार जलस्रोतलाई कसरी सहज पहुँच बनाउने भन्ने कसैको सोच विचार, चिन्तन र मनन् छैन । यो देशको सञ्चालक यस्तै हुन् वा यो देशका हामी जनता नै त्यस्ता हौँ ? आज हाम्रो वरिपरि पानीको जलस्रोत देखिन्छ । अर्थात् हाम्रो आँखाको वरिपरि पनि जलाशय छ ।

हाम्रो कानको वरिपरि पनि पानीकै छङ्छङ बगेको आवाज छ तर हामीलाई चाहिने बेलामा पानी कहाँ छ ? पानी हमीले सित्तैमा होइन किनेर समेत समयमा पाउने अवस्था छैन । यो अवस्था किन सित्तैमा पाउने पानी किनेर र पाउन पनि किन समस्या ? लाज मान्ने कसले ? सरम मान्ने कसले ? घिन मान्ने कसले ? अप्रिय मान्ने कसले ?

अचम्म मान्ने कसले ? आश्चर्य मान्ने कसले ? अब यो देशको पानी कुन्टामा होइन, पोखरीमा होइन, धारामा होइन, पँधेरामा होइन, खोल्सामा होइन, जरुवामा होइन, खोलामा होइन, तालमा होइन, नदी, नालामा होइन । यी सबै जलाशयका पानी व्यापारीका कब्जामा सिसी, बोत्तल, जार, गाग्रो, बेला, लोटा, कचौरा, गाडी, टेंकर, गिलास, चम्चाजस्ता असंख्या भाँडाकुँडामा सीमित हुने छन् र ती सबै अति महँगो पैसामा किन्नु पर्नेछ ।

आज हामीले यो देशमा पानी किन्न लागेको कति वर्ष भयो, थाहा छ ? बेच्ने र कमाउनेलाई के थाहा ? बेच्न र कमाउन लगाउनेलाई के थाहा ? देश चलाउनेलाई के थाहा ? देश हाँक्नेलाई के थाहा ? थाहा छ, हामीजस्ता चौबिसैघण्टा पानीको दर, रेटअनुसार पानी पौसा तिर्ने सामान्य जनता, उपभोक्ता, प्रजा र लोकलाई थाहा छ ।

नेपालको पानी भारत, नेपालको पानी, चीन, नेपालको पानी बंगलादेश पठाएर त्यहाँबाट किनेर खाँदा समेत थाहा नपाउनेले अरु के थाहा पाउँछन् ? यी सबै गर्न लगाउने देशका शासक कि शोषक ? आज असारको १५ को सेरोफेरोमा आम नेपाली कृषकको खेतमा धलो उड्छ । यो किन भयो ? यो सबै पानीको व्यापारले निम्त्याएको खेल हो कि होइन ? आज नेपाली जनताले समयमा स्वच्छ पानी पिउन सकिरहेका छैनन् ।

यो पानीकै व्यापारले निम्त्याएको खेल हो कि होइन ? आजसम्म काठमाडौंमा मेलम्चीको पानी आउन सकिरहेको छैन, यो नाउनुको प्रमुख कारण पानीको व्यापारको कारणले हो कि होइन ? आज यो देशमा समयमा वर्षा हुँदैन । यो पनि पानीकै व्यापारको कारण हो कि होइन ? आज नेपालका पानीका मूल र मुहान सुक्दै छन् ।

यो पनि पानीकै व्यापारका कारण हो कि होइन ? आज पानी व्यापारले एकआध व्यक्तिको त भविष्य बन्यो होला तर तीन करोड नेपाली जनता भोकभोकै, प्यासप्यासै र काकाकुल भएको हिसाबकिताब कसले राखेको छ ? देश डुब्छ पानीमा तर त्यही पानी नपाएर यो हाहाकार ? यो कसले बनायो ? पानी व्यापारीले हो कि होइन ?

यो पानीको व्यापारमा प्रतिघण्टा लगाउने हिम्मत कसको छ ? कसैको छ ? रातदिन खान पाए, लाउन पाए, रमाउन पाए कसले यो काम गर्ने ? पानी बेचेर भविष्य बनाउनेले यो देशलाई दुवई, कतार, मलेसियाजस्ता खाडी मुलुक मरुभूमिको देश छिट्टै बन्नेछ ।