स्वास्थ्य बीमा धमाधम बन्द हुँदै

  •   
  •  

तुलसीपुर, १४ असार । स्वास्थ्य बीमा गरेका नागरिकहरु अहिले सो सेवाबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ । तुलसीपुरकी चम्फा थापाले स्वास्थ्य बीमा गराएसँगै बीमाबाटै उपचार गर्दै आएकी थिइन् । तर उनले पछिल्लो समयमा बीमाबाट उपचार सेवा नपाएको बताइन् ।

राप्ती आँखा अस्पतालमा आएकी उनले अस्पतामा बीमा सेवा बन्द गरेका कारण उपचारका लागि आफैले पैसा हाल्नुपर्ने अवस्था आएको बताउँछिन् । ‘मैले भैरहवा उपचार गराउँथे तर राप्ती आँखा अस्पतालमा पनि उपचार सेवा सुरु भएपछि आँखाका एनजेक्सन लगाउन आएको थिएँ तर बीमा कार्यक्रम स्थगित भएको सुनेँ’, उनले भनिन् । उनीजस्तै धेरै जसो नागरिकहरुले अहिले स्वास्थ्य बीमाबाट उपचार सेवा पाएका छैनन् ।

रुकुम पश्चिमका पनि ८÷१० जना व्यक्तिहरुले स्वास्थ्य बीमा अस्पतालहरुमा बन्द हुँदा सेवा नपाएको गुनासो दैनिक गर्ने गरेको रुकुमका पहलसिंह वलीले बताए । ‘दैनिक जसो बिरामीहरु बीमा सेवा किन बन्द भयो ? भन्नुहुन्छ’ उनले भने । स्वास्थ्य बीमा कार्यक्रम सरकारको सामाजिक स्वास्थ्य सुरक्षाको अवधारणामा सञ्चालित कार्यक्रम मानिन्छ । सर्वसाधारण, गरिब, विपन्न, ज्येष्ठ नागरिक, महिला सबैलाई स्वास्थ्यको सर्वव्यापी पहुँचमा ल्याउनु स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य पनि हो ।

देशभरका ४५० वटा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर हाल धेरै स्वास्थ्य संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्न थालेका छन् । जसअन्तर्गत राप्ती आँखा अस्पतालले केही समय पहिलेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको अस्पतालले जनाएको छ ।

राप्ती आँखा अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच २०७५ सालमा आँखा सम्बन्धी बिरामीको सेवा प्रवाहका लागि सहमति भएको थियो । तर २०७५ देखि २०७८ चैतसम्म उपचार गरेमार्फत पाउनुपर्ने २८ लाख रकम नपाएको भन्दै स्वास्थ्य बीमाबाट हुने उपचार बाध्य भएर बन्द गर्नुपरेको प्रशासक किरण पौडेलले बताए ।

अस्पतालले हालसम्म २१ लाख २३ हजार २ सय ६१ रुपैयाँमात्र बीमा बोर्डबाट प्राप्त गरेको छ । उनका अनुसार अस्पतालको आफ्नै आम्दानीमा भर पर्नुपर्ने भएकाले धेरै रकम बाँकी रहँदा समस्या भएको भन्दै रकम प्राप्त भएपछि मात्र पुनः उक्त सेवा सञ्चालन गर्ने गरी सेवा स्थगित गर्न बाध्य भएको जानकारी बोर्डलाई गराएको बताए । त्यस्तै देशकै ठूला अस्पताल त्रिवि शिक्षण अस्पतालले असार १५ देखि सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । त्यस्तै अन्य अस्पतालहरुले पनि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरे ।

त्यस्तै निजी मात्र होइन धेरै सरकारी अस्पतालहरुले समेत विभिन्न समयमा सार्वजनिक सूचना निकाल्दै बीमा रकम भुक्तानी नभएका कारण सेवा दिन नसकिएको भन्दै आइरहेका छन् । तुलसीपुर स्थित प्रादेशिक अस्पतालले बीमाबाट उपचार सेवा दिए पनि उपचार गरेवापतको रकम सबै आउन नसकेको एक अधिकारीले बताए । ‘बीमावापत उपचाररत सञ्चालन गरेका छौँ, तर आउनुपर्ने पैसा भने बाँकी नै होला’ उनले भने ।

अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गर्नुको पछाडिको प्रमुख कारण भनेको नै, बीमितको उपचार सेवावापतको रकम लामो समयदेखि नपाउनु हो । बीमा बार्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले भने रकम भुक्तानीका क्रममा केही ढिला भएको र बीमा दाबी गरेकाहरुको रकम दिइरहेको बताए । बीमितको उपचार बापतको रकम अस्पतालले दाबी गर्ने बित्तिकै भुक्तानी हुन नसक्ने र नियम कानूनसम्मत प्रक्रियामा दाबी गरिएको रकमको रुजु गर्दा समय लाग्ने उनले जानकारी दिए ।

स्वास्थ्य सेवा प्रदायकले बीमितलाई सेवा प्रदान गरिसकेपछि सो बापतको भुक्तानीको लागि बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत स्वास्थ्य बीमा बोर्डमा पेश गर्नुपर्दछ । बीमा बोर्डका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षमा बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याका दाबी र चालु आर्थिक वर्षका दाबी ३३ लाख ७५ हजार ३७ गरी कुल ५२ लाख ८४ हजार ८९४ वटा दाबी परेको थियो । ती दाबीहरु परीक्षणपछि ८ अर्ब १३ करोड भुक्तानी भइसकेको छ ।

चालु आर्थिक वर्षको जेठ १५ गतेसम्मको १ लाख ५३ हजार ९५३ वटा दाबीहरुको हाल रुजु गर्ने काम भइरहेको र जेठसम्मको दाबी अनुसार बोर्डले अस्पतालहरुलाई ५ अर्ब रकम भुक्तानी गर्न बाँकी छ । नागरिकले ३५ सय तिरे १ लाख बरावरको स्वास्थ्य उपचार सेवा बर्षमा पाउन सक्छन् ।